Close This

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन सांसदहरूलाई एसएमएस

शुक्रबार जेठ २६, २०८०/ Friday 06-09-23
Paschim Today

धनगढी, २६ जेठ । कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न दबाब दिन सांसदहरूलाई एसएमएस पठाउन थालिएको छ । बजेट भाषण मार्फत गेटामा प्रतिष्ठान बनाउने उल्लेख गरिएसँगै त्यो क्षेत्रका स्थानीय आन्दोलित बनेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई एसएमएस पठाउन थालिएको हो । उनीहरूले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि भूमिका खोजेको, यो विषयमा तपाईले बोल्नुपर्ने लगायतका विषय उल्लेख गर्दै एसएमएस पठाउने गरेका छन् । 

सरकारले बजेट भाषण मार्फत गेटामा प्रतिष्ठान निर्माण गरेर १०० शय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेको छ । जबकि नीति तथा कार्यक्रममा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनिएको थियो । त्यसअघि २९ माघ २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

तर, बजेट भाषणमार्फत प्रतिष्ठान बनाउने घोषणा गरिएपछि त्यो क्षेत्रमा आन्दोलन चर्किएको हो । सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई एसएमएस पटाउँदै दबाब दिन थालेका हुन् । उनीहरूले ‘माननीय ज्यू नमस्कार । गेटा विश्वविद्यालय सुदूरपश्चिमको लाइफ लाइन हो । हामी सुदूरपश्चिम बासी तपाईको भूमिकाको खोजी गर्दैछौ ।’, ‘माननीय ज्यू नमस्कार, हामी गेटा विश्वविद्यालय प्रति तपाईको धारणा खोज्दै छौ । तपाई बोलेको, लेखेको र भूमिका निभाएको हेर्न मन छ ।’

लगायत विषय लेखेर एसएमएस पठाउन थालेका हुन् । उनीहरूले शेरबहादुर देउवा, आरजू राणा देउवा, रमेश लेखक, भानुभक्त जैशी, बद्री पाण्डे, प्रेम आले, शेरबहादुर कुँवर, एनपी साउद लगायतका सांसदहरूलाई एसएमएस पठाएका छन् । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय पुनर्स्थापना सङ्घर्ष समिति गठन गरेर आन्दोलन भइरहेको छ । सरकारलाई दबाब दिने उद्देश्यले उक्त क्षेत्रमा आन्दोलन चर्किँदै गएको छ ।

sms2

आन्दोलनकारीहरूले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखेका छन् । अत्तरियादेखि बाजागाजासहित आएका उनीहरुले गेटामा स्वास्थ्य विश्व विद्यालयको बोड राखेका हुन् । उनीहरुले बिहीबार अत्तरिया बजारसमेत बन्द गरिएका थिए । तीन दिनभित्रमा २९ माघ २०७९ मा मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य  विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनी गरेको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।

तीन दिनभित्रमा माग सम्बोधन नभएको खण्डमा चर्को आन्दोलन गर्ने र त्यसले निम्त्याउन खतराको जिम्मेवारी राज्यले लिनुपर्ने सघंर्ष समितिका सह–संयोजक आनन्द प्रसाद भट्टले बताए । गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा समेत तयार पारिसकेको छ । - रातोपाटी