नविन शाह उत्कृष्ट पाठकका रुपमा पुरस्कृत

सोमबार चैत १३, २०७९/ Monday 03-27-23
Paschim Today

टीकापुर, १३ चैत ।
टीकापुर सरोकार समूह र टीकापुर सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा गत मंसिरबाट सञ्चालित उत्कृष्ट पाठक पुरस्कार कार्यक्रमको चौथो महिना फागुन २०७९ को पुरस्कार नवीन शाहले प्राप्त गरेका छन् ।

फागुन महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने १५३ पाठकमध्ये उनले कुल ८४ घन्टा १४ मिनेट अनुशासित भई अध्ययन गरेका थिए । टीकापुर नगरपालिका – १ निवासी शाह बिएससी कृषि विज्ञानको प्रथम वर्षमा अध्ययनरत छन् । शाहलाई सम्मान स्वरुप १० हजार रुपैया नगद र प्रमाणपत्र प्रदान गरियो ।

उत्कृष्ट पाठक पुरस्कारको यो चौथो शृङ्खला सुरेश मणि त्रिपाठीले आफ्ना पिताजी बुद्धिसागर मणि त्रिपाठीको सम्मानमा सौजन्य गरेका गरेका थिए ।

उक्त कार्यक्रममा पत्रकारको नजरमा टीकापुर सामुदायिक पुस्तकालय, सेवा, प्रभाव र प्रचार प्रसारका बारेमा टीकापुर क्षेत्रमा कार्यरत पत्रकारसँग छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।

पत्रकार मातृका तिमिल्सिना प्रमुख अतिथि रहेको कार्यक्रमको सभापतित्व टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले गरेका थिए ।