Close This

जहाज चार्टर गरेर आए २ सयभन्दा बढी बंगलादेशी पर्यटक

शनिबार भदौ २, २०८०/ Saturday 08-19-23
Paschim Today

काठमाडौं, २ भदौ । दुई सयभन्दा बढी बंगलादेशी पर्यटकहरू चार्टर जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार दिउँसो २ सयभन्दा बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।

बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चेबाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बंगलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ । पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुगेका नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थापाले बंगलादेशबाट बिदा मनाउनका लागि नेपाल आएको बताए । उनले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको बताए ।

बंगलादेशी पर्यटक शेख अजरफ उद्दीनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताए । उनले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको बताए । ‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ,’ उनले भने ।