ओडिशा रेल दुर्घटना : स्थानीय सञ्चारमाध्यमद्वारा तीन जना नेपालीको मृत्यु भएको समाचार सार्वजनिक
एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार हुँदै, परिवारसँग भेट

ओडिशामा गत शुक्रबार भएको रेल दुर्घटनामा तीन जना नेपाली नागरिकको निधन भएको खुलेको छ । दुर्घटनामा एक जना भने घाइते भएका छन् । ओडिशा टिभीको रिपोर्टअनुसार अहिलेसम्म चारजना नेपाली नागरिक रेल दुर्घटनामा परेको खुलेको हो । त्यसमध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते अवस्थामा उपचाररत छन् ।
कटकको एससीबी मेडिकल कलेजमा १५ वर्षीय बालकको उपचार चलिरहेको छ । उनको नाम रामानन्द पासवान बताइएको छ । उनको खोजीमा पर्सा जिल्लाबाट आएका उनका बुवा हरि पासवानसँग रामानन्दको भेट भइसकेको टीभीले आफ्नो रिपोर्टमा जनाएको छ । रामानन्द आफ्ना अन्य तीनजना आफन्तहरूसँग कामको खोजीका लागि ओडिशा आएका थिए । उनको साथमा रहेका तीन जनाको निधन भएको रिपोर्टमा उल्लेख छ ।
दुर्घटनामा नेपालीको मृत्यु भएकोबारे स्वतन्त्र पुष्टि भने भइसकेको छैन । उनीहरू कोरोमंडल एक्सप्रेसबाट यात्रा गर्दै थिए । मृत्यु भएकाहरूको पहिचान भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
दिल्लीस्थित नेपाली दूतावासले मिडिया रिपोर्टबाट आएको जानकारीबारे विदेश मन्त्रालय तथा नेपाली समुदायसँग बुझ्ने प्रयास भइरकेको बताएको छ । ओडिशाको बालसोर जिल्लाको बाहानगा बजार रेल्वे स्टेसननजिक शुक्रबार बेलुका ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा तीनवटा रेल परेको हो । पहिलो एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किन पुगेको हो ।
यात्रुवाहक रेल कोरोमण्डल एक्सप्रेसको १२ वटा डिब्बा रेल्वे लिकबाट बाहरिएर पल्टिएको थिए। त्यही बेला अर्को रेल्वे लाइनबाट बेंगलुरुबाट आइरहेको अर्को रेल पहिला नै उछिट्टिएको रेलका डब्बासँग ठोक्किन पुगेको थियो । तेस्रो रेल यशवंतपुर–हावडा एक्सप्रेस हो । दुर्घटनापछि उक्त रेलको १७ वटा डिब्बा लिकबाट तल आएको हो । तीनवटा रेल ठोक्किएर भएको दुर्घटनामा २ सय ८८ जनाको निधन भएको छ भने सयौं घाइते छन् ।
तपाईको प्रतिक्रिया