Close This

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो

बुधबार जेठ २४, २०८०/ Wednesday 06-07-23
Paschim Today

काठमाडौं, २४ जेठ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरू विरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि चलेको थुकछेक बहसको क्रममा मंगलबार जाहेरीवाला र सरकारी वकिलको तर्फबाट बहस गरिएको थियो भने बुधबारदेखि प्रतिवादीको तर्फबाट बहस चल्नेछ ।

जाहेरीवालाहरूको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपीले नाम लिएकाहरूको पनि बयान लिन अदालतमा झिकाउन माग गरे । उनले  जिल्ला अदालत काठमाडौंमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिँदै आरोपितले बयानमा नाम लिएकाहरूलाई पनि अदालतमा झिकाउन माग गरेका थिए । जाहेरीवालाको तर्फबाट बहस गर्नेहरूले जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने स्थिति आउन दिन नहुने जिकिर गरेका थिए ।

प्रतिवादीहरू सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले पोलेका व्यक्तिहरूले उन्मुक्ति पाउन नहुने उनीहरूको जिकिर रहेको थियो । अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताए । त्यसै गरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै अधिवक्ता कट्टेलले उनकको समेत बयान लिनुपर्ने माग गरे ।

अडियोमा नाम जोडिएका, आरोपितहरूले पैसा बुझाएको भनी नाम पोलेकाको हकमा बयान हुनैपर्ने भन्दै अधिवक्ता कट्टेलले यो प्रकरणमा भएको प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठाए । उनले रकम लिएको आरोप खेपेका आरजु देउवा, मञ्जु खाँण, नैनकला थापा, प्रेम राईलगायतको बयान लिनैपर्ने माग गरे ।त्यसैगरी अधिवक्ता राधिका चौलागार्इं, भद्रप्रसाद नेपालले नक्कली शरणार्थी बनाएर ठगी गरेको घटना पुष्टि भइसकेको र पैसा उठाउनु नै अपराध रहेको तर्क गर्दै प्रतिवादीहरूलाई थुनामा राख्नुपर्ने बताए । मंगलबार सरकारी वकिलको कार्यालयको तर्फबाट आठ जनाले बहस गरेका थिए ।

उनीहरूले प्रतिवादीलाई थुनामा राख्नुपर्ने जिकिर गर्दै बाहिर राखेर अनुसन्धान अघि बढाउँदा प्रमाण नष्ट हुने सक्ने, जाहेरीवालाको जीउज्यानमा खतरा हुन सक्ने तर्क गरेका थिए । यसरी तर्क गर्नेहरूमा जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, जनक घिमिरे, सिताराम अर्याल रहेका छन् । त्यसै गरी सहायक न्याधिवक्ताहरू प्रकाश घिमिरे, सुरजबहादुर परियार, निर्मला मरासीनी, दिनेश भट्टराई र हिरालाल भोलले पनि बहस गरेका थिए ।