Close This

सुदूरपश्चिममा ६ महिनाको अवधिमा ७२ नयाँ कुष्ठराेगी फेला

आइतबार माघ १५, २०७९/ Sunday 01-29-23
Paschim Today

धनगढी,१५ माघ । सुदूरपश्चिमका दुई जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी रहेको पाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले कैलाली र अछाम कुष्ठरोगमुक्त हुन बाँकी रहेको जानकारी दिएको छ । कुष्ठरोग निवारण हुन बाँकी रहेका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमका कैलाली र अछाम हुन् । सरकारले १३ वर्ष अघि नेपालबाट कुष्ठरोग निवारणको घोषणा गरेको गरे पनि बिरामीहरु शून्यको अवस्थामा पुर्‍याउन नसकिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले बताए । 

उनले कैलाली र अछाममा कुष्ठरोग समस्याका रूपमा देखिएको र अन्य सात जिल्लामा निवारण भए पनि निर्मुल हुन नसकेको बताए । ओझाका अनुसार प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी हुनुलाई नै निवारण मानिन्छ । सो मापदण्ड अनुसार सुदूरपश्चिमबाट कुष्ठरोग निवारण भएको मानिने भए पनि बसरामीको संख्या २०५ छ । बिरामीहरू अझै उपचारको दायरामा आउन नसकेकै कारण संख्या घट्न नसकेको ओझाले बताए । 

लुम्बिनी र मधेस प्रदेशपछि सबैभन्दा बढी कुष्ठरोगीको संख्या सुदूरपश्चिममा छ । निवारणको दरभन्दा माथि बिरामी भएका दुई जिल्लामध्ये कैलालीमा १३१ र अछाममा २५ जना बिरामी देखिएका छन् । निवारण दरभन्दा कम बिरामी भएको कञ्चनपुरमा पनि बिरामीको संख्या ३२ छ। 

प्रदेशभर यसै वर्षको ६ महिनाको अवधिमा मात्रै ७२ जना नयाँ बिरामी देखा परेका छन् । तर कुष्ठरोग निवारणका लागि सरकारी तवरबाट काम भइरहेको क्षय–कुष्ठरोग अधिकृत ओझाको दाबी छ । कुष्ठरोग निवारण नभएका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमको एक जिल्ला अछाम मात्रै पहाडी क्षेत्रमा पर्छ । यसले तराई क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि कुष्ठरोगका बिरामीहरूको खोजपड्ताल गर्नुपर्ने देखाएको नेपाल कुष्ठरोग संघ कैलाली शाखाका सभापति सीताराम जोशीले बताए । 

पहाड र हिमाली जिल्लाका दूरदराजका क्षेत्रमा अझै पनि कुष्ठरोग लागेका व्यक्तिलाई हेरिने नजरमा सुधार आउन सकेको छैन । कतिपयले थाहा पाएर होस् वा नपाएर कुष्ठरोगलाई लुकाएर राख्ने गरेको पाइन्छ । यसका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरि रोग निवारणमा कदम चाल्नुपर्ने सरोकारवालाको सुझाव छ ।