जहाज खरिद गर्नुमा मेराे निजी स्वार्थ छैन, राष्ट्रिय आवश्यकता हो : मन्त्री किराती

काठमाडौं, २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको जिकिर गरेको छ । बिहीवार राष्ट्रियसभा बैठकमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको पनि बताए ।
उनले दुर्गम क्षेत्रमा विमानस्थलहरू बने पनि त्यस क्षेत्रमा उड्ने हवाईजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको मन्त्री किरातीको भनाइ छ । उनले बताए दुर्गम क्षेत्रमा सङ्ख्यात्मक हिसाबले धेरै विमानस्थल निर्माण भएका छन् ।
तर त्यस क्षेत्रमा उड्ने हवाईजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो । त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन । यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायु सेवा निगमले तीन वटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो ।
आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढङ्गले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन दिइसकेको छु ।’ मन्त्री किरातीले देशका विभिन्न ठाउँमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको सङ्ख्या थप्नेभन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया