Close This

लाओसलाई पराजित गर्दै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

शुक्रबार चैत १७, २०७९/ Friday 03-31-23
Paschim Today

काठमाडौँ,१७ चैत । घरेलु टिम नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । फाइनलमा नेपालले लाओसलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।दशरथ रंगशालामा शुक्रबार भएको खेलमा १–० ले पछि परेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो ।

खेलको १७औँ मिनेटमा लाओसले नेपालविरुद्ध गोल गर्न सफल भयो । लाओसका फौथाभोङ साङभिलाले गोल गरे । यो गोलसँगै नेपाल १–० ले पछि परेको थियो । तर खेलको २४औँ मिनेटमा नेपालले गोल फर्कायो । नेपालका लागि आयुस घलानले गोल गर्दै नेपाललाई १–१ को बराबरी दिलाए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो । खेलको ७४औँ मिनेटमा अन्जन विष्टले प्रहार गरेको बल लाओसको गोलकिपरले बचाएको बललाई मनिष डाँगीले गोल गरे । तर, उनको गोल अफसाइड हुन पुग्यो ।

योसँगै नेपालले २–१ अग्रता बनाउने अवसर गुमायो । खेलको ८७औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए ।जितसँगै नेपालले पाँच हजार अमेरिकी डलर पाएको छ । उपविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर पाएको छ ।