कैलालीको चुरे क्षेत्रमा अंग्रेजकालीन बंकर

सोमबार असार ११, २०८०/ Monday 06-26-23
Paschim Today

धनगढी, १२ असार ।
कैलालीको बुढीतोला-खानिडाँडा क्षेत्रमा अंग्रेजकालीन बंकर फेला परेको छ ।

अंग्रेजहरुका बिरुद्ध लड्न तथा सुरक्षाका लागि राणाकालीन समयमा तत्कालिन नेपाली फौजले बनाएको बंकरको अवशेष गोदावरी–४ नरुवामा फेला परेको छ ।

स्थानीय शेर बहादुर खत्रीले गोर्खाली फौजले देशको सीमा विस्तार तथा अंग्रेजसंगको लडाईका क्रममा चुरे पहाडमा बंकर निर्माण गरेको बताए ।

चट्टान र ढुंगा काटेर बनाईएको सुरुङ खानीडाँडा, बुढी तोला हुदै भीमदत्त राजमार्गसम्म देख्न पाईन्छ । कतिपय स्थानमा भने ढुंगाको पर्खाल बनाईएको खत्रीले बताए ।

स्थानीय बासिन्दाहरु चुरेको पहाडबाट तराईबाट उक्लिने दुश्मनको फौज सहजै देख्न सकिने र सोही आधारमा दुश्मनमाथि आक्रमणका लागि पूर्व तयारी गर्न सहज हुने भएकोले तत्कालिन गोर्खाली फौजले चुरे पहाडमा सुरुङ तथा बंकर बनाएको बताउछन् ।

सेनाको नक्सामा समेत चुरे क्षेत्रको बंकर र नरुवाको तलाउ देखिने स्थानीय बासिन्दाहरुको दावी छ ।

स्थानीय बासिन्दाहरु चुरे क्षेत्रका बिभिन्न भागमा गोर्खाली फौजको सेल्टर रहेको बताउछन् । जसका अवशेषहरु अझै पनि चुरे क्षेत्रमा रहेका छन् । अंग्रेजसंग सुगौली सन्धी भएपछि चुरेबाट गोर्खाली फौज हटेको स्थानीय बासिन्दाहरु बताउछन् ।