Close This

वन अतिक्रमणको शैली : बोक्रा काटेर रुख सुकाउने

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

धनगढी,१९ माघ । कैलालीको अतिक्रमित र प्राकृतिक ताल क्षेत्रमा रुख सुकाउनेक्रम बढेको छ । विभिन्न किसिमका शैली अपनाएर वनको रुख सुकाउनेक्रम बढेको हो । 
यसै क्रममा बसन्ता वन क्षेत्रमा व्यावसायिक रुपमा माछा पालन गरिएका ताल वरिपरिका रुख सुकाइएको पाइएको छ । प्राकृतिक तालमा मानवीय गतिविधि बढेपछि ताल वरिपरिका रुख सुक्न थालेको हो । कैलारी गाँउपालिका–५ स्थित बैजपुरस्थित रखौना, घोडाघोडी नगरपालिका–१२ स्थित तलबेलुवा, रत्ताही, भजनी नगरपालिका–९ स्थित घोडताल वरिपरि रहेका साल र अस्ना प्रजातिका रुख सुकेको छ ।

पानी जम्ने कतिपय स्थानमा विस्तारै रुख सुक्दै जाने गरेपनि माछा पालन गरिएका ताल वरिपरिका रुख सुक्नुको कारण प्राकृतिक तालको अव्यवस्थित दोहन रहेको बताइएको छ । ठेकेदारले डोजर प्रयोग गरेर तालको गहिराई बढाइ धेरै पानी राख्ने कारणले रुखहरुमा असर पर्ने गरेको संरक्षणकर्मी एवम् चराविद हिरुलाल डङ्गौराको बुझाइ छ । माछा पाल्ने व्यक्तिले कुनै बेला धेरै पानी राख्ने, कुनै बेला पुरै सुकाउने गरेका कारण पानीको सन्तुलन बिग्रेर रुखहरु सुकेको उनी बताउँछन् ।‘यसरी, केही तालमा अलि बढी नै रुख सुकेको देखिएको छ’, उनले भने,‘तर, थोरथोरै प्रायः सबै तालमा रुख सुकेका छन् ।’ 

बसन्ता वनभित्र थुप्रै प्राकृतिक तालहरु छन् । प्रायः सबै ताललाई माछा पालनका लागि ठेक्कामा दिइएको छ । स्थानीय तहका लागि राजस्व आम्दानीको स्रोत बनेको ति प्राकृतिक तालहरुमा व्यावसायिक रुपमा माछा पालन भइरहेका छन् । प्राकृतिक ताललाई ठेकेदारले आफूखुशी दोहन गर्दा ताल वरिपरिका रुख सुकेको डङ्गौराको भनाइ छ । 

साल र अस्ना प्रजातिको रुखको आयु लामो हुने गर्दछ । यी प्रजातिका रुख धेरै वर्षसम्म बाँच्ने गर्दछन् । तर, धेरै पानी जमेमा वा बोक्रा छुटाइएमा विस्तारै सुक्ने गरेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालले बताए ।

उहाँले पछिल्लो समय बोक्रा काटेर रुख सुकाउने क्रम बढेको उल्लेख गर्नुभयो । ‘बोक्रा काटेपछि रुख विस्तारै सुक्दै जान्छ’, उनले भने,‘अहिले यसरी नै रुख सुकाउने क्रम बढ्दो छ ।’ यसैगरी, रुख वरिपरि अस्वाभाविक तरिकाले उत्खनन् गर्ने कारणले पनि साल र अस्नाका रुख सुक्ने गरेको रिजालको भनाइ छ । 

घोडाघोडी ताल क्षेत्र, पहलमानपुरको चम्रहिया क्षेत्र लगायत विभिन्न बस्ती आसपासका रुख बोक्रा काटेर सुकाइएका छन् । बोक्रा काटेर रुख सुकाउने कार्य अतिक्रमणको नयाँ शैली बनेको र मन्द विष सरह फैलिरहेको डङ्गौरा बताउँछन् । ‘बोक्रा काट्दा अतिक्रमण भएको देखिदैन । तर, केहि दिनपछि रुख नै सुक्ने गर्दछ’, उनले भने । 

वन अधिकृत रिजालले पनि बोक्रा काटेर रुख सुकाउने कार्य ठूलो चुनौतीको विषय बनेको स्पष्ट पारे । रुखको बोक्रा काट्दा रुखलाई असर पुगेको देखिदैन । विस्तारै रुख सुक्दै जाने गर्दछ । बसन्ता वनको विभिन्न क्षेत्रमा वन अतिक्रमण भएको छ । अतिक्रमित क्षेत्रको रुख सिधै काट्न नपाएकाहरुले बोक्रा काटेर रुख सुकाउने गर्दछन् । बोक्रा काटेर रुख सुकाउने कार्य ठूलो चुनौतीको विषय बनेको छ । ‘वन अतिक्रमणको यो एक शैली हो’, डंगौराले भने । 

बड्का बनुवा भनेर चिनिने बसन्ता वन अतिक्रमणको कारण खुम्चिदै गइरहेको छ । अन्तर्राष्ट्रिय महत्वको यो वनको सबैतिरबाट अतिक्रमण भइरहेको छ । यो वनमा भारतको दुधुवा नेशनल पार्कबाट बाघ, हात्ती लगायतका ठूला वन्यजन्तुको ओहोरदोहोर भइरहने गर्दछ ।