जव अवतरण गर्न नसकेर श्री एयरको जहाज धनगढीबाट फर्कियो.....
खेमराज उपाध्याय
धनगढी, २५ साउन ।
काठमाण्डौंबाट मंगलवार साँझ ६ : १५ बजे धनगढीका लागि उडेको श्रीएयर लाईन्सको जहाज धनगढी बिमानस्थलमा अवतरण गर्न लागेको सूचना एयर होस्टेजले सुनाउदा सबै यात्रुहरु खुशी भए । तर जव धनगढी बिमानस्थलको आकाशबाट बिमान उचाई लिएर मोडियो, तव भने यात्रुहरुको रुवावासी भयो ।
श्रीएयरको जहाज धनगढी बिमानस्थलको आकाशमाथि पुग्दा सात बजिसकेको थियो । यात्रुहरु ढुक्क थिए, सकुशल अवतरण गर्न पाईनेमा ।
तर अवतरण गर्नै लागेको जहाज जव धावनमार्ग नछुदै फर्कियो, यात्रुहरुको सातो गयो । मौसम अत्यन्त खराव भईसकेको थियो । मुसलधारे वर्षासंगै, हावाहुरी र चट्याङ परिरहेको थियो ।
धनगढीबाट फर्र्किएको जहाज नेपालगञ्ज बिमानस्थल तर्फ सोझियो । तर नेपालगञ्जमा पनि जहाज अवतरण गर्न सकेन । धनगढीमा अवतरण गर्न नसकेर फर्किएपछि होहल्ला, रुवावासी गर्न थालेका यात्रुहरु त्यतिबेला निराश भए, जव जहाज नेपालगञ्ज बिमानस्थलमा समेत अवतरण गर्न सकेन । डेढघण्टादेखि आकाशमा रहेकका यात्रुहरुका मनमा अर्को भय थियो, जहाजको ईन्धन सकिए के होला ? एक जना यात्रु भन्छन्, नेपालगञ्जमा पनि जहाज अवतरण गर्न नसकेपछि अब बाँचिदैन कि भन्ने चिन्ता भयो । फेरि पनि आफूलाई सम्हाले । मनभित्र डर थियो । तर अरुलाई सम्झाउन थाले ।
जहाजमा सुदूर पश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली, रोटरी क्लव अफ धनगढीका अध्यक्ष प्रकाश भट्ट, पूर्व अध्यक्ष हरिशंकर ठाकुर लगायत थिए । केहीबेर त जहाज पिङ हल्लिए झै हल्लियो, एक जना यात्रुले भने, जहाजमा कति पटक यात्रा गरे । यस्तो त्रासदी कहिल्यै भएन ।
हामी सबै निरुपाय थियौ । हाम्रो बशमा त सुरक्षाको कामना गर्नु बाहेक अर्को उपाय थिएन, अर्का एक यात्रुहरुले आफ्नो त्यतिबेलाको मनोदशा सुनाउदै भने, सायद बाँच्नु नै यति लेखेको रहेछ ।
नेपालगञ्जबाट बिमान भैरहवा तर्फ सोझियो । र, मुस्किलले जहाज भैरहवामा अवतरण गर्यो । भैरहवामा जहाज अवतरण गर्दा नौ बजिसकेको थियो । यात्रुहरु रोईरहेका थिए, बाँचेको खुशीमा । यात्रुहरुले कराउन र हल्ला गर्न बन्द गरेका थिएनन । यात्रुहरुको ठूलो संख्या जहाजमा नचढ्ने भन्दै कराए । उनीहरुले आफूहरुलाई झार्न आग्रह गरिरहेका थिए । यात्रुको एक हुल जहाजबाट झरेर बाहिरियो । उनीहरुले आफ्नो लगेज झिके । उनीहरु बसमा जान तयार थिए । तर जहाज चढ्न तयार भएनन ।
राति साढे नौ बजे आधा यात्रु लिएर श्रीएयरको जहाज काठमाण्डौं फर्कियो । र, काठमाण्डौं बिमानस्थल पुग्दा १० बजिसकेको थियो ।
६ बजे काठमाण्डौंबाट धनगढीका लागि यात्रुहरु मध्ये आधा यात्रु राति १० बजे पुनः काठमाण्डौं फिर्ता भए । आधा यात्रु भने भैरहवाबाट गाडीमा चढेर धनगढी जाने भन्दै जहाजबाट झरे ।
एक जना यात्रुले सुनाए, जिन्दगीमा अव कहिल्यै जहाजमा नउड्ने सोचेको थिए । तर भोलिपल्ट बिहान त्यही जहाजमा उही टिकटमा धनगढी आए । अरु उपाय नहुदा जहाजमै फर्किए । उनीसंगै अरु यात्रुहरु पनि भोलि पल्ट बिहान धनगढी आएका थिए ।
तपाईको प्रतिक्रिया