Close This

धनगढीमा बाघसंग सेल्फी

बुधबार चैत ८, २०७९/ Wednesday 03-22-23
Paschim Today

धनगढी, ८ चैत ।
के तपाईलाई चिम्पाजीसंग सेल्फी लिन मन छ ? वा बाघसंग फोटो खिच्न चाहनुहुन्छ ? कि छहराको छेउमा उभिएर रमाईलो गर्न मन छ ? त्यति मात्र होईन घनघोर जंगलमा चराहरु र जंगली जनावरहरुसंग वास्तविक जीवनमा तस्विर लिन संभव नहुने कुरालाई के संभव बनाउन चाहनुहुन्छ ?

त्यसो हो भने यी सबै चाहना एकै ठाँउमा पुरा हुने भएका छन् । त्यो हो, द धनगढी थ्रिडी आर्ट एण्ड म्युजियम ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी नाष्ट कलेज जाने बाटोमा खुलेको म्युजियममा त्यस्ता थुप्रै कलात्मक र जिवन्त कुराहरु कुँदिएका छन्, जसका अगाडि उभिएर सेल्फी वा तस्विर खिच्दा घनघोर जंगल, उर्लिदो नदी, बिशाल छहरा, अजंगका डरलाग्दा जनवारसंगै उभिएको प्रतित हुन्छ ।

करीव पाँच महिना लगाएर निर्माण गरिएको म्युजियमको स्थापनामा ५० लाख रुपैया खर्च भएको सञ्चालक सुनिल यादवले बताए । टेण्ट हाउस सञ्चालन गर्दै आएका सुनिललाई धनगढीमा केही पृथक काम गर्ने हुटहुटी थियो । त्यही हुटहुटीले उनलाई म्युजियम खोल्ने प्रेरित ग¥यो । उनी भन्छन्, कसैले नगरेको काम गर्ने सोच थियो । काठमाण्डौंमा यस्तो म्युजियम देखे । र, त्यही दिनदेखि धनगढीमा यस्तै म्युजियम खोल्न पाए हुन्थ्यो भन्ने सोच पलायो । त्यही सोचले यो म्युजियमको जन्म भयो ।

जोखिम मोल्नेहरुले कछुवा माथि चढ्ने, चरासंगै उड्ने, ढुंगामा टेकेर उर्लिदो नदी पार गर्ने दुस्साहस गर्न सक्छन । तर भुतसंग तस्विर खिच्ने कुरा त वास्तविक जीवनमा जस्तोसुकै दुस्साहसीका लागि पनि संभव हुने कुरा होईन, म्युजियममा जानेहरुका लागि भने त्यो पनि संभव छ ।

स्पाईडर म्यानसंग उभिएर फोटो खिच्न कहाँ पाईन्छ र ? बालबालिकाहरुले आफ्नो सुपर हिरो स्पाईडर म्यानसंग म्युजियममा सेल्फी लिन पाउछन् । तर त्यसका लागि भने १०० रुपैयाको टिकट भने काट्नु पर्नेछ ।

माघ २ गते उद्घाटन गरिएको म्युजियम विस्तारै बालबालिकादेखि बृद्धसम्म, सबै उमेरसमूहका लागि आकर्षणको केन्द्र बनेको यादव बताउछन् ।

(पश्चिम टुडेमा प्रकाशित सामग्री साभार गर्न मनाही छ)