Close This

अतिसङ्कटापन्न खरमजुर लोप हुने खतरा

बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23
Paschim Today
शुक्लाफाँटामा देखिएको खरमजुर । तस्बिर : हिरुलाल डङ्गौरा

धनगढी,१६ चैत । अतिसङ्कटापन्न खरमजुर नेपालबाट लोप हुने खतरा बढेको छ । यो चराको सङ्ख्या वृद्धि हुन नसकी घट्दै गएकाले लोप हुने खतरा बढेको हो । नेपालमा एक सयभन्दा कम सङ्ख्या रहेको खरमजुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र चितवन नेशनल पार्कमा रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा खरमजुर रहेको भनिए पनि केही वर्षदेखि फेला नपरेको बताइन्छ ।

घाँसे मैदानमा बस्ने यो प्रजातिको चरा नेपालमा पाटेबाघभन्दा पनि अतिसङ्कटापन्न भइसकेको चराविद हिरुलाल डङ्गौराले बताए । ‘यिनीहरुको अस्तित्व गाह«ो अवस्थामा पुगेको छ’, उनले भने,‘यसको केही कारणमध्ये बास स्थान मासिनु र सिकार प्रमुख हो ।’अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) को सूचीमध्ये अतिसङ्कटापन्न अन्तिम अवस्था हो। 

सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि यो चराको सङ्ख्या घटेको छ । गतवर्ष सात वटा अभिलेख भएकोमा यो वर्ष गणना गर्दा सङ्ख्या घटेको पाइएको डङ्गौराले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा नेपाल पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) ले चैत ७ देखि १४ गतेसम्म गणना गरेको थियो । यसपालीको गणनाको तथ्याङ्क भने पछिमात्रै सार्वजनिक गरिने जनाइएको छ । 

मार्च वा अप्रिलमा खरमजुरको गणना गरिन्छ । यो बेला घाँस सानो हुने र ‘ब्रिडिङ’ सिजन रहेकाले खरमजुर देखा पर्ने गर्दछन् । अन्य समयमा भने फेला पार्न मुस्किल हुने गरेको जनाइएको छ । प्रजनन सिजनमा भाले खरमजुरले पोथीलाई आकर्षित गर्नका लागि घाँसमाथि उफ्रने, उड्ने गर्नाले फेला पार्न सजिलो हुने गरेको चराविद डङ्गौराको भनाइ छ । उनले यस पटक शुक्लाफाँटामा गरिएको गणनाबाट प्राप्त तथ्याङ्कले चिन्तित बनाएको बताए ।  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदानमामात्रै यो प्रजातिको चरा पाइन्छन् । विगतमा कञ्चनपुरको चानदेवमा खरमजुर अभिलेख भए पनि अब मानव बस्ती बसेका कारण त्यता यो चरा पाउन छोडेको बताइएको छ । ‘घाँसे मैदान खुम्चिदै गएकाले खरमजुरको अस्तित्व नै सङ्कटमा परेको छ’, डङ्गौराले भने ।

उनका अनुसार उड्नुभन्दा पनि बढी हिड्ने यो प्रजातिको चरा घाँसमै बस्ने, त्यसैमा गुँड बनाएर बच्चा कोरल्ने गर्दछन् । पोथी ओथारो बसेका बेला सिकारी पन्छी र स्याल, बिराला जस्ता जनावरले पनि खरमजुरलाई मार्ने गर्दछन् । त्यसका अतिरिक्त खेतमा पुगेका बेला मान्छेले विष हालेर मार्ने वा कृषिमा प्रयोग गरेको विषादीका कारण पनि यो चरा मर्ने गर्दछन् । 

शुक्लाफाँटामा घाँसे मैदान राम्रो रहे पनि यसैमा खरमजुरको सङ्ख्या घट्नु चिन्ताको विषय रहेको बताइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले खरमजुरलाई जोगाउनका लागि निकुञ्जले घाँसे मैदानको व्यवस्थापन गर्दै आएको बताए । ‘हामीले घाँसे मैदानमा आगो नलागोस भनेर ब्लक बनाएर व्यवस्थापन गर्दै आएका छौं’, उनले भने । मार्च र अप्रिलमामात्रै घाँसे मैदानमा आगो लाग्नबाट जोगाउन सकेमा खरमजुरलाई जोगाउन सकिने उहाँको भनाइ छ ।

मेहताका अनुसार मार्च, अप्रिल बच्चा कोरल्ने समय हो । त्यसैले प्रि मनसुन सिजनमा घाँसे मैदानलाई डढेलोबाट जोगाउन आवश्यक छ । खरमजुर लोपको नजिक पुगेकाले यसको राम्रोसंग विस्तृत अध्ययन गर्न आवश्यक रहेको उनले उल्लेख गरे । 

बीसीएनका अनुसार सन २०१५ मा गणना गर्दा नेपालभरि खरमजुरको सङ्ख्या ६४ को हाराहारीमा रहेको थियो । जसमध्ये सबैभन्दा बढी ५० वटा कोशीटप्पु वन्यजन्तु आरक्षमा अभिलेख भएका थिए । त्यस्तै, शुक्लाफाँटामा नौ र चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा अभिलेख भएका थिए । लोपको नजिक पुगेको खरमजुर नेपालसहित भारत र कम्बोडिया गरी विश्वको तीन राष्ट्रमामात्रै पाइन्छन् । विश्वभरि यो प्रजातिको सङ्ख्या एक हजार तीन सयभन्दा कम रहेको बताइएको छ । 

यसको अस्तित्व जोगाउनका लागि घाँसे मैदानको उचित व्यवस्थापन, मिचाहा झाडीको नियन्त्रण, संरक्षणमूलक जनचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको संरक्षणकर्मीको जोड छ ।