Close This

पाकिस्तान : इमरान खानलाई पक्राउ गर्न नसकी फर्कियो प्रहरी

बुधबार चैत १, २०७९/ Wednesday 03-15-23
Paschim Today

एजेन्सी  ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न उनकै घर पुगेको प्रहरी बल खाली हात फर्केको छ ।  खानका समर्थकहरूले प्रहरीको प्रतिकार गर्दै इँटा र ढुंगा प्रहार गरेपछि प्रहरीले पनि अश्रूग्यास प्रहार गरेको थियो । 

मंगलवार खानलाई पक्राउ गर्न पुगेको प्रहरीले समर्थकहरूसँग बुधवार पनि भिडन्त गरेको थियो । लाहोरको जमान पार्कस्थित घरमा पक्राउबाट बच्नका लागि इमरान बसिरहेका छन् । तर खानले मार्च महिनाको अन्त्यतिर अदालती पुर्पक्षका लागि उपस्थित हुने एउटा प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन् । 

खानविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपका सम्बन्धमा प्रहरीले पक्राउपुर्जी थमाउन खोजेको थियो । तर खानका समर्थकहरूले मानव ब्यारिकेड बनाएर प्रहरीलाई पक्राउ गर्न दिएका थिएनन् । बुधवार सुरक्षाकर्मीहरू फर्किएपछि अब खानलाई फेरि पछि पक्राउ गर्न कोशिश गर्छन् कि गर्दैनन् भन्ने प्रस्ट छैन । 

ट्विटरमा खानले आफ्नो घरबाहिर प्रहरीले प्रहार गरेको गोलीको खोकाको तस्वीर राख्दै निहत्था जनतामाथि प्रहरीबाट गोली प्रहार भएको आरोप लगाएका छन् । आफूलाई अपहरण गरी हत्या गर्न खोजिएको दाबी पनि उनले गरेका छन् ।  खानलाई पक्राउ गर्ने क्रममा भएको हिंसामा परी ३४ प्रहरी अधिकृत सहित ६९ जना घाइते भएका छन् ।