Close This

सेयर बजार पुन: ओरालो, लगानीकर्ता गुड न्यूजकाे खाेजीमा

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

काठमाडौं, १९ माघ । हिजो केही सुधार देखिएको सेयर बजारमा आज (बिहीबार) फेरि गिरावट देखिएको छ । यतिबेला बजारको अवस्था हेर्दा लगानीकर्ता पर्ख र हेरू को अवस्थामा छन् । लगानीकर्ताहरूले गुड न्यूज खोजिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा झरेको छ । नेप्से १.०४ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ३९८.४२ विन्दुमा झरेको छ । कूल २५७ वटा कम्पनीको ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह घटेको हो । त्यसैगरी, बिहीबार स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १० करोड १३ लाख ९१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।आज पनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ९ सय २८ रूपैयाँ ९० पैसा पुगेको छ । यस दिन सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उक्त संस्थाको मूल्य ५।८० प्रतिशतले घटेर एक हजार एक सय ५४ रूपैयाँमा झरेको छ ।