Close This

कृष्ण सागरमा रुसी लडाकु विमान र अमेरिकी ड्रोन ठोक्किएसँगै आरोप प्रत्यारोप सुरु

बुधबार चैत १, २०७९/ Wednesday 03-15-23
Paschim Today

एजेन्सी, कृष्ण सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रुसी लडाकु विमान र अमेरिकी जासुसी ड्रोन एक आपसमा ठक्कर खाएपछि दुई मुलुक एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रेका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला मंगलबार कृष्ण सागरको आकाशमा रुसी वायुसेनाको सुखोई एसयु २७ लडाकु विमान र अमेरिकी एमक्यू ९ चालकरहित हवाई उपकरण ड्रोन एक आपसमा ठक्कर खाएका थिए ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रुसी लडाकु विमानले अमेरिकी ड्रोनको पखेँटामा ठक्कर दिएको जनाएको छ । असुरक्षित र अव्यवसायिक रुसी हवाई कौशलले दुबै विमान दुर्घटना हुने जोखिम निम्त्याएको सो क्षेत्रमा तैनाथ अमेरिकी वायुसेनाका कमाण्डर जनरल जेम्स हेकरले बताएका छन् ।

रुसले भने आफ्नो लडाकु विमानले अमेरिकी ड्रोनलाई ठक्कर नदिएको र ‘जटिल हवाई चालबाजी’ का कारण उक्त ड्रोन खसेको बताएको छ । अमेरिकाका लागि रुसी राजदूत अनातोली अन्तोनोभले विद्युतीय प्रसारण प्रणाली बन्द गरी उक्त ड्रोन जानाजान र उत्तेजना भड्काउने उद्देश्यले रुसी आकाशमा प्रवेश गर्न लागेको अवस्थामा घटना भएको बताएका छन् । उत्तेजना भड्काउने उद्देश्यबाट प्रेरित भएर अमेरिकी ड्रोनले सो क्षेत्रमा उडान भरेको भएको आफ्नो मुलुकको ठहर रहेको उनको भनाइ छ । घटनाबारे थप छलफल गर्न अमेरिकी विदेश मन्त्रालयले राजदूत एन्तोनोभलाई बोलाएको थियो ।