Close This

थ्री स्टार क्लव खप्तड गोल्डकपको फाइनलमा प्रवेश

बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23
Paschim Today

धनगढी, १६ चैत ।  आयोजक टीम सुदूरपश्चिम–११ लाई हराउँदै थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा विहिबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो ।

थ्री स्टारले उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लवसंग खेल्नेछ । खेलको ३० औं मिनेटमा पहेलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । थ्री स्टार क्लव १० खेलाडीमा सिमित भएपनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।

बिक्रम लामाले ८३ औं मिनेटमा हेड मार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आयोजक टीमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए । पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए । थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो ।

खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउर्दै मनाङ मस्र्याङ्दी क्लव प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।