ओमप्रकाश अग्रवाल : शून्यदेखि शिखरसम्म
ओम प्रकाश अग्रवाल झापाबाट आफ्ना पितासंगै ३० को दशकमा धनगढी आए । उनका पिताले यहीको माटोमा प्राण त्यागे । पिता लादुरामले चियापत्तीबाट शुरु गरेको व्यवसायलाई उनले गल्ला, खाद्यान्न, मैदा, तेलमा फैलाए । उनका छोराले दाना उद्योग थपे । भतिजाले बिस्कुट उद्योग थपे । ओम प्रकाशको चौथौ पुस्ता (नातिनातिना) यहीको माटोमा हुर्किरहेका छन् । उनले जे जति जोडे । जति कमाए । यही लगानी गरे । यहीका मान्छेलाई रोजगारी दिए । जानु पनि कही छैन । मरी लानु पनि केही छैन । जे जति जोडे, त्यो यही धनगढीमा रहनेछ ।
२०६३ सालमा धनगढीमा नेपाल जेसिजको राष्ट्रिय सम्मेलन आयोजना गर्ने तय भयो । सम्मेलनमा देशभरीबाट जेसिजका १२०० भन्दा बढि प्रतिनिधि सहभागी हुने अनुमान गरिएको थियो । कैलाली बहुमुखी क्याम्पसका तत्कालिन प्रमुख प्रा.डा. हेमराज पन्तको नेतृत्वमा जेसिजको टोली सम्मेलनका लागि चन्दा उठाउन हिड्यो ।
सोही क्रममा उद्योगी ओम प्रकाश अग्रवालको क्याम्पस रोडस्थित गल्ला भण्डारमा पुगेका पन्तले आग्रह गर्दै आफूहरु आउनुको कारण सुनाउदै भने, आर्थिक अभावले सम्मेलन आयोजना गर्न कठिनाई भयो । तपाईबाट सहयोगको अपेक्षा गरेर आएका हौ । पन्तलाई कुनै प्रश्न नगरी अग्रवालले आफ्नो चेकबुक दिदै भने, कति रकम आवश्यक पर्छ, यसमा लेख्नुहोस ।
पन्त त्यो क्षण अझै बिर्सिएका छैनन । उनी सुनाउछन्, हामीलाई एक छाक खानाका लागि एक लाख पाँच हजार रुपैया आवश्यक थियो । त्यति ठूलो रकम हामीले उहाँ एक्लैसंग अपेक्षा गरेका थिएनौ । तर उनले केही नसोची एकै क्षणमा भने बमोजिमको रकम भोलिपल्ट बिहान पु¥याईदिने प्रतिबद्धता गरे । नभन्दै भोलि पल्ट बिहान उहाँको कर्मचारी एक लाख रुपैयाको चेक लिएर आईपुगे ।
धन त अरुसंग पनि छ । डा. पन्त भन्छन्, धनगढीमा सामाजिक कार्यमा यसरी खुलेर अहिलेसम्म कसैले सहयोग गरेको छैन ।
२०४० सालमा धनगढी डुवानमा प¥यो । डुवानबाट विस्थापित भएका थुप्रै परिवारलाई छाक टार्न समस्या भयो । नेपाल रेडक्रस सोसाईटी कैलालीका तत्कालिन सभापति शिवदत्त जोशीको नेतृत्वको टोलीले लादुराम अग्रवाल कहाँ पुगेर सहयोगको आग्रह ग¥यो । शिवदत्त जोशी अहिले पनि सम्झिन्छन्, आफ्नो गोदाम खोलेर लादुरामले भने–जति आवश्यक पर्छ लैजानुहोस । भोकले कोही नमरुन ।
भर्खरै व्यवसाय शुरु गरेका लादुरामको आर्थिक अवस्था त्यति मजबुद पनि थिएन कि उनी आफ्नो गोदाम खोलेर भए भरको अनाज बाढी पीडितलाई बाड्ने सामथ्र्य राखुन । तर उनले भनेछन्, बाँचे फेरि जोडौला । लादुराम बितेको वर्षौ भयो । त्यो सम्झना र त्यो पल भने शिवदत्त जोशीका मस्तिष्कमा अझै ताजै छ ।
ओमप्रकाश अग्रवाल तिनै लादुरामका सन्तान हुन् । जसले आपत बिपतमा परेकाहरुलाई खुलेर सहयोग गर्छन । कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीका लागि पिउने पानीको व्यवस्था उनैले गरेका हुन् । गोदावरीको ओलानीमा निर्माण भईरहेको खानेपानी आयोजना निर्माणमा पनि उनले १० लाख रुपैया सहयोग गरे । त्यसको शिलन्यासका क्रममा उनले गोदावारीका जनता माझ भने, पैसाको कमिले यो आयोजना रोकिन दिने छैन । जति कम पर्छ मलाई भन्नुहोला ।
एसओएस बालग्रामको कार्यक्रममा उनी नबिराई जान्छन । पछिल्लो पटक अन्तर्राष्ट्रिय एसओएस दिवसको निमन्त्रणामा उनी गेटास्थित एसओस बालग्राम पुगे । सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । उनको ध्यान भने सभाहलको भित्तामा पुग्यो । त्यहाँ एसी थिएन । बालबालिकाहरु गर्मीमा असिनपसिन थिए । त्यसका बाबजुद पनि उनीहरुको नृत्य र गायन रोकिएको थिएन । उनले कार्यक्रम सकिएपछि बालग्रामका योजना निर्देशकलाई सोधे, हलमा एसी किन छैन ? आर्थिक अभावका कारण एसी जडान गर्न नसकिएको हमालले सुनाए । उनले अलिकति पनि नसोचेर भनिहाले, कति वटा एसी चाहिन्छ । म जडान गरिदिन्छु । त्यसको केहीदिनपछि उनले झण्डै १० लाख रुपैया बराबरको एसी जडान गरिदिए ।
सपना त्यो होईन, जो सुतेपछि देखिन्छ, सपना त्यो हो, जसले तपाईलाई सुत्न दिदैन, भारतका पूर्व राष्ट्रपति स्व.एपिजे अब्दुल कलामले भनेको यही उदगार उनको जीवनमा लागु हुन्छ । उनले सुतेर सपना देखेनन । उनी त हरेक सपना पुरा गर्न कैयौ रात सुतेनन । दिनरात काम गरिरहे । उनको सफलताको सुत्र यही हो । काम । काम । अनि काम । न उनी कामबाट भागे । न त कामबाट थाके । त्यही अनवरत संघर्ष र कडा परिश्रमले उनी शुन्यबाट सफलताको शिखरमा पुगे । मजदुरबाट अर्वपति भए ।
वि.स.२००९ सालमा झापाको कुमरखोरमा जन्मेका उनी लादुराम र आमा सितादेवी अग्रवालका जेठा सन्तान थिए । उनीपछि ११ जना भाईबहिनी थिए । जसमध्ये दुई भाई एक बहिनीको सानैमा निधन भयो । तीन भाई ३५, ४२ र ५२ वर्षको उमेरमा बिते । उनका बुवाको कपडा र किरानाको व्यापार थियो । व्यापारमा घाटा भयो । व्यापारका लागि लिएको ऋण सापटी चुक्ता गर्न नसकेपछि सबै घरजग्गा सम्पत्ती साहुमहाजनलाई बुझाएर उनका बुवा २०३५ सालमा चुपचाप झापाबाट धनगढी पुगे । त्यसको दुई वर्षपछि ओमप्रकाश अग्रवाल धनगढी पुगे ।
धनगढीमा चिनेजानेका कोही थिएनन । झापा छाडेर आएपछि व्यापार गर्नलाई उनका बुवासंग पैसा थिएन । त्यहिबेला उनको बुवाको भेट जयप्रकाश मोहपालसंग भयो । जो झापाबाट आएर धनगढीमा व्यापार गरिरहेका थिए । मोहपालले ६ महिना उनका वुवालाई आश्रय दिए । र दिए नयाँ व्यापार गर्ने सल्लाह । मोहपालकै सल्लाहमा उनका बुवाले झापाबाट चियापत्ति ल्याएर धनगढीमा व्यापार शुरु गरे ।
घरका सबै सदस्यहरु रातभरी चियापत्ती प्याक गर्थे । र उनका बुवा र उनी दिनभरी बेच्थे । यसरी केही महिना बिताए । जव ओमप्रकाश अग्रवालको भेट सुनिल भण्डारीसंग भयो । त्यही दिन उनको जिन्दगीले नयाँ मोड लियो । नेपाली काँग्रेसका नेता भण्डारीको राईस मिल थियो । जस्को नाम उनले आफ्नी पत्नी चम्पाका नामबाट राखेका थिए । ऋण लिएर मिल त शुरु गरे । तर भण्डारीसंग त्यसको अनुभव थिएन । उनी परे राजनीतिकर्मी । भण्डारी मिल चलाउन नसकेर दुःखी थिए । ओमप्रकाश अग्रवाल भने पैसा नभएर दुःखी । मिल चलाउन नसक्दा त्यसको ऋणको व्याज बढेको बढ्यै थियो । फरक फरक पृष्ठभूमिका भएपनि भण्डारी र ओमप्रकाशबीच मिल चलाउने कुरामा सहमती भयो । दुबै मिलेर मिल चलाउन थाले ।
चियापत्तीको व्यापार छोडेर ओमप्रकाशले शुरु गरे, खाद्य उद्योग । उनी रातदिन काम गर्थे । धानको पल्लेदार नहुदा बोरा आफै बोक्थे । आफै पल्लेदार । आफै मालिक ।
२०३८ सालमा उनले चम्पा राईस मिल चलाउन शुरु गरे । केही वर्ष उनले साझेदारीमा चलाए । र पछि भाडामा लिएर एक्लै चलाए । यसरी उनले ३४ वर्ष चम्पा राईस मिल चलाए । उनले तीन वर्षअघि त्यो मिल छाडे । र यो अबधिमा आफ्नै उद्योगहरु स्थापना गरे । सुनिल भण्डारीको साथ उनलाई फाप्यो । भण्डारीको साथ पाएपछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन त्यसैले उनी निसंकोच भन्छन्, म आज जहाँ छु, त्यो सुनिल भण्डारीकै साथ र सहयोगको प्रतिफल हो । र त उनी भण्डारीलाई आफ्नो आदर्श मान्छन ।
परिस्थिति जति सुकै प्रतिकुल भएपनि उनी बिचलित भएनन । थाकेनन । र भएनन, कहिले निराश । र उनले समस्यासंग कहिल्यै हार मानेनन । सधै संघर्ष गरे ।
उनको प्रगती मात्र देखेका तर उनको संघर्ष थाह नपाएकाहरुलाई लाग्न सक्छ, उनले जन्मिदै बैभव प्राप्त गरेका थिए । तर सत्य फरक छ । ९/१० दिनसम्म रोटी खान नपाएर खाली पेट भोक सुतेको उनी अझै बिर्सेका छैनन । बिर्सेका छैनन, त्यो बोराको भारी । त्यो पल्लेदारी ।
ओमप्रकाशका तीन परिचय
उनका तीन परिचय छन् । पहिलो व्यापारी । जो आफ्नो व्यापारमा दत्तचित्त भएर लागेको हुन्छ, हरपल । गल्ला (खाद्यान्न)को भाउ सोध्ने आउने जो कोहीलाई सहजै जवाफ दिन्छन । उनलाई भाउ सोधेपछि किसान ढुक्क भएर बेच्छ । यो उनले कमाएको ग्राहकको विश्वास हो । उनकै अगुवाई र अभिभावकत्वमा अग्रवाल परिवार सुदूर पश्चिम प्रदेशकै सबैभन्दा ठूलो व्यापारिक घराना भएको छ । उनी र उनका भाई राजेन्द्र अग्रवालले सञ्चालन गरेको उद्योग र व्यापारमा जति व्यक्तिले रोजगारी पाएका छन् । त्यति ठूलो संख्यामा अन्य व्यापारिक घरानाले रोजगारी दिन सकेको छैन । र उनी सुदूर पश्चिम प्रदेशमा सबैभन्दा बढि मूल्य अभिबृद्धि कर र आयकर बुझाउने उद्योगी समेत हुन् ।
उनको दोस्रो परिचय हो, अग्रवाल परिवारको अभिभावक । उनले नै आमाबुवाको निधनपछि भाई,बहिनीहरुलाई हुर्काए । उनीहरुको बिहा गरे । भाईहरुलाई व्यापार सिकाए । आफ्ना पाँच सन्तानको पालन पोषण गरे । उनीहरुलाई पढाए । छोराहरु मनोज र रोशनलाई आफ्नै मार्गमा चल्न सिकाए । उनी भ्याएसम्म बहिनी र छोरीहरुको घरमा कुनै धार्मिक कामकाज हुदा वा अप्ठ्यारो पर्दा अहिले पनि पुग्न चुक्दैनन ।
उनको तेस्रो परिचय हो, सामाजिक व्यक्तित्व । उनी दानधर्ममा कञ्जुस्याई गर्दैनन । बाँडेर कोही रित्तिदैन, यसमा उनको विश्वास छ । उनी समस्या लिएर आउने कसैलाई खाली हात फर्काउदैनन । सामाजिक कार्यमा सहयोग गर्न कहिल्यै पछि हट्दैनन । कुनै धार्मिक तथा सामाजिक संघसंस्थाको निम्ता आए व्यस्तताका बीच पनि उनी जान छुटाउदैनन । उनलाई धम्क्याएर वा तर्साएर कसैले चन्दा वा पैसा माग्न खोज्छ, त्यस्ताका लागि त उनी भन्दा कठोर अर्को कोही छैन । उनी जस्तालाई त्यस्तै व्यवहार गर्छन । नरम हुनेसंग नरम हुन्छन । कठोरसंग कठोर । चिनजानेका साथीभाई,व्यापारी र आफन्त कहाँ केही धार्मिक कामकाज हुदा वा कोही मर्दा पर्दा आफै पुग्छन ।
उनी किसानसंग हरपल सोझो सम्पर्कमा रहन्छन । धनगढीको क्याम्पस रोडस्थित उनको घरसंगै जोडिएको व्यापारिक फर्मको ढोका खुला रहन्छ । ढोकाको अघिल्तिर हट सिट छ । बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म अधिकांश समय त्यही हटसीटमा हुन्छन । जहाँ बसेर उनी खाद्यान्नको भाउ तय गर्छन । टेबलमा टेलिफोन छ । जो पुरा घण्टी बज्न नपाउदै उठाईहाल्छन । र उनी झर्को नमानी हरेक ग्राहकलाई टेलिफोनबाटै जवाफ दिन्छन ।
उनीसंग कुनै विश्वविद्यालयको डिग्री छैन । तर व्यापारी तथा उद्योगीहरुका लागि उनी आफैमा विश्वविद्यालय हुन् । उनको अनुभव, उनको संघर्ष र उनको सफलता विश्व विद्यालयको डिग्रीभन्दा धेरै माथि छ । उनले गणित पढेका छैनन । तर उनलाई हिसाव गर्न क्यालकुलेटर चाहिदैन । उनी करोडौको हिसाव मुखैले गर्छन । उनले टेलिफोन नम्बर हेर्न डायरी पल्टाउन पदैन । २० हजारभन्दा बढि टेलिफोन नम्बर उनलाई कण्ठस्थ छ ।
उनी कृषि बीज्ञ होईन । सुदूर पश्चिम प्रदेशका हरेक वस्तुको उत्पादनको अवस्था उनी एक सासमा भन्न सक्छन । उनकै शब्दमा, सुदूर पश्चिम प्रदेशमा १७ लाख क्विन्टल धानको खपत छ । तर उत्पादन भने १० लाख क्वीन्टल मात्र हुने गरेको छ । आवश्यकता भन्दा ७ क्वीन्टल धान कम उत्पादन हुने गरेको छ ।
१२ घण्टा काम
सरकारी जागीरेहरु ६० वर्षको उमेरपछि अवकाश लिएर आरामको जिन्दगी बिताउछन । उनी भने ७१ वर्षको उमेरमा पनि व्यवसायमा उत्तिकै सक्रिय छन् । दैनिक झण्डै १२ घण्टा काम गर्छन । र उनको संघर्ष अहिले पनि जारी छ । उनी बिहान ५ बजे उठछन् । एक घण्टा मोर्निङ वाकमा निस्किन्छन । नित्यकर्म सकेर ९ बजे उनी हट सिटमा बस्छन । र शुरु हुन्छ, उनको दिनचर्या । हटसिटमा बस्नुअघि उनी नेपालदेखि लण्डनसम्मको नुनदेखि सुनसम्म भाउ अपडेट भईसकेका हुन्छन । र त अरु खाद्यान्न व्यवसायी उनलाई सोधेर भाउ तय गर्छन ।
उनी बिहान ९ बजेदेखि राति ८ बजेसम्म व्यापारमा व्यस्त रहन्छन । यो बीचमा उनी दिउसो तीन बजेदेखि चार बजेसम्म सुत्छन । र फेरि कर्ममा फर्कन्छन । दिउसो र साँझ गरी दुई पटक आफ्ना सबै उद्योग पुग्छन । त्यहाँको अवस्था बारे जानकारी लिन्छन । बिहान खाना खान्छन । उनले रातिको खाना नखाएको २५ वर्ष भयो ।
सफल उद्योगी, कुशल अभिभावक
उनी सफल उद्योगी मात्र होईनन, कुशल अभिभावक पनि हुन् । उनकी आमा सीतादेवीको मृत्यु २०३८ सालमै भयो । बुवा लादुराम २०५२ सालमा बिते । आमा पाँच छोरी छोडेर बितेकी थिईन । उनले कहिले बहिनीहरुलाई आमाको अभाव हुन दिएनन । सबै बहिनीहरुको बिबाह गरे । बुवाआमाको मृत्युपछि सबै भाई बहिनीको अभिभावकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । जसमा उनकी पत्नी सरलादेवीले साथ दिईन ।
झापाकी सरलादेवीसंग वि.स.२०४२ सालमा उनको बिहा भएको थियो । सरलादेवी उनकी पत्नी मात्र होईनन । उनको दुःखसुखको साथी हुन् । उनी ओमप्रकाश अग्रवालको जीवनका हरेक उतार चढाव र सफलताको सहयात्री हुन ।
नङ र मासुको जस्तो सम्बन्ध छ, ओमप्रकाश र सरलादेवीको । उनलाई छायाजस्तै पछ्याएकी छन्, सरलादेवीले । जीवनमा जति जटिल समस्या आएपनि पत्नी सरलादेवीको साथले ती सबै समस्या सरलै समाधान भएको ठान्छन्,उनी ।
सन्तानलाई भन्दा बढि आफ्ना भाई बहिनीहरुको स्याहार र हेरचाह गरेकामा उनी पत्नी सरलाप्रति अनुग्रहित छन् । उनले आफ्ना पाँच सन्तानलाई मात्र पढाएर हुर्काएनन । भाईहरुलाई पनि हुर्काए । व्यापारमा लगाए ।
व्यक्तिगत आकांक्षा उनी भित्र पनि थियो होला । अभिभावकीय भूमिकामा उनले आफ्ना सबै चाहना र आकांक्षाहरुलाई दवाएर राखिन । र उनले कहिले गुनासो गरिनन । बाडिरहिन, मातृत्व र स्नेह । उनका पनि चाहना थिए होलान, ओमप्रकाश अग्रवाल भन्छन्, न उनले कहिले अपेक्षा गरिन कहिले । न त कहिले गुनासो गरिन ।
न उनलाई बाहिर कहिल्यै घुमाउन लगे । न उनलाई कहिले फिल्म देखाउन लगे, उनी आफ्नी पत्नी सरलाको सरलताको बयान गरेर थाक्दैनन । भन्छन्, उनी कुशल पत्नी मात्र होईन । कुशल आमा पनि हुन् । कुशल अभिभावक पनि हुन् ।
ओमप्रकाश अग्रवालका एक भाई शारिरिक रुपमा कमजोर थिए । जो केही वर्षअघि बिते । तिनलाई २५ वर्ष उनकी पत्नी सरलाले आफ्नै सन्तानसंगै स्याहार गरिन । उनको स्याहारमा कहिकतै कमि हुन दिईनन ।
भनिन्छ, हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ । ओमप्रकाश अग्रवाल निसंकोच भन्छन्, मेरो सफलतामा पत्नी सरलताको योगदान ९० प्रतिशत छ । बाँकी १० प्रतिशत मेरो संघर्ष र हिम्मत ।
सरलाले घरपरिवारको हेरेकै कारण मैले व्यापारमा ध्यान दिन पाए,उनी भन्छन्, त्यही कारण म सफल भए ।
दानवीर मारवाडी
उनी बाहिरबाट हेर्दा जति कडा देखिन्छन् । उनी त्यतिकै भावुक र नरम पनि छन् । अतितको संघर्ष, पीडादायी क्षणहरु सम्झिदा उनी भावविह्वल हुन्छन । उनी आँशु थाम्न सक्दैनन । उनी अरुका पीडामा पनि भावुक लाई कसैले मारवाडी मात्र ठान्छन । उनी कहाँ लिएर आउनेलाई खाली हात फिर्ता पठाउदैनन ।
उनी ओम शान्ति जान्थे । एक तलाको मात्र भवन थियो । हल बनाउनु पर्ने भयो । उनले १४ लाख रुपैया सहयोग गरे । त्यसको केही समयपछि फेरि अर्को भवन निर्माण गर्न उनले ५ लाख रुपैया भन्दा बढि सहयोग गरे ।
कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुलाई पानीको आपूर्तिमा समस्या भएको क्याम्पस प्रमुख सुरेन्द्र चन्दबाट जानकारी पाएपछि उनले त्यहाँ आर्टिजन बोरिङका लागि १२ लाख लगानी गरे । पाईपका लागि थप ५ लाख थप सहयोग गरे । १० हजारभन्दा बढि विद्यार्थीहरुका लागि पिउने पानीको व्यवस्था गरिदिए ।
शिवपुरी धाममा ५ लाख रुपैया सहयोग गरे । गेटा आँखा अस्पतालमा धर्मशाला निर्माण गर्नुपर्ने भयो । २ लाख रुपैया सहयोग गरे । नेपाल रेडक्रस सोसाईटीलाई एक लाख सहयोग गरे । रेडक्रसको अत्यन्त सम्मानित मानिने यशस्कर सदस्यता उनले प्राप्त गरेका छन् ।
कैलालीको गोदावरीमा रोटरी क्लव अफ धनगढीले निर्माण गरिरहेको खानेपानी आयोजना निर्माणका लागि १० लाख रुपैया सहयोग गरे । गोदावरीका जनता शुद्ध पिउने पानीबाट बञ्चित रहेको थाह पाएपछि उनले खानेपानी आयोजनाको निर्माणमा सहयोग गर्न धेरै सोचेनन । त्यस बाहेक उनले धनगढी जेसिज, लायन्स क्लव लगायत दर्जनौ संघसंस्था र सामाजिक संस्थालाई सहयोग गरेका छन् । दर्जनौ सामाजिक संघसंस्थाबाट उनी सम्मानित समेत भएका छन् ।
सुदूर पश्चिम प्रदेशका सबैभन्दा ठूलो करदाता
खाद्यान्न उनको मुख्य व्यापार हो । २०३८ सालमा चम्पा राईस मिलेर भाडामा लिएर उद्योग क्षेत्रमा हात हालेका उनले त्यसको २३ वर्षपछि २०५१ सालमा राजश्री फुड ईण्डष्ट्रिज स्थापना गरे । आफ्नै खाद्य उद्योग र तेल मिल शुरु गरे । गोदावरी फ्लोर मिल २०७१ मा स्थापना गरे । र २०७१ मा वेष्टर्न फिड ईण्डष्ट्रिज मार्फत दाना उद्योगमा समेत हात हाले ।
उनले २ सय ५० मजदुर र १ सय ५० कर्मचारी गरी ४ सय जनालाई रोजगारी दिएका छन् । वार्षिक ६ करोड भन्दा बढि उनी भ्याट बुझाउछन् । तीन करोड रुपैया भन्दा बढि आयकर बुझाउछन् । कर दिवसको अवसरमा उनी सुदूर पश्चिम प्रदेशमा सबैभन्दा बढि कर तिर्ने उद्योगीका रुपमा पटक पटक सम्मानित भएका छन् ।
स्वर्ग यही, नर्क यही
उनको नजरमा स्वर्ग यही छ । नर्क यही छ । भन्छन्, राम्रो काम स्वर्ग यही हो । नराम्रो काम गरे, नर्क यही । उनका छोरा मनोज, बुहारी रश्मी र नातिनातिना दुई वर्षअघि कार दुर्घटनामा परे । गाडी टुक्राटुक्रा हुदा पनि उनीहरु जोगिए । मनोजकी पत्नी रश्मीको पाँच दिनसम्म होश आएन । उनको उपचारमा संलग्न दिल्लीस्थित मेदान्ताका डाक्टरहरु निराश भईसकेका थिए । तर पाँच दिनपछि चमत्कार भयो । उनको होस खुल्यो । छोरा बुहारी दुबै जोगिए । उनी भन्छन्, यो मेरो पुण्यको प्रतिफल थियो । मैले कसैको बिगार गरेको थिएन । सबैलाई सहयोग गरेको थिए । त्यही कारण मेरो छोरा बुहारी गम्भीर दुर्घटनामा परेर पनि जोगिए ।
सफलताको सुत्र
सफलताको मानक केलाई मान्ने ? धेरै पैसा आर्जन गर्नुलाई वा सुखी हुनुलाई ? अझ सुखी कसलाई भन्ने ? उनी धेरै पैसा कमाउनुलाई सफलताको मानक मान्दैनन । उनी भन्छन्, पैसा त क्षणिक चिज हो । जो सधै साथमा नरहन सक्छ ।
पैसा हिजो थियो । आज छ । भोलि साथमा नहुन सक्छ । सन्तुष्टी नै सफलता हो । जे काम ग¥यो त्यसमा सन्तुष्ट हुनुपर्छ । धेरै धन आर्जन गरेर मात्र हुदैन । उनी भन्छन्, मुख्य कुरा त मान्छेको सन्तुष्टि हो ।
उनकै शब्दमा,संघर्ष नै जीवन हो । जीवन रहुञ्जेल संघर्ष जारी रहन्छ । जो संघर्ष गर्न डराउछ,त्यसले कहिले सफलता हात पार्न सक्दैन ।
कुनै बेला ९/१० दिनसम्म उनले गहुँको एक रोटी खान पाएनन । आज उनलाई नै थाह छैन,गोदाममा कति हजार बोरा गहुँ छ ? फेरि पनि उनलाई त्यसको घमण्ड छैन ।
गरीवीले उनलाई संघर्ष गर्न सिकायो । त्यही संघर्षले उनलाई सफलता दिलायो, उनी भन्छन्, गरीवी नै मेरो सफलताको कारण हो । सफलताका लागि मिहिनेतको अर्को बिकल्प देख्दैनन । रातारात करोड बन्ने महत्वाकांक्षाले समाजमा अपराध बढेको उनको तर्क छ ।
अन्त्यमा,
सुदूर पश्चिम प्रदेशको आर्थिक विकासका लागि उनका केही सपना छन् । योजना छन् । निर्यातजन्य उद्योग स्थापना नभई सुदूर पश्चिम प्रदेशको विकास र आर्थिक समृद्धि सम्भव नहुने ठान्छन् । मेरो एउटा सपना छ, अन्तिममा उनले सपनाको पोको खोल्दै भने, यहाँ नभएका सिमेण्ट र छड उद्योग खोल्ने सपना छ ।
तपाईको प्रतिक्रिया