टीकापुरबाट उदाएका लक्ष्मण न्यौपाने
दीर्घराज उपाध्याय ।
के कमाउने ? नाम वा सम्पत्ती ? धेरैको रेडिमेड जवाफ हुन्छ– सम्पत्ती । यो कुरामा लक्ष्मण न्यौपाने अपवाद छन् ।
सम्पत्ती एउटै पुस्तामा सकिन सक्छ, उनी भन्छन्, राम्रो काम गरे नाम पुस्तौ पुस्ता रहन्छ ।
हो पनि, छोरा छोरी असल भए सम्पत्ती चाहिदैन । खराव भए जति सम्पत्ती पनि काम लाग्दैन । उनी यही सोचबाट अभिप्रेरित छन् ।
कसलाई थाह छ, उनको ऋण कति छ ? उनले कति कमाए ? कति सम्पत्ती जोडे ? त्यसको लेखाजोखा उनैले गरेका छैनन । तर हस्पिटालिटी व्यवसायमा छुट्टै छाप छ, उनको । र त, आज होटल व्यवसायमा सिद्धार्थ एउटा ब्राण्ड बनेको छ । जसको नामै काफि छ । तर यो सामान्य मिहिनेतबाट स्थापित भएको ब्राण्ड भने होईन ।
गुल्मीमा जन्मिएका ५१ वर्षिय न्यौपानेले अढाई दशक लामो संघर्षबाट यो उपलब्धी हासिल गरेका हुन् । छ भाई, सात बहिनीमा उनी माहिला थिए । आर्थिक अवस्था कमजोर भएका बुवाआमाका लागि उनी बोझ होईन, सहयोगी बन्न चाहन्थे । बाल्यकाल गुल्मीमै पढे । अलि बुझ्ने भएपछि उनी कामको खोजीमा भारत पुगे । त्यहाँ थोरै पढे । धेरै परेर उनी खारिए । रेष्टुरेण्टमा काम गरे । होटलमा काम गरे । उनी हेड सेफसम्म बने । होटलको काम छोडेर उनी साडी कम्पनीमा काम गर्न थाले । उनी गार्डन बरेली सिल्क मिल कम्पनीमा काम गर्दा गर्दै म्यानेजर भए । उनको मनले भन्यो, अव फर्केर आफ्नै देशमा पसिना बगाउनु पर्छ । र, राजस्थान, मुम्बई र सुरतमा एक दशकभन्दा बढि समय विताएका न्यौपाने आकर्षक पारिश्रमिक छोडेर नेपाल फर्किए ।
सुरतबाट सोझै गुल्मी फर्किए । ठूल्दाई बिष्णु न्यौपाने होटल चलाउथे । केही समय दाईसंगै काम गरे । तर त्यहाँ अल्झिरहन उनको मनले मानेन । उनी आफ्नै केही व्यवसाय गर्न चाहन्थे । तर उनीसंग धेरै पैसा थिएन । र, कहाँ व्यवसाय गर्ने ? कस्तो व्यवसाय गर्ने ? उनले कुनै निर्णय लिन सकेका थिएन । त्यहीबीच उनी व्यवसायको संभाव्यता अध्ययनका लागि घुम्न निस्किए । देशका बिभिन्न भाग घुमे । अन्तिममा कैलालीको टीकापुर पुगे ।
उनी थोरै लगानीमा व्यवसाय गर्न चाहन्थे । र, त्यहाँ व्यवसाय गर्ने उनको सोच थियो । जहाँ उनलाई चिन्ने मान्छे कोही नहुन । अझ गुल्मीका मान्छे त कोही नहुन । उनले चाहेको त्यस्तो ठाँउ टीकापुर थियो । जहाँ एक उनकी पत्नीका सानु बुवा थिए । र, अर्को उनको साथीका भिनाजु नारायण ज्ञवाली थिए, जो नेपाल बैंकको म्यानेजर थिए ।
टीकापुरमै कामधन्दा गर्ने सोच बनाए । र, बजारमा खाली जमिन भाडामा लिए । । बास र त्रिपालले टहरा बनाए । र, चाउमिन पसल शुरु गरे । उनले खाना र खाजाका परिकार बनाउन जानेका थिए । हातमा सीप थियो । र, साथ दिने उनकी पत्नी थिईन । चाउमिनसंगै मःम बनाउन थाले । उनको चाउमिन पसल केही समयमै चम्कियो । उनीसंगै शुरुवाती दिनमा सहयोगीका रुपमा जोडिए, बाबुराम चौधरी । जो आज पनि उनीसंगै छन् ।
कसले के भन्छ ? उनलाई त्यसले असर गरेन ? उनी आफै चाउमिन बनाउथे । वेटर पनि आफै थिए । भाडा पनि आफै माझ्थे । उनलाई काम गर्न कहिल्यै संकोच भएन । उनको चाउमिन पसलमा भीड लाग्न थालेपछि दाईलाई बोलाए । पसल शुरु गरेको केही समयमै उनी प्रतिदिन ४० किलो भन्दा बढि चाउमिन बेच्न थालिसकेका थिए । स्थानीयले उनको मःम पनि त्यत्तिकै मन पराए ।
उनी छाप्रोबाट २०५५ सालमा घरमा सरे । चार हजार चार सय रुपैया मासिक भाडा तिरेर हिमाल होटल सञ्चालन गरे । उनका साथीले आफ्नो भिनाजु ज्ञवालीलाई सम्बोधन गरेर पत्र पठाएका थिए । ज्ञवालीले उनलाई होटल सञ्चालनका लागि सहयोग गरे ।
त्यसको एक वर्षपछि अर्को घर भाडामा लिए । र, सिद्धार्थ गेष्ट हाउस शुरु गरे । जसको मासिक भाडा सात हजार पाँच सय रुपैया थियो । उनी कहिल्यै थाकेनन । न त उनले बिश्राम नै गरे । न त उनी कुनै घट्नाबाट बिचलित भएर भागे । एक पटक उधारो उठाउन गएका भाई कुटिए । पैसा माग्न जादा कुटिएका भाईको न्यायका लागि उनले एक जना अग्रजसंग आग्रह गरे । अग्रजले सुझ्याए–कुटाई सहनु । तर नबिर्सिनु ।
उनी टीकापुरका लागि बाहिरका मान्छे थिए । उनी न्यायका लागि कही गएनन । चुपचाप कर्म गरिरहे । त्यो घट्नाले उनीभित्र ईख जन्माईदियो । उनले अझ बढि मिहिनेत गरे । त्यही ईखले टीकापुरमा केही फरक काम गर्नुपर्छ भन्ने उनीभित्र अठोट जगायो । त्यही अठोटले उनलाई टीकापुरकै ठूलो होटलको मालिक बन्ने सपना जगायो ।
उनले १६ लाखमा जमिन लिए । कतिपयले भने अव लक्ष्मण न्यौपाने डुब्छ । तर उनी अरुले गर्ने टिप्पणी र आलोचनाबाट बिचलित भएनन । उनले बस्,कर्म गरिरहे । कसले के भन्छन्, त्यसको वास्ता कहिल्यै गरेनन ।असफल हुने छुट उनलाई थिएन । भाग्न उनले सिकेकै थिएनन । समुन्द्र पार गर्न पौडिदै गर्दा मध्य भागमा पुगेर मान्छे थाके के गर्छ ? आशावादी मान्छे अगाडि बढ्छ । र, समुन्द्र पार गर्छ । निराशावादी मान्छे, मर्नुअघि नै हरेश खान्छ, र मृत्यु रोज्छ । तर उनी आशावादी थिए । त्यही आशाले उनीभित्रको हिम्मत टुट्न दिएन । र, उनी समुन्द्र पार गर्न सफल भए ।
२०६३ सालमा उनले टीकापुरमा सिद्धार्थ होटल सञ्चालनमा ल्याए । उनी त्यतिमै रोकिनेवाला थिएनन । त्यहीबीच नेपालगञ्ज पुगेका उनले २०५७ मा सिद्धार्थ सिद्धार्थ कटेज सञ्चालनमा ल्याए । २०६३ मा नेपालगञ्जमै सिद्धार्थ गेष्ट हाउस सञ्चालनमा ल्याएका न्यौपानेले २०६५ मा कारकादोमा सिद्धार्थ होटल सञ्चालनमा ल्याए । टीकापुरबाट शुरु गरेको होटल व्यवसायलाई उनले नेपालगञ्ज हुदै काठमाण्डौंसम्म फैलाए । काठमाण्डौंको सुन्धारामा उनले अर्को होटल सञ्चालनमा ल्याए । सेवामा उनी अब्बल थिए । खानामा उनले कहिल्यै गुनासो गर्ने मौका दिएनन । पाहुनासंग गरिने व्यवहार घरको जस्तै । अतिथिलाई त्यति भए के चाहियो ? अतिथि सत्कारबाट उनले नाम कमाए । र, नेपालमा होटल व्यवसायमा सिद्धार्थ एउटा ब्राण्ड बन्यो ।
अढाई दशकको अबधिमा न्यौपानले सिद्धार्थ होटल देशका बिभिन्न भागमा फैलाएका छन् । काठमाण्डौंमा मात्र उनका नौ वटा रेष्टुरेण्ट र होटल सञ्चालनमा छन् । कोभिडपछि होटल व्यवसाय थला प¥यो । त्यसपछि देशकै अर्थतन्त्र धराशायी हुदै गयो । तर उनको सोच र आत्मविश्वास भने अटल रह्यो । र त, यो कठिन घडिमा पनि उनी डगमगाएका छैनन । व्यवसायीलाई व्याज तिर्न समस्या छ । तर उनी नयाँ वर्षको अवसर पारेर आज (बैशाख १ गते) भैरहवामा साढे दुई अर्व रुपैया लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउदै छन् । यो उनको नेतृत्वमा सञ्चालन आउन लागेको पहिलो पाँच तारे होटल हो । र, यो वर्ष त्यो सहित चार वटा होटल सञ्चालनमा ल्याउदै छन् । यस वर्ष उनले सञ्चालन गर्ने होटल तथा रेष्टुरेण्टको संख्या ३२ पुग्दैछ । लमही र बिराटनगरमा पनि यसै महिनादेखि होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । सौराहामा यसै वर्ष अर्को होटल सञ्चालनमा ल्याउदै छन् । पोखरा र धनगढी अव उनको प्राथमिकतामा छ, भन्छन्, पोखरा र धनगढीमा होटल सञ्चालनमा ल्याएपछि देश बाहिर अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवसाय विस्तार गर्ने सोचमा छु ।
उनको कुशल नेतृत्वमा सिद्धार्थ बिजनस ग्रुप हस्पिटालिटी बिजनसमा देशकै सबैभन्दा ठूलो ग्रुप बनेको छ । ५० हजार रुपैयाबाट शुरु गरेको होटल व्यवसायमा यतिबेला अर्बौ रुपैया लगानी पुगिसकेको छ । एक जना कामदारबाट शुरु गरेको होटल व्यवसायमा यतिबेला एक हजार भन्दा बढिलाई रोजगारी दिएका छन् । त्यतिमात्र होईन, उनले कर्मचारीलाई समेत मालिक बनाउने अभियान थाले । होटल व्यवसायमा यस्तो उदाहरणीय कार्य गर्ने उनी अपवाद हुन् । उनले एक्लै शुरु गरेको होटल व्यवसायमा २०५७ सालतिर ज्वाईलाई जोडे । परिवारका सदस्यहरु त्योबीचमा उनीसंग जोडिईसकेका थिए । २०६१ सालमा साथीभाईलाई जोडे । र, २०६३ पछि उनले होटलका कर्मचारीहरुलाई पनि शेयर दिए । यस्तो अनुकरणीय कार्य गर्ने बिरलै व्यवसायीहरु छन् । यतिबेला उनको नेतृत्वमा सिद्धार्थ ग्रुपमा ८० जना जोडिएका छन् ।
होटल व्यवसायसंगै उनले गुल्मी र पाल्पामा कफि खेती शुरु गरेका छन् । होटल सेटअप र टे«डिङमा पनि हात हालेका उनको ट्राभल एजेन्सी पनि छ । आईटी र मोवाईल कम्पनीमा समेत उनको लगानी छ । उनी टीकापुर भनेपछि हुरुक्क हुन्छन । त्यो कर्मथलो, जसले उनलाई नाम दियो, पहिचान दियो । कसरी बिर्सन सक्छन् ? र त कुनै कार्यक्रम हुदा उनी टीकापुर पुगिहाल्छन । टीकापुर साहित्य महोत्सवमा उनलाई निमन्त्रणा गरियो । उनी अत्यन्त व्यस्त थिए । तर उनी सबै काम र व्यस्तताका बीच टीकापुर पुगे । त्यहाँ स्थानीय बासिन्दासंग आफ्नो संघर्षको कथा साटे । आरोह, अवरोह सुनाए ।
उनी दार्शनिक होईनन । तर अनुभव र संघर्षले खारिएका उनका कुराहरु दर्शन जस्ता लाग्छन । बेलाबखत उनलाई कलेजले बोलाउछ । विद्यार्थीहरु माझ आफ्ना अनुभव बाड्छन ।
आधा दुःखको कारण अपेक्षा हो । उनी भन्छन्, कसैसंग अपेक्षा नगर । त्यसले मान्छेलाई दुःखी बनाउछ ।
तपाई सयौँ राम्रा कामहरु गर्नुहोस । तर मान्छेहरु एउटा गल्तीको खोजीमा हुन्छन । र, त्यही गल्तीलाई समातेर लखेट्छन । उनी भन्छन्, त्यसैले गल्ती नगर्नुहोस । र, कसैलाई त्यो मौका नै नदिनुहोस । यो उनको सबैलाई सुझाव हो ।
उनी व्यवसायमा जति प्रतिबद्ध र इमान्दार छन् । आफ्नो दैनिकीमा त्यत्तिकै अनुशासित छन् । समयमा सुत्छन । समयमा उठ्छन । राति ढिलोमा १० बजेसम्म सुतिसक्छन । बिहान चार बजे उठ्छन । नित्यकर्म गर्छन । योगा गर्छन ।
घर पुगेपछि राति हतपती कसैको फोन उठाउदैनन । व्यवसाय र घरलाई अलग राख्छन । मान्छेहरु कार्यालय वा व्यवसायको तनाव घरमा लैजान्छन । र, त्यही तनावका कारण सुत्न सक्दैनन । उनी भने व्यवसायको तनाव घर लग्दैनन ।
अझ बियोगान्त र दुःखान्त अन्त्य भएका फिल्म उनी हेर्दैनन । फिल्म हेरेपछि खुशी मिलोस, भन्छन्, किन दुःखी हुने फिल्म हेर्नु ? सामान्य झै लाग्ने यी कुराहरु जीवनका लागि अत्यन्त उपयोगी नियमहरु हुन् ।
५० हजार रुपैयाबाट व्यवसाय शुरु गरेका न्यौपानेको स्वामित्वमा हाल ३२ वटा होटल र आधा दर्जनभन्दा बढि व्यवसायिक प्रतिष्ठान रहेका छन् । मान्छे किन असफल हुन्छ ? धैर्यताको कमि –उनले सटिक जवाफ दिए । सफलताका लागि के कुरा आवश्यक छ ? धैर्यता, लगनशिलता र ईमान्दारिता– उनले सफलताका तीन सुत्र सुनाए ।