Close This

दिल्लीका विद्यालयको अवलोकन गर्दै धनगढी उपमहानगरको टोली

अवलोकन भ्रमण टोलीमा विभिन्न विद्यालयका प्रधानाध्यापकसहित ३५ जनाकाे सहभागिता

शुक्रबार जेठ १९, २०८०/ Friday 06-02-23
Paschim Today

धनगढी, १९ जेठ । धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, कार्यपालिका र शिक्षा समितिका सदस्यहरूसहितको टोली विद्यालय अवलोकनका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेको छ । टोलीले पहिलो दिन यहाँका तीनवटा सामुदायिक विद्यालयको अवलोकन गरेको छ ।

No description available.

टोलीले सहिद हेमु कालाणी सर्वोदय बालविद्यालय, सोही विद्यालयभित्र छुट्टै सञ्चालन भइरहेको दिल्ली मोडल भर्चुअल स्कुल र गभर्मेन्ट ब्वाइज एसआर सेकेन्डरी स्कुलको अवलोकन गरेको छ। अवलोकन टोलीले यी विद्यालयमा भौतिक पूर्वाधारको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप, व्यवस्थापनलगायत विषयमा प्रधानाध्यापक र शिक्षकहरूसँग छलफलसमेत गरेको छ ।कक्षाकोठामा विद्यार्थीको भौतिक उपस्थितिविना दिल्ली मोडल भर्चुअल स्कुलले कसरी पठनपाठन गरिरहेको छ भनेर टोलीले विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुका साथै पठनपाठनका क्रममा अपनाउने गरिएको प्रविधिबारे पनि जानकारी लिएको छ ।

No description available.

यो विद्यालयमा पूर्णतया भर्चुअल माध्यमबाट पठनपाठन गर्ने गरिन्छ । विद्यार्थी आफूलाई फुर्सद भएको समयमा अनलाइनबाट कक्षा लिन सक्ने व्यवस्था गरिएको छ । दिल्ली मोडल भर्चुअल स्कुलका प्रधानाध्यापक बिके शर्माले विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीलाई लक्षित गरेर भर्चुअल माध्यमबाट पठनपाठन हुने गरेको बताए । पारिवारिक समस्या भएका, क्रिकेटलगायत खेलकुद एकेडेमीमा भर्ना भएर नियमित विद्यालय आउन नसक्ने बालबालिकाका लागि आफूलाई फुर्सद भएको जुनसुकै वेला पनि कक्षा लिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

No description available.

‘कुनै दिन भर्चुअल कक्षा छुटे बालबालिकाले आफूलाई फुर्सद भएको समयमा हेर्न सक्ने गरी भर्चुअल कक्षाको रेकर्ड सामग्री पनि अनलाइनमा राख्छौँ,’ प्रधानाध्यापक शर्माले भने, ‘हामी पठनपाठन मात्र गर्दैनौँ, विद्यार्थीलाई करिअर काउन्सिलिङ पनि गराउँछौँ ।’उपमहानगरको टोलीसँग छलफलका क्रममा गभर्मेन्ट ब्वाइज एसआर सेकेन्डरी स्कुलका सहायक प्रधानाध्यापक आरएम चित्रान्सीले विद्यार्थीको सर्वांगीण विकासलाई ध्यानमा राखेर वार्षिक रूपमा विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी दिए ।

No description available.

‘कुनै पनि कार्यक्रम दिगो विकास र विद्यार्थीको सर्वांगीण सामाजिक विकासलाई ध्यानमा राखेर सञ्चालन गर्छौँ । यस्ता नयाँ कार्यक्रम केही विद्यालयमा परीक्षणको रूपमा लागू हुन्छ र सफल देखिए सबै विद्यालयमा लागू गर्ने व्यवस्था दिल्लीमा छ ।’ उनले भने, ‘हामी पठनपाठनमा भन्दा विद्यार्थीको सिकाइमा जोड दिन्छौँ । पढेलेखेर विद्यार्थी केही बनोस् भन्नेमा केन्द्रित हुन्छौँ ।’ यहाँको सरकारले विद्यालयको अनुगमन र निरीक्षणलाई उच्च प्राथमिकता दिने गरेको उनले बताए ।

दिल्लीस्थित शिक्षा निर्देशनालयका डेलिगेसन कोअर्डिनेटर भावना सवनानीले चारवटा विषय पूर्वाधारमा रूपान्तरण, अभिभावकको सहयोग, पाठ्यक्रम परिवर्तन र शिक्षकको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिएर काम गरेपछि केही वर्षको अन्तरालमै दिल्लीका सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन आएको जानकारी दिइन् । उपमहानगरको टोलीसँगको अन्तरक्रियाका क्रममा उनले सरकारले सुरुमा सामुदायिक विद्यालयलाई निजी विद्यालयजस्तै सुविधासम्पन्न बनाउन भवनलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको बताइन् ।

‘सामुदायिक विद्यालयका भवनको अवस्था राम्रो थिएन । निजी विद्यालयको भवनसँग तुलना गरेर सामुदायिक विद्यालयका विद्यार्थीमा हीनताभाव नआओस् भनेर सरकारले सबैभन्दा पहिले सरकारी विद्यालय भवन र अरू पूर्वाधार सुविधासम्पन्न बनायो । विद्यालय सुधारमा अभिभावकको सहयोग लिन थाल्यो । हामीले हाम्रा पाठ्यक्रममा परिवर्तन गर्‍यौँ,’ उनले भनिन्, ‘पठनपाठनका नयाँनयाँ प्रविधि, ज्ञान, सीपको विकास र पेसागत क्षमता अभिवृद्धिका लागि यहाँको सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई सिंगापुर, क्यानडालगायत विकसित मुलुक भ्रमणको व्यवस्था गर्‍यो । विदेशको सिकाइ हाम्रा विद्यालयमा लागू गर्‍यौँ ।’ नयाँनयाँ प्रविधि, ज्ञान, सीपको आदानप्रदानका लागि दिल्ली सरकारले अहिले पनि शिक्षकहरूलाई बर्सेनि विदेश र अन्तरप्रदेश भ्रमण गराउने गरेको उनले जानकारी दिइन् ।

भारतको राजधानी दिल्लीमा अरबिन्द केजरीवालको सरकार आएपछि दशकयता सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन भएको छ । दिल्लीको शैक्षिक सुधार केजरीवाल मोडेलका रूपमा चर्चित छ । कक्षाकोठाको व्यवस्थापन, फर्निचर, स्मार्टबोर्ड, प्रयोगशाला, पुस्तकालय, स्विमिङपुल, खेलकुद सुविधा आदिले यहाँका विद्यालय सुसज्जित छन् । ट्याब, ल्यापटपसहित शैक्षिक सामग्री सरकारले उपलब्ध गराउँछ र निजी विद्यालयजत्तिकै सुविधा र गुणस्तर भएका सरकारी विद्यालयमा शिक्षा पूर्ण रूरुपमा निस्शुल्क छ ।

धनगढी उपमहानगरको शैक्षिक सुधारमा सहयोग पुगोस् भनेर नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई दिल्लीका विद्यालयको अवलोकनको व्यवस्था गरिएको उपमहानगरको शिक्षा महाशाखा उपसचिव प्रमुख नरेन्द्रबहादुर खातीले बताए । ‘यहाँको सिकाइबाट हाम्रा विद्यालयको शैक्षिक अवस्था सुधारमा मद्दत पुगोस् भन्ने उद्देश्यले हामी दिल्लीका विद्यालय अवलोकनमा आएका हौँ,’ महाशाखा प्रमुख खातीले भने, ‘उपमहानगरले नगरभित्रको समग्र शैक्षिक सुधारलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।’

धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा आएको अवलोकन भ्रमण टोलीमा विभिन्न विद्यालयका प्रधानाध्यापकसहित ३५ जना सहभागी छन् । अवलोकन टोलीमा सहभागी शिक्षकले दिल्लीका विद्यालय भ्रमणका क्रममा भएको सिकाइलाई व्यवहारमा लागू गरेर विद्यालय सुधारको प्रयास गरिने प्रतिबद्धता जनाएका छन् । नयाँ पत्रिका