Close This

२८ करोड ८१ लाखमा धनगढीमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

शुक्रबार चैत ३, २०७९/ Friday 03-17-23
रासस

अत्तरिया,३ चैत। कैलालीको धनगढीमा निर्मित होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छ । कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्कने कोरोना संक्रमितलाई राख्ने उद्देश्यका साथ सङ्घीय सरकारको लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको थियो ।

सङ्घीय सरकारले २८ करोड ८१ लाखको लागतमा बनेको यो होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ । कोरोना संक्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाकानजिक हतार–हतारमा होल्डिङ सेन्टर निर्माण गरेको थियो । सुरुमा तीन महिनाभित्र निर्माण गरिसक्ने सम्झौता रहे पनि करिब एक वर्षपछि गत साउनमा होल्डिङ सेन्टरको काम पूरा भएको थियो ।

धनगढी उपमहानगरपालिका–३ मा निर्माण भएको होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्ने निर्णय नहुँदा अन्योल सिर्जना भएको छ । वडा नं ३ मा रहेको प्रगति सामुदायिक वन र ज्योति सामुदायिक वनको जमिनमा सरकारले एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको थियो ।

नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको हो । सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन् । जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहितका ब्लक निर्माण गरिएका छन् । चौध वटा क्वारेन्टिन ब्लकमा तीन सयवटा शय्या राखिएका छन् ।

धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले होल्डिङ सेन्टर कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्नेबारे पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको बताए । ‘होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनदेखि प्राविधिक कलेज सञ्चालन गर्नुपर्दछ भनेर उपमहानगरले प्रस्ताव गरेको हो’, वडाध्यक्ष ऐरले भने, ‘तर सरकार फेरबदल हुँदा प्रभावित भएको देखिन्छ ।’

केही समयअघि रक्षा मन्त्रालयका अधिकारी आएर होल्डिङ सेन्टर प्रयोगबारे छलफल र अध्ययन गरेर फर्किएको उनले जानकारी दिए । यसअघि कोरोना संक्रमण सामान्यतर्फ उन्मुख रहेका बेला कुन निकायमातहत होल्डिङ सेन्टर सञ्चालन गर्ने भन्ने तय नभएकाले पनि सञ्चालनमा ढिलाइ भएको थियो । कोरोना संक्रमण बढ्न थालेपछि सरकारले भारतबाट आउने संक्रमित र कोरोनाको लक्षण देखिएका नागरिकलाई राख्न नाकानजिक होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

विगतमा कोरोना संक्रमणका दुवै लहरमा भारतबाट फर्केनेहरूलाई नाकामा परीक्षण र क्वारेन्टिनमा नराखी घर पठाउँदा सुदूरपश्चिमका गाउँ–गाउँमा संक्रमण फैलिएको पाइएपछि त्यस्तो अवस्थामा संक्रमितलाई राख्न होल्डिङ सेन्टर स्थापना गरिएको हो । सरकारले सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसहित देशभरका सातवटा नाकामा होल्डिङ सेन्टर बनाएको छ ।

अर्कोतिर होल्डिङ सेन्टर कटानको समेत जोखिममा छ । मोहनामा तटबन्ध नगरे बर्सातमा होल्डिङ सेन्टर कटानमा रहेको स्थानीय महेश विष्टले बताए । ‘मोहनाको डिलमै सरकारले करोडौँ खर्चेर होल्डिङ सेन्टर बनाएको छ, तर नदीमा तटबन्ध अहिलेसम्म भएको छैन’, उनले भने, ‘तटबन्ध गरिएन भने मोहनाको बाढीमा होल्डिङ सेन्टर बग्ने खतरा छ ।’

बर्खायाममा सरकारको ठूलो लगानी रहेको होल्डिङ सेन्टर कटानको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मोहना नदीको बाढीको चपेटामा सिङ्गो होल्डिङ सेन्टर पर्न सक्ने भन्दै वडा नं ३ का स्थानीय रामचन्द्र ढुङ्गानाले चिन्ता व्यक्त गरेका छन् । होल्डिङ सेन्टर निर्माण सम्पन्न भएर अहिले नेपाली सेनाले रेखदेख गरिरहेको छ । खानेपानी, बिजुली, शैंयालगायतका बन्दोबस्तीका सामग्री होल्डिङ सेन्टरमा राखिएको छ ।