Close This

ओडिशामा रेल दुर्घटना : एउटै शवमा तिन परिवारको दाबी

शुक्रबार जेठ २६, २०८०/ Friday 06-09-23
Paschim Today

एजेन्सी । भारतको ओडिशामा रेल दुर्घटना भएको आज ६ दिन भइसकेको छ । दुर्घटनाको ६ दिन भइसक्दा समेत कतिपय मानिसहरूले आफ्ना आफन्तको शव भेटेका छैनन् । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा क्षतविक्षत भएका शवहरू पहिचानमा समस्या भइरहेको छ ।

एउटै शवमा दुई र तीन पिरवारले दाबी गरिरहेका छन् । कतिपय घर पुर्‍याइसकेका शवहरूमा पनि अरुले दाबी गरेका छन् । पश्चिम बंगालका शिवनाथको छोरा विपुल तिरुपतिबाट बेंग्लौर आइरहेका थिए । जो दुर्घटनामा परे । आफ्नो छोराको फोटो टीभीमा देखेपछि उनी ओडिशा पुगे । तर, मुर्दाघर पुग्दा उनले आफ्नो छोराको शव भेटेनन् । सोधपुछ गर्दा उनको छोराको शव अरु नै कसैले लिइसकेको रहेछ । 

उक्त शव कसेले दाबी गरेपछि बिहार पठाइएको अधिकारीहरूले जानकारी दिएका थिए । यस्तो घटना उनी एक्लैको मात्रै होइन । अरु पनि धेरै आफन्त छन् जसले आफ्नाहरूको शव फेला पारिसकेका छैनन् । रेल दुर्घटनामा ज्यान गुमाएका एउटै शवमाथि दुईरतीन जनाले दाबी गरिरहेका घटनाहरू धेरै छन् । 

दुर्घटनामा ज्यान गुमाएका बिहारको मुजफ्फरपुर निवासी अखिलेश रायका बुवा दुर्घटनास्थल पुगे । तस्वीर देखाएर शव पनि पहिचान गरे । त्यही शवमा अरु तीन जनाको पनि दाबी थियो । यस्तै ४२ वर्षीय पुरुषको शव उनका भाइलाई दिइएको थियो । तर, पछि सोही शवमा पश्चिम बंगालको एक परिवारले दाबी गर्‍यो । बिहारका मोहम्मत इमामले आफ्नो दाइको शव फेला पारेका छैनन् ।

१२ वर्षीय भतिजको शव भने भेटिएको छ । तर, भतिजको शवमा अरुको पनि दाबी छ । शव पहिचानमा समस्या भएपछि अहिले भने डीएनए टेस्ट गरेर मात्रै शव दिने तयारी गरिएको छ । दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् ।  अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् ।