बाङ्लादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत

शुक्रबार भदौ १, २०८०/ Friday 08-18-23
Paschim Today

काठमाडौं, १ भदौ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बाङ्लादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजाले स्वागत गरिएको छ। शुक्रबार बाङ्लादेश एअरलाइन्सबाट काठमाडौं ओर्लिएका १४५ पर्यटकलाई स्वागत गरिएको हो। उनीहरूलाई पञ्चेबाजा सहित पर्यटन व्यवसायीले स्वागत गरेका हुन्।

आजै साँझ हिमालय एअरलाइन्सबाट थप बाङ्लादेशी पर्यटक नेपाल आउँदै छन्। आज र भोलि गरेर ७०० पर्यटक नेपाल आउने बाङ्लादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’ को जिम्मा लिएको सम्राट टूर एन्ड ट्राभल्स प्रालिले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेका अनुसार बाङ्लादेशबाट उडान मार्फत नेपाल आउन लागेको पर्यटकको टोली अहिलेसम्मकै ठूलो हो।

बाङ्लादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टूर मार्फत उनीहरू नेपाल भ्रमणमा आएका हुन्। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो संख्यामा नेपाल भित्रिने बाङ्लादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षित गर्न मद्दत पुग्ने बताए।