Close This

धनुषाको हिरासतबाट फरार थप एक थुनुवा पक्राउ, दुई जनाको खोजी हुँदै

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

काठमाडौं, १९ माघ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका थप एक थुनुवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गए राति पक्राउ गरेको हो। उनी मथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्। गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए। शर्मा पक्राउ परेपछि फरार ६ जनामध्ये चार जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसअघि मिथिला-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ-२ का २५ वर्षीय अमित मण्डल र मिथिला-६ का रोशनकुमार महतोलाई प्रहरी पक्राउ गरिसकेको छ। सिंह र मण्डललाई मंगलवार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो।