Close This

छ लेन सडकमा अढाई करोडमा स्मार्ट बत्ती 

मंगलबार माघ १७, २०७९/ Tuesday 01-31-23
Paschim Today

धनगढी,१७ माघ । धनगढीको छ लेन सडकमा अढाई करोड रुपैयाँ खर्चेर स्मार्ट सडक बत्ती जडान गर्न लागिएको छ ।छ लेन सडकलाई राति उज्यालो बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो । वडा नम्बर ३ को मोहनापुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । 

सो कार्यालयका अनुसार २१६ पोलमा ४३२ वटा लाइट जडान हुनेछन् । दुई करोड ६८ लाख रुपियाँ खर्चेर सडक बत्ती निर्माणको कार्य भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए ।सेन्सरयुक्त स्मार्ट सडक बत्ती साँझ परेपछि आफै बल्ने र विहान घाम झुल्केपछि आफै निभ्ने जनाइएको छ । सूर्योदय उर्जा प्रालिले ठेक्का पाएर स्मार्ट सडक बत्ती जडानको कार्य गरिरहेको छ । माघ अन्तिमबाट बत्ती बाल्ने गरी बत्ती जडानको कार्य भइरहेको सो कम्पनीले जनाएको छ ।

नेपाल विद्युत प्राधिरण उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरिरहेको हो । यो बत्ती बलेवाफत उठ्ने विद्युत महसुल धनगढी उपमहानगरपालिकाको कार्यालयले तिर्ने जनाइएको छ ।स्मार्ट सडक बत्ती जडानले छ लेन सडकमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नुका साथै शान्ति, सुरक्षामा पनि सहयोग पुग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भनाइ छ । उनले स्मार्ट सडक बत्ती जडानले राति छ लेन सडकको सौन्दर्य पनि बढ्ने उल्लेख गरे ।

छ लेन सडक बनेपछि यो सडकमा कैयौं व्यक्तिले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । छ लेनमा रहेको डिभाइडर र सडकमा बस्ने छाडा चौपायामा सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको छ । डिभाइडरमा ठोक्किएर केही व्यक्तिको ज्यान गएपछि यो सडकमा रहेका त्यस्ता डिभाइडर हटाउनु पर्ने भन्दै धनगढी उपमहानगरपालिकाको कार्यालयले आवाज उठाएको थियो । आइतबारदेखि डिभाइडर हटाउने काम सुरु गरिएको छ । 
आयोजना अवधि सकिने बेला बल्ल काम
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीको कैलाली पुलदेखि ट्राफिक चौराहासम्म सडक निर्माणको कार्य बल्ल सुरु भएको छ । आयोजनाको अवधि सकिने बेला ढिलो गरी मुख्य सडक निर्माणको कार्य अगाडि बढाइएको हो । यो सडक बनाउनका लागि दुवै वर्ष अगाडि नै टेन्डर भए पनि अवरोध लगायतका कारणले निर्माणको कार्य अगाडि बढेको थिएन । आयोजनाको म्याद थप भएपछि निर्माण कम्पनीले केहि दिन अघिबाट काम अगाडि बढाएको छ। 

ढिलो गरेर अहिलेमात्रै काम सुरु भएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनीयर दिजराज भट्टले जानकारी दिए । उनका अनुसार यसअघि, ठेक्का भएको १०.२ किलोमिटर सडक निर्माण प्याकेज अन्तर्गत नै यो सडकको काम हुनेछ । कैलाली पुलदेखि ट्राफिक चौराहासम्मको दूरी करिब १.५ किलोमिटर रहेको छ । दुवैतिर नालीसहित २४ मिटर फराकिलो सडक बन्ने इन्जिनीयर भट्टले बताए ।

एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा केही वर्ष अगाडि नै यहाँ क्षेत्रीय सहरी विकास आयोजना लागू भएको थियो । आयोजनाको समावधि सकिने बेलामात्रै कैलाली पुल–ट्राफिक चौराहा सडक निर्माणको कार्य सुरु भएको छ । गत डिसेम्बरमा यो आयोजनाको समयावधि सकिए पनि हाल छ महिनाका लागि अवधि थप भएको इन्जिनीयर भट्टले जानकारी दिए । सडक निर्माणको अवधि चार महिना रहेको उनको भनाइ छ । चार महिनाभित्रै निर्माण कम्पनीले काम सक्नु पर्ने भट्टले बताए ।

आयोजना अन्तर्गत धनगढीका सात वटा सडक निर्माणका लागि ठेक्का भएको थियो । ठेक्का भएका अरु सडकको निर्माण कार्य भने अन्तिम चरणतिर पुग्दैछ । सडक अधिकार क्षेत्रमा परेको संरचना हटाउनु पर्ने लगायतका कारणले कैलाली पुल–ट्राफिक चौराहा सडक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।सात वटै सडक निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको थियो । ६८ करोड पाँच लाख ९८ हजार रुपैयाँमा ठेक्का पाएर सो निर्माण कम्पनीले काम गरिरहेको छ । निर्माणको समायवधि दुई वर्ष रहेको छ ।

यसैबीच, ढिलै भए पनि सडक निर्माणको कार्य सुरु गरिएको भन्दै वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले हातेमालो गरेर सबैलाई धनगढीको विकासमा सहयोग गर्न आग्रह गरे । ‘विकास सबैका लागि हो’, उनले भने,‘हाम्रो धनगढी हामी आफै बनाउँछौं भन्ने अभियान अन्तर्गत अहिले हामीले धनगढीमा विकास निर्माणको कार्यलाई अगाडि बढाइरहेका छौं ।’