Close This

थपिए छ लाख ६५ हजार फोरजी प्रयोगकर्ता

आइतबार चैत १२, २०७९/ Sunday 03-26-23
Paschim Today

काठमाडौँ,१२ चैत । दूरसञ्चार सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ता पनि उल्लेख्य बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार एक महिनामै फोरजी प्रयोग गर्नेको सङ्ख्या छ लाख ६५ हजारले बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार २०७९ मङ्सिरको तुलनामा पुसमा यो सङ्ख्यामा फोरजी प्रयोगकर्ता थपिएका हुन् । मङ्सिरमा देशभर एक करोड ८४ लाख ८४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड ९१ लाख ४९ हजार पुगेको छ ।

नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा फोरजीको समग्र पहुँच बढेको हो । मङ्सिरसम्म टेलिकमका एक करोड १५ लाख ५० हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड २१ लाख ९७ हजार नाघेको छ । यस हिसाबले एक महिनामै टेलिकमले छ लाख ४७ हजार फोरजी प्रयोगकर्ता थपेको छ । 

टेलिकमको तुलनामा एनसेलका फोरजी प्रयोगकर्ताको सङ्ख्या भने सामान्य मात्र बढेको छ । मङ्सिरसम्म एनसेलका ६८ लाख १९ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा करिब ६८ लाख ४५ हजार मात्र पुगेको छ । अर्को सेवाप्रदायक स्मार्ट टेलिकम भने सेवा विस्तारमा अत्यन्त कमजोर देखिएको छ । स्मार्टका प्रयोगकर्ता बढ्नुको साटो घट्ने क्रममा छन् । मङ्सिरसम्म स्मार्टका एक लाख १४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा घटेर एक लाख सात हजार पुगेका छन् ।