Close This

प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता हुँदै, अरु के–के छन् कार्यक्रम ?

बिहीबार जेठ १८, २०८०/ Thursday 06-01-23
Paschim Today

काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ । औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीवार बिहान महात्मागान्धीको समाधिस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । 

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने अन्तक्र्रियालाई बिहीवार नै प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा बुधवार रात्रिभोज सहितको कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गरे । नेपाल र भारतबीच सदियौं पुरानो र जनस्तरको सम्बन्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि २ देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैंमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रशन्नता व्यक्त गरे । उनले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चिन समेत आग्रह गरे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधवार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका हुन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

बुधवारै साँझ प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका थिए । साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा समेत सहभागी थिए ।