Close This

बझाङ्गमा बृहत आँखा शिविर सम्पन्न 

मंगलबार माघ १७, २०७९/ Tuesday 01-31-23
Paschim Today

पश्चिम टुडे, बझाङ्ग १७ माघ ।  
गेटा आँखा अस्पतालले बझाङ्गमा वृहत आँखा शिविर मंगलबार सम्पन्न गरेको छ । 
नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्ग, स्वास्थ्य कार्यालय बझाङ्ग र वित्थडचिर गाउँपालिका बझाङ्गको संयुक्त आयोजना तथा तेज कोईली रुइत फाउण्डेशनको  आर्थिक सहयोगमा बझाङ्गका विभिन्न गाउँपालिकाहरुमा शिविर सम्पन्न भएको हो ।  
माघ ८ गतेबाट शुरु गरिएको निःशुल्क आँखा शिविर १६ गते सम्पन्न भएको थियो । 
अस्पतालले मिति माघ ७ र ८ गते देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेको छ । उक्त शिविरमा ३७८ जनाले आँखा चेकजाँच सेवा लिएका छन भने ६६ जना आँखा रोगका बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र बझाङ्गका प्रमुख खडक भाटले बताए । 
त्यसैगरि गेटा आँखा अस्पतालले जिल्ला अस्पताल बझाङमा माघ १०, ११ र १२ गते तीन दिन सम्म संचालन गरेको निःशुल्क आँखा शिविरमा ७०२ जनाले आँखा चेक जाँच सेवा लिएका छन भने २५३ जनाको आँखा रोगका बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको प्रमुख भाटले जानकारी दिए ।
यस्तै अस्पतालले  श्री भैरव उच्च मावि झोता बझाङ्गमा माघ १४, १५ र १६ गते सम्म संचालन गरेको निःशुल्क आँखा शिविरमा ५ सय ५५ जनाले आँखा चेक जाँच सेवा लिएका छन भने १२७ जना आँखा रोगका बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको टीम व्यवस्थापक नेत्र अधिकृत गणेश बहादुर चौधरीले बताए ।
गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. अनिल गुरुङ्गको टीमद्वारा आँखाको शल्यक्रिया गरेको थियो । 
आँखा उपचार केन्द्र बझाङ्गका प्रमुख खडक भाटले जिल्ला अस्पताल बझाङ्ग, जिल्ला स्वास्थ्य कार्यालय बझाङ्ग तलकोट गाउँपालिका प्रमुखहरुलाई शिविरमा सहकार्य तथा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।