Close This

ट्याङ्करको तेल चोर्ने प्रयास असफल, पेट्रोल पम्प सञ्चालकसहित ४ जना पक्राउ

मंगलबार माघ १७, २०७९/ Tuesday 01-31-23
Paschim Today

विराटनगर, १७ माघ । भारतको अमलेखगञ्जबाट विराटनगरतर्फ इन्धन लिएर आउँदै गरेको को १ ख ३६५५ नम्बरको ट्याङ्करबाट तेल चोर्ने प्रयास असफल भएको छ । गत माघ ११ गते अमलेखगञ्ज डिपोबाट इन्धन लोड गरेर विराटनगर आउँदै गरेको ट्याङ्कर खाली अवस्थामा गत १४ गते सप्तरीको रुपनीमा फेला परेको थियो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहका अनुसार उक्त ट्याङ्कर सप्तरीको विक्की ट्रेडर्स भन्दा दुईसय मिटर पर बेवारिसे अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले रित्तो ट्याङ्कर फेला परेको थियो । त्यसपछि छानबिन गर्दा उक्त ट्याङ्करले नेपाल आयल निगमको आधिकारिक विक्रेता दिलिप ट्रेडर्स र भण्डारा स्टोर्सलाई १६ हजार लिटर डिजेल विक्री गरेको खुलासा भएको थियो । निगमको आधिकारिक विक्रेताले यसरी अनधिकृत रूपमा चोरीको तेल खरिद गर्नु कानूनविपरीत हुन्छ । 

प्रहरीले आयल निगमसँगको समन्वयमा खरिद गर्ने पेट्रोल पम्पका दुवै सञ्चालकहरू तथा ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेट्रोल पम्पका संचालक शेखर गुप्ता र श्यामकुमार साह रहेका छन् । प्रहरीले ट्याङ्कर चालक सप्तरीको कन्चनरुप नगरपालिकाका नवराज भुजेल र विराटनगर ४ का अनिल कुमार चौधरीलाई पनि पक्राउ गरेको छ ।

उक्त ट्याङ्कर ढुवानी व्यवसायी गुणराज निरौलाको रहेको बताइएको छ । निरौला यसअघिका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ प्रदेश १ का पूर्व अध्यक्ष हुन् । ‘ट्याङ्कर धनीले ड्राइभरलाई जागिरबाट निकालेको रहेछ । उसको ठाउँमा अर्को ड्राइभर राखेको थाहा पाएपछि रिसाएका ड्राइभरले बिचैमा तेल बेचेको भन्ने कुरा आएको छ, हामी अनुसन्धानकै क्रममा छौँ,’ साहले भने । उनले चोरीको तेल खरिद गर्ने दुवै पेट्रोल पम्पहरू र ट्याङ्करलाई नियमावली अनुसार कारबाही गर्न केन्द्रमा आजै लेखिपठाएको पनि जानकारी दिएका छन् । यस्तै चोरी भएको इन्धन पनि जफत भएको छ ।