एक दिन पनि संसद् बैठकमा नबस्ने सांसदलाई गरियो निष्काशन

बुधबार चैत १, २०७९/ Wednesday 03-15-23
Paschim Today

एजेन्सी । सेलेब्रिटीहरूको गसिपका विषयमा भिडियो बनाउने युट्युबरबाट सांसद बनेका जापानका एक नेतालाई एक दिन पनि बैठकमा उपस्थित नभएको भन्दै निष्काशन गरिएको छ ।  जापानको ७० वर्षभन्दा बढीको संसदीय अभ्यासमा निष्काशित हुने उनी पहिलो सांसद हुन् ।

गासी भनेर चिनिने योशिकाजु हिगाशितानीलाई मार्च महिनाको आरम्भमा अनुपस्थितिका लागि माफी माग्न निर्देशन दिइएको थियो ।  तर सेइजिका जोशी ४८ नामक सानो दलका सांसद हिगाशितानी त्यस संसदीय सत्रमा पनि उपस्थित भएनन् । 

सन् २०२२ को जुलाई महिनामा भएको निर्वाचनपछि हिगाशितानीले एकपटक पनि हाउस अफ काउन्सिलर्समा पाइला राखेका छैनन् ।  उनी दुबईमा रहेको आफ्नो घरमा बसिरहेका छन् । जापान आउँदा आफू पक्राउ पर्ने भएकाले नआएको उनको जिकिर छ । जापानमा उनीविरुद्ध मानहानिको मुद्दा चलिरहेको छ । 

जापानी संसद्को माथिल्लो सदनले मंगलवार उनलाई निष्काशन गर्ने निर्णय लिएको हो । बुधवार उक्त निष्काशनलाई आधिकारिक बनाइएको हो ।  उनकै दलका अर्का सदस्यलाई सांसद बनाइने भएको हो ।