Close This

लाटोकोसेरो संरक्षणमा समर्पित उत्सव

शुक्रबार माघ २०, २०७९/ Friday 02-03-23
Paschim Today

अविनाश चौधरी ।

कहिलेकाँही हाम्रै गाउँघरको आसपासमा देखिन्छ, चराले चरालाई नै लखेटेको । केही सिकारी चरालाई कागले त देख्नै सक्दैन । आफ्नो आसपास देख्यो कि जसरी पनि धपाउने स्वभाव नै मानिन्छ, उसको । एउटा यस्तो चरा प्रजाति पनि छ । जो सधैंजसो सबैबाट अपहेलित छ ।

त्यसलाई देख्ने वित्तिकै कतिपय चराले कराउँदै लखेट्न थाल्छन् । जहाँ जान्छ, उतै धपाउन पुग्छन् । त्यसैले त यो चरा प्रजाति दिनभरि प्रायः लुकेर बस्छ । रुखको टोड्को वा झाडीमा । साँझपख र विहानमात्रै बढी सक्रिय हुन्छ, आहाराको लागि । रात नै उसको लागि स्वतन्त्र भएर उड्ने बेला हो । पक्षीबाटै जोगिनका लागि दिनभरि लुकेर रातको प्रतिक्षामा हुन्छ । के को बारेमा कुरा गर्न खोजेको भनेर धेरैले बुझिसक्नुभयो होला । हो, यहाँ प्रसङ्ग उठाउन खोजिएको हो, लाटोकोसेरो (उल्लू) तथा हुचिलको बारेमा ।

यो चरा प्रजाति चराबाटमात्रै हैन, संरक्षणको क्षेत्रमा क्रियाशील निकायबाटसमेत अपहेलित छ । दातृ वा सरोकारवाला निकायले जति बाघ, गैंडा वा वन्यजन्तु संरक्षणको लागि सहयोग गर्छन् । त्यति, सहयोग गर्दैनन् लाटोकोसेरो वा हुचिल संरक्षणमा । त्यसैले त यो प्रजाति संरक्षणको क्षेत्रमा क्रियाशील निकायबाट पनि अपहेलित छ । लाटोकोसेरो किसानको साथी मानिन्छ । यसले कृषिबालीलाई हानी नोक्सान गर्ने मुसा र कीरा मारेर खाने गर्दछ । तर, किसानबाट पनि अपहेलित छ । जनचेतनाको अभावमा किसानले लाटोकोसेरो देख्ने वित्तिकै मार्न उद्दत हुने तितो यथार्थ पनि विद्यमान छ । कोही मान्छेले कसैलाई गिज्याउन ‘उल्लु’ शब्द प्रयोग गर्छन् । कुनै सवालमा कसैलाई उल्लू बनाएको भन्दै आफूलाई बुद्धिमानको रुपमा ठान्दछन् । यसले नै लाटोकोसेरो कति हद्सम्म अपहेलित चरा प्रजाति हो भन्ने कुराको पुष्टि हुन्छ ।

अपहेलित यो प्रजातिको संरक्षणको लागि नेपालमा विगत केही वर्षयता एउटा गजबको प्रयास भइरहेको छ । त्यो, हो नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव । यसवर्ष १० औं उत्सव नेपालको पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रको माघी होमस्टेमा भइरहेको छ । उत्सव दुई दिन चल्नेछ ।

लाटोकोसेरो तथा हुचिल उत्सव नेपालसहित विश्वको चारवटा देशमामात्रै मनाइने गरिएको छ । भारत, इटली र अमेरिकामा पनि लाटोकोसेरो उत्सव मनाइन्छ । नेपालमा यो उत्सव मनाउन थालेको नौ वर्ष भएको छ । प्रकृतिका साथीहरु नामक संस्थाले उत्सव मनाउँदै आएको हो । यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङजा जिल्लामा यो उत्सव मनाइएको थियो ।

उत्सव मनाउनुको उद्देश्य

नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव स्थानीय स्तरमा स्थानीयवासीको उपस्थितिमा मनाइन्छ । यसमा लाटोकोसेरो तथा हुचिलसंग सम्बन्धित प्रदर्शनी, नाचसमेत समावेश गरिएको हुन्छ । यो उत्सवको मूल ध्येय लाटोकोसेरो संरक्षणबारे सचेतना फैलाउनु हो । साथै, संरक्षणप्रति क्रियाशील गराउनु हो ।

उत्सवले दिएको सन्देश

रमाइलो गर्नका लागि मात्रै आयोजना गर्ने गरिएको छैन, नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव । लाटोकोसेरोबारे सन्देश दिनु र संरक्षणबारे ज्ञान फैलाउनु यसको मुख्य ध्येय हो । नेपालमा संरक्षणका लागि लाटोकोसेरो कम चासो दिइने चरा प्रजाति हो । यसको ठीक विपरित मासु खान वा व्यापारका लागि भने यसप्रति धेरैको गिद्धे दृष्टि छ । त्यसैले, नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवले लाटोकोसेरो संरक्षणका लागि नीतिगत रुपमै संरक्षणको परिपाटी बनोस भन्ने दबाब सृजना गर्दै आएको छ । उत्सवले लाटोकोसेरो मानव जातिलाई हानी नपु¥याउने चरा प्रजाति रहेको बुझाउने प्रयास गर्दै आएको छ । र, यो चरा किसानको साथी रहेको प्रष्ट्याउँदै यसको संरक्षण गर्नु पर्ने सन्देश दिएको छ ।

समृद्धिको आधार

नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव पर्यटकीय सम्भावना बोकेको ग्रामीण क्षेत्रमा आयोजना गर्ने गरिएको छ । उत्सवमा स्थानीय मौलिक संस्कृति, भेषभूषा, नाचगान प्रस्तुत गरिन्छ । यसले ग्रामीण क्षेत्रको लोकप्रियतालाईमात्रै दर्शाउँदैन । पर्यापर्यटनको सम्भावनालाईसमेत उजागर गर्ने गर्दछ ।

नेपालमा करिब ५ देखि ८ प्रतिशत विदेशी पर्यटक चरा अवलोकनका लागि आउने गरेको विश्वास गरिन्छ । विभिन्न मुलुकबाट आउने ति पर्यटकहरुले यहाँ बस्नेक्रममा डलर खर्च गर्ने गर्दछन् । अझै चरा अवलोकन गर्नका लागि जङ्गल वा सिमसार पुग्दा उनीहरुको बसाइँ पनि लम्बिने गर्दछ ।

अर्को चाख लाग्दो प्रसङ त के भने, लाटोकोसेरो किसानको साथी हो । एक जोडी लाटोकोसेरोले एक सिजनमा दुई हजारदेखि तीन हजारसम्म मुसा खाएर बाली जोगाउने कार्यमा सहयोग पु¥याउँछन् । मलेसियाको सेलाङ्गोर राज्यमा तेल निकाल्ने पाल्म विरुवालाई मुसाले नोक्सान गरेपछि ८२ प्रतिशत किसानले गोठे लाटोकोसेरोको कृत्रिम गुँड बनाएका छन् । अध्ययन अनुसार किसानले यस्तो विधि अपनाउँदा मुसा नियन्त्रणको लागि लाग्ने खर्चमा चार गुणा कमी भएको छ । (पुस्तक : लाटोकोसेरो कि बाठोकोसेरो ?)

यसरी, लाटोकोसेरोले बाली जोगाएर आर्थिक समृद्धिमा सघाउ पु¥याउने गर्दछन् । यसैगरी, नेपालमा मनाइने लाटोकोसेरो तथा हुचिल महोत्सवले पर्यापर्यटनलाई त उजागर गरेको छ नै । यसका साथै, आर्थिक गतिविधि चलायमान बनाउनमा सहयोगसमेत पु¥याएको छ । पर्यटन विकास भएमा मुुलुकको समृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास गरिन्छ ।

नेपालमा २३ प्रजातिका लाटोकोसेरो

नेपालको तराईदेखि हिमाल गरी सबै क्षेत्रमा लाटोकोसेरो पाइन्छन् । हालसम्मको अध्ययन अनुसार नेपालमा २३ प्रजातिको लाटोकोसेरो पाइने गरेको अभिलेख छ । १९ औं शताब्दितिर नेपालमा देखिएको पिङ्गल लाटोकोसेरो भने नेपालबाट लोप भइसकेको छ । नेपालका लाटोकोसेरोहरु पुस्तकको अनुसार हाल नेपालमा पाइने लाटोकोसेरोको विवरण यस प्रकारको छ ।

१. गोठे लाटोकोसेरो : यसलाई सेतो लाटोकोसेरो भनेर पनि चिनिन्छ । समुद्री सतहको ७५ देखि एक हजार ५०० मिटर उचाईसम्म यो लाटोकोसेरो पाइन्छ । हाम्रो देशमा गोठे लाटोकोसेरोको सङ्ख्या एक हजारभन्दा पनि कम रहेको अनुमान छ । त्यसैले यसलाई सम्वेदनशीलको सूचीमा राखिएको छ । काठमाण्डौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, पर्सा, दोलखा, सिन्धुली,  सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, धनकुटा, उदयपुर, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पाइन्छ । यो प्रजातिको लाटोकोसेरोको परिवारले एक सिजनमा दुई हजारदेखि तीन हजारसम्म मुसा खाने गरेको छ ।

२. घाँसे लाटोकोसेरो : यो लाटोकोसेरो १५० देखि २२५ मिटर उचाइसम्म पाइन्छ । नेपालभर यसको सङ्ख्या १० भन्दा कम रहेको छ । त्यसैले यसलाई अतिसंकटापन्न सूचीमा राखिएको छ । हालसम्म चितवन, बर्दिया र कञ्चनपुरमा यो लाटोकोसेरो पाइएको छ । यो अग्ला घाँसे मैदानमा बस्छ ।

३. लघुकर्ण लाटोकोसेरो :– यो ७५ देखि तीन हजार ३५० मिटर उचाइसम्म पाइन्छ । नेपालमा यसको सङ्ख्या हालसम्म थाहा भएको छैन । तर, अवस्था भने संवेदनशील रहेको छ । सिमसार, घाँसे मैदान, छरिएका झाडी तथा बुट्यानमा बस्न रुचाउँछ । यो लाटोकोसेरो झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, चितवन, सर्लाही, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा पाइएको छ ।

४. लेकाली उलूक :– यसलाई कम चासो भएका प्रजातिको रुपमा लिइन्छ । एक हजार ५२५ देखि दुई हजार ७४५ मिटर उचाइसम्म पाइन्छ । पहाडका घना चौरपाते वनमा बस्न रुचाउने यो प्रजातिको सङ्ख्या यकिन हुन सकेको छैन । पहाडका विभिन्न जिल्लासहित राष्ट्रिय निकुञ्जमा फेला परेको छ ।

५. लोखर्के उलूक :– चौरपाते घना वनहरुमा बस्न रुचाउने यो प्रजाति १०० देखि दुई हजार ८०० मिटर उचाइसम्ममा पाइएको छ । यसको सङ्ख्या थाहा भएको छैन तर, घट्दै गएको अनुमान छ । यो प्रजाति सुनसरी, चितवन, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ, बारा, मुस्ताङ लगायतका जिल्लामा पाइएको छ ।

६. चित्री उलूक :– यो प्रजाति तराईका जिल्लादेखि ताप्लेजुङसम्म पनि पाइएको छ । १८५ देखि एक हजार ५२५ मिटर उचाइसम्म पाइने यो चरा गाउँ नजिका खुला वन तथा बगैचाहरुमा पाइन्छ । यसको सङ्ख्या थाहा नभए पनि घट्दै गएको अनुमान गरिएको छ ।

७. हिमाली हप्सिलो :– यसलाई हुक्पा, हुप्पा पनि भनिन्छ । तीन हजार ७०० देखि पाँच हजार मिटर उचाइसम्ममा बसोबास गर्ने यो प्रजाति नेपालको हुम्ला, मुस्ताङ, मनाङ र नुवाकोटमा पाइएको छ । हिमाली भीर र खुल्ला चट्टानयुक्त क्षेत्रमा बस्ने गरेको छ । यसको सङ्ख्या थाहा नभए पनि घट्दै गएको अनुमान गरिएको छ ।

८. हप्सिलो :– १५० देखि दुई हजार १०० मिटर उचाइसम्म पाइने यो प्रजाति भिर तथा वस्ती नजिकका वनमा बस्न रुचाउँछ । यसको संख्या थाहा भइसकेको छैन । तर, यो प्रजातिको अवस्था नेपालमा संवेदनशील रहेको छ । काठमाण्डौं, नुवाकोट, कास्की, कपिलवस्तु, रुपन्देही, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, कञ्चनपुर, दोलखा, बाग्लुङ, इलाम, बर्दिया लगायतको जिल्लामा यो प्रजाति पाइएको छ ।

९. महाकौशिक :– नेपालमा संकटापन्न अवस्थामा रहेको यो प्रजातिको नेपालभर ५० देखि २५० सम्म सङ्ख्या रहेको अनुमान छ । बाक्ला सदाबहार तथा चौरपाते घना वनहरुमा बसोबास गर्न रुचाउँछ । बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्रसहित चितवन, कास्की, दाङ, कञ्चनपुर, मकवानपुर, बारा लगायतको जिल्लामा पाइएको छ । नेपालमा यसको अवस्था संकटापन्न रहेको छ ।

१०. भासोलूक :– ७५ देखि ३०० मिटर उचाइसम्म बसोबास गर्ने यो प्रजाति नेपालमा अतिसंकटापन्न मानिन्छ । नेपालभर १० देखि ४० सम्म हुन सक्ने अनुमान गरिएको छ । प्रशस्त पानी वरपरको वन, घाँस तथा बुट्टयान भएको सिमसार, आँपको बगैचा यसको बासस्थान हो । कैलाली, कञ्चनपुर, कोशी टप्पु वन्यजन्तु आरक्ष, बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पाइएको छ ।

११. मलाहा हुचिल :– ७५ देखि एक हजार ७५० उचाइसम्म पाइने यो प्रजातिको नेपाल अवस्था संवेदनशील रहेको छ । नेपालभर एक हजारदेखि तीन हजार संख्यामा रहेको अनुमान गरिएको छ । पानी वरपरको वन, बगैचा र रुखले ढाकिएको क्षेत्रमा बस्न रुचाउने यो प्रजाति झापा, इलाम, मोरङ, चितवन, नवलपरासी, कैलाली, कञ्चनपुर, दाङ, बर्दिया, हुम्ला सुर्खेत लगायतको जिल्लामा पाइएको छ ।

१२. कैले मलाहा हुचिल:– नेपालमा अति सङ्कटापन्न यो प्रजापति २५० देखि ३०५ मिटर उचाइसम्ममा पाइन्छ । खोला खोल्सा भएका घना चौरपाते वनमा बस्न रुचाउने यो प्रजाति नेपालभर २० वटासम्म रहेको अनुमान गरिएको छ । चितवन, मकवानपुर, बर्दिया, कञ्चनपुर र नलपरासीमा यो प्रजाति फेला परेको छ ।

१३. सानो डुन्डुल :– ६१० देखि तीन हजार ५०० उचाइमा पाइने यो प्रजाति तराई पहाडको विभिन्न जिल्लामा पाइन्छ । चौरपाते तथा कोणधारी वनमा बसोबास गर्न रुचाउने यसको संख्या निर्धारणका लागि अध्ययन भएको छैन । यो तराईसहित पहाडी जिल्लामा पाइन्छ ।

१४. ठूलो डुन्डुल :– चौडपाते, कोणधारी तथा खुल्ला वनहरुमा बसोबास गर्ने यो प्रजाति नेपालको २४५ देखि दुई हजार ७४५ मिटर उचाइसम्म पाइन्छ । यसको बारेमा हालसम्म अध्ययन नभए पनि सङ्ख्या भने घट्दै गएको अनुमान गरिएको छ । यो प्रजाति पनि तराईसहित पहाडी जिल्लामा पाइन्छ ।

१५. हिमाली कोचलगाँडे :– दुई हजार ३०० देखि चार हजार ९५० मिटर उचाइसम्म पाइने यो कम चासो भएको प्रजातिमध्येमा पर्दछ । यसको पनि अध्ययन भएको छैन । हिमाली भेगका समथर भू–भागमा, पहरा तथा छोडिएका पुराना घरहरुमा बसोबास गर्ने हिमाली कोचलगाँडे सङ्ख्या घट्दै गएको अनुमान गरिएको छ । दार्चुला, हुम्ला, मनाङ, डोल्पा, सोलुखुम्बु, संखुवासभासहित ढोरपाटन सिकार आरक्ष, लाङटाङ राष्ट्रिय निकुञ्जमा यो प्रजाति पाइन्छ ।

१६. कोचलगाँडे लाटोकोसेरो :– यो प्रजाति ७५ देखि दुई हजार ७४५ मिटर उचाइसम्ममा पाइन्छ । नेपालमा यो कम चासो भएको प्रजाति मानिएकाले अध्ययन भएको छैन । मानव वस्ती र वस्ती वरपरका रुख तथा खेतवारीमा बस्ने कोचलगाँडे तराई र पहाडको विभिन्न जिल्लामा पाइन्छ ।

१८. कालपेचक :– ७५ देखि एक हजार ५०० मिटर उचाइमा पाइने प्रजाति हो यो । तराईदेखि पहाडको विभिन्न जिल्लामा पाइएको अभिलेख छ । पानी तथा वस्ती नजिकको चौरपाते जङ्गल तथा बगैचामा बस्न रुचाउने गर्दछ ।

१९. चश्मे उलूक :– १५० देखि तीन हजार ३०० मिटर उचाइसम्म यो प्रजाति पाइएको छ । नेपालमा संवेदनशील मानिने चश्मे उलूक घना चौरपाते तथा कोणधारी जङ्गलमा बस्न रुचाउँछ । नेपालमा बढीमा यसको संख्या ७०० सम्म रहेको अनुमान गरिएको छ । तराई र पहाडको विभिन्न जिल्लामा पाइने गर्दछ ।

२०. कैले पहाडी उलूक :– नेपालमा कम चासो भएको यो प्रजाति दुई हजारदेखि चार हजार मिटर उचाइसम्म पाइन्छ । चौरपाते तथा कोणधारी र वस्ती वरिपरिका खुला वनहरु यसको बसोबास स्थल हो । यो हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ लगायतका जिल्लामा पाइन्छ ।  कम चासोको प्रजातिभित्र यो पर्दछ ।

२१. कब्रार लाटोकोसेरा :– यसलाई कुँईटा भनेर पनि चिनिन्छ । खुला वनजङ्गल तथा मानव वस्ती वरिपरि ठूला रुख भएका बगैंचामा बसोबास गर्ने यो प्रजाति १२० मिटर उचाइसम्म पाइएको छ । अहिलेसम्म चितवन, नवलपरासी र बर्दियामामात्रै फेला परेको छ ।

२२. डुन्डल :– नेपालमा ९१५ देखि एक हजार ६०० मिटर उचाइसम्म यो प्रजाति पाएको अभिलेख गरिएको छ । नेपालसहित अन्तर्राष्ट्रिय स्तरमा कम चासो दिइएको डुन्डुल खुला चौरपाते तथा हुर्कदैं गरेको वनमा बस्न रुचाउँछ । यो तराईको विभिन्न जिल्लासहित माथिल्लो क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जमासमेत अभिलेख गरिएको छ ।

२३. लामकाने लाटोकोसेरो :– होचा रुख भएको बगैचा तथा कोणधारी वनमा बसोबास गर्न रुचाउने यो प्रजातिकोबारेमा अध्ययन भएको छैन । लामकाने लाटोकोसेरो कहिलेकाँहीमात्रै नेपालमा देखा पर्ने गरेको हालसम्मको बुझाइ छ ।

चुनौतीहरु

नेपालमा लाटोकोसेरोको चोरी शिकारमात्रै हुँदैन । व्यापक रुपमा तस्करी पनि हुने गरेको दाबी गरिन्छ । हप्सिलो, महाकौशिक, मलाहा हुचिलको तस्करी सबैभन्दा उच्च रुपमा हुने गरेको बताइन्छ । प्रकृतिका साथीहरुले नेपालको ४६ जिल्लामा गरेको प्रारम्भिक अध्ययन अनुसार हाम्रो मुलुकमा वार्षिक कम्तीमा दुई हजारसम्म लाटोकोसेरो मारेर अवैध रुपमा तस्करी गर्ने गरिन्छ । लाटोकोसेरोको तस्करी पनि बाघ, गैँडाको जत्तिको हुने गरेको बताइन्छ । औषधि, झारफुक, घरमा पाल्नका लागि भारत, चीन लगायत खाडी मुलुकमा लाटोकोसेरोको तस्करी हुने गर्दछ । यसले गर्दा संरक्षणमा ठूलो चुनौती रहेको छ ।

यसैगरी, संरक्षण सम्बन्धी चेतनाको अभावका कारणले धेरैले लाटोकोसेरो मारेर खाने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा अझै पनि लाटोकोसेरो सिकार मासु खानका लागि धेरै नै हुने गर्दछ । यस्ता कार्यले पनि लाटोकोसेरो तथा हुचिल संरक्षणमा चुनौती रहेको छ । नेपालमा लाटोकोसेरोकै हकमा छुट्टै कानुन नरहेकाले पनि संरक्षणमा समस्या छ ।

अबको आवश्यकता

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले नेपालमा पाइने विभिन्न वन्यजन्तु, पक्षीलाई संरक्षित सूचीमा राखेको छ । संरक्षित सूचीमा रहेका जीवजन्तु तथा चराचुरुङ्गी मार्न कानुनले बन्देज गरेको छ । यद्यपि, कानुन कार्यान्वयन पक्ष फितलो भएको र दण्ड सजायको व्यवस्था पनि निकै न्यून रहेको गुनासो सुनिन्छ ।

किसानको साथी मानिने लाटोकोसेरोको हकमा छुट्टै कुनै कानुन छैन । तथापि, लाटोकोसेरोको संरक्षणका लागि ऐन संशोधनको खाँचो संरक्षणकर्मीले औंल्याउँदै आएका छन् । लाटोकोसेरोको तस्करी नियन्त्रणमा सरकारले विशेष ध्यान पु¥याउनु पर्दछ । किनभने, नेपालबाट यसको तस्करी हुनेक्रम बढ्दो छ । यसैगरी, लाटोकोसेरो संरक्षणको कार्यमा पनि सरकारले पहल कद्मी भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ । संरक्षणको क्षेत्रमा काम गर्ने सरोकारवाला सबै निकाय निकायहरुले पनि सहकार्य गरेर संरक्षणको गतिविधि अगाडि बढाउन जरुरी छ ।