Close This

विदेशीको हकमा तोकिएको चर्को भाडा कम गर्न मन्त्री किराँतीसंग आग्रह

आइतबार श्रावण १४, २०८०/ Sunday 07-30-23
Paschim Today

काठमाण्डौं, १४ साउन ।
सुदूर पश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री रमेश धामीले निजी हवाई कम्पनीहरुले विदेशी पर्यटकहरुको हकमा लगाउदै आएको भाडा दर घटाउन संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसंग आग्रह गरेका छन् ।

उनले नेपालीको तुलनामा विदेशीहरुले चार गुणा बढि भाडा तिर्नु पर्ने निजी हवाई कम्पनीको नीतिले सुदूर पश्चिममा विदेशी पर्यटकहरु नआएको भन्दै तत्काल भाडा दर समायोजनका लागि पहल गर्न पर्यटन मन्त्री किराँतीसंग आग्रह गरे ।

गेटा बिमानस्थलको स्तरोन्नती र गेटाबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साप्ताहिक रुपमा नेपाल वायु सेवा निगमले हवाई सेवा सञ्चालन गर्नुपर्ने मन्त्रीको धामीको माग छ ।

मन्त्री धामीद्धारा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाईएको नौ बूँदे माग पत्रमा सुदूर पश्चिममा नाथनको प्रदेश कार्यालय स्थापना गर्न र पर्यटन प्रबद्र्धनका लागि आवश्यक पर्ने सम्पूर्ण तालिमहरु सुदूर पश्चिममा सञ्चालन गर्न आग्रह गरिएको छ ।

मन्त्री धामीले साहसिक पर्यटनका रुपमा चिनिने प्याराग्लाईडिङ, बञ्जी जम्प, जीप लाईनको अनमुती प्रदेश सरकारलाई दिनु पर्ने माग गरेका छन् ।

पर्यटकहरु बोक्ने हरियो नम्बर प्लेटको सवारी साधनलाई प्रदेश पर्यटन मन्त्रालयले यातायात कार्यालयसंग समन्वय गरी दर्ता अनुमती दिने अधिकार समेत धामीले मागेका छन् ।

मन्त्री धामीले सुदूर पश्चिमका पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको संरक्षण र प्रबद्र्धनका लागि आवश्यक बजेट बिनियोजन गर्न समेत पर्यटन मन्त्री किराँतीसंग आग्रह गरे ।

मन्त्री किराँतीले सुदूर पश्चिम प्रदेश सरकारका तर्फबाट मन्त्री धामीले प्रस्तुत गरेका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।