Close This

नेपालको पर्यटनमा कोरियन पर्यटकको महत्वपूर्ण योगदान छ–अमर बहादुर शाही

शनिबार भदौ २३, २०८०/ Saturday 09-09-23
Paschim Today

नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष हुदैछ । १९७४ मे १५ मा नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापित भएको थियो । कोरियाले सोही वर्ष नेपालमा दूतावास स्थापना गरेपनि नेपालले भने २००७ मा कोरियामा दूतावास स्थापना ग¥यो । नेपाल र कोरियाबीचको आधा शताब्दी लामो दौत्य सम्बन्ध अत्यन्त समधुर र सौहाद्र्ध पूर्ण रहेको छ । कोरियाले नेपालका बिभिन्न क्षेत्रमा सहयोग तथा लगानी गर्दै आएको छ ।

कोरियन भाषा बोल्ने पहिलो पर्यटक गाईडका रुपमा मान्यता पाएका अमर बहादुर शाही नेपालमा सबैभन्दा बढि कोरियन पर्यटक भित्र्याउने रैका टुर्स एण्ड ट्रेक्सका संस्थापक हुन् । उनको नेतृत्वमा सन  १९९८ मा रैका टुर्स एण्ड ट्रेक्स स्थापना भएको हो । कोरिया र नेपालको सम्बन्ध नजिकबाट नियालेका, अझ नेपालमा कोरियन पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्दै आएका पर्यटनकर्मी कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपालका अध्यक्ष शाहीसंग पश्चिम टुडेका प्रधान सम्पादक दीर्घराज उपाध्यायले गरेको कुराकानी प्रस्तुत गरेका छौ ।

कोरिया र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दि हुदैछ । दुई देशबीचको सम्बन्ध कस्तो छ ?
यति लामो दौत्य सम्बन्धमा आजका मितिसम्म कही कतै अलिकति पनि नमिठो अनुभव छैन । कोरिया र नेपालको सम्बन्ध अत्यन्त समधुर र सौहाद्र्धपूर्ण छ । कोरियनहरु पनि नेपाल भनेपछि हुरुक्क हुन्छन् । उनीहरु नेपाल घुम्न औधी मन पराउछन् । दौत्य सम्बन्ध स्थापना भएको यो अबधिमा कोरिया सरकारले नेपालका बिभिन्न क्षेत्रमा लगानी र सहयोग गरेको छ ।

नेपालमा कोरियन पर्यटक आउन थालेको कति वर्ष भयो ?

दुई देशबीच दौत्य सम्बन्ध स्थापना नेपालमा कोरियनहरु आउन थालेका हुन् । कोरियन एयरले नेपालमा उडान शुरु गरेपछि कोरियन पर्यटकहरु ठूलो संख्यामा नेपालमा आउन थालेका हुन् ।

उनीहरुको रुचि कस्तो क्षेत्रमा छ ? पर्वतारोहण, ट्रेकिङ वा धार्मिक क्षेत्र ?

नेपालमा आउने कोरियन पर्यटकहरु अन्नपूर्ण बेस क्याम्प, सगरमाथा क्षेत्र, लामटाङ, मनास्लु, चितवन र लुम्बिनीमा जान रुचाउछन् । अधिकांशको रुचि ट्रेकिङ पाईन्छ । कोरियामा सातामा दुई दिन बिदा हुन्छ । बिदामा सपरिवार ट्रेकिङमा जाने संस्कृति छ । उनीहरुलाई हाईकिङ पनि मन पर्छ ।

नेपाल आउने ५० प्रतिशत पर्यटकहरु ट्रेकिङमा जाने गरेका छन् । २० प्रतिशत जति धार्मिक हिसावले आउछन् । उनीहरु बुद्ध जन्म भूमि लुम्बिनी जान भने पछि हुरुक्क हुन्छन । ५ प्रतिशत जति कोरियनहरु व्यापारिक उद्देश्यले आउछन् । त्यस बाहेक सरकारी काम, स्वयमसेवक र प्राबिधिक सहयोगका लागि आउने कोरियनहरुको संख्या पनि ठूलो छ ।

विदेशी पर्यटकका लागि नेपाल कति सुरक्षित छ ? अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो सन्देश गएको छ ?

पर्यटकका लागि नेपाल अत्यन्त सुरक्षित छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि राम्रो छ ।
वर्षेनी संसारभरीबाट कति संख्यामा पर्यटकहरु नेपाल भित्रिन्छन ? संख्याका हिसावले कोरियन पर्यटकहरुको अवस्था कस्तो छ ?

२०१८ मा ११ लाख ७३ हजार ७२ र २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए । कोभिडले पर्यटन क्षेत्र थला प¥यो । २०२१ मा पर्यटकको संख्या एक लाख ५० हजार ६२ मा झ¥यो ।  २०२२ देखि पर्यटकको संख्या पुनः उकालो लाग्ने क्रममा छ । सन २०२२ मा छ लाख १४ हजार ८६९ पर्यटक नेपाल भित्रिए ।

कोरियन पर्यटकको कुरा गर्ने हो भने सन २०१७ मा ३७ हजार जना नेपाल आएका थिए । २०१८ मा यो संख्या सात हजारले घट्यो । कोभिडका कारण नेपाल आउने कोरियन पर्यटकको संख्या अझै न्यून भयो । तर सन २०२२ देखि पुनः ठूलो संख्यामा कोरियनहरु नेपाल आउन थालेका छन् । सन २०२२ मा ८ हजार २४० कोरियन पर्यटक नेपाल आए । यो वर्ष यो संख्यामा बृद्धि हुदैछ ।

कोरियाका उच्च पदस्थ व्यक्तिहरुले बेलाबेलामा गर्ने नेपाल भ्रमणले कोरियन पर्यटकहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गरेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे ईन दुई पटक नेपालमा आए । कोरियाका विदेश मन्त्री, विदेश सहायक मन्त्रीले पनि नेपालको भ्रमण गरिसकेका छन्

कुन उद्देश्यले कोरियन पर्यटकहरु नेपाल आउने गरेका छन् ?

व्यापारिक, कुटनीतिक, धार्मिक, पारिवारिक, व्यवसायीक हिसावले आउछन् । भारत, भियतमान, बंगलादेशमा ठूलो लगानी गरिरहेको कोरियाले नेपालमा पनि लगानी गर्न चाहन्छ । तर त्यसका लागि लगानी मैत्री वातावरण र लगानीको सुरक्षाको ग्यारेण्टी खोज्छन्, उनीहरु ।

कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपालको स्थापना कहिले र कसरी भयो ? यसको आवश्यकता किन महशुस भयो ?

कोरियनहरुको भाषा, संस्कृति, खानपिन र सुरक्षाको मुद्दालाई संस्थागत रुपमा हल गर्न साझा संस्थाको आवश्यकता महशुस भयो । यो सबै कुराको सहजीकरण र समन्वयसंगै   कसरी बढि भन्दा बढि कोरियन पर्यटक भित्र्याउन सकिन्छ भन्ने सोचले यो संस्थाको जन्म भएको हो । संस्था स्थापनामा सहयोग गरेकोमा कोरियन दूतावासलाई धन्यवाद दिन चाहन्छौ । यो संस्थाको स्थापनाको अर्को उद्देश्य पर्यटन क्षेत्रमा देखा पर्ने गैर कानुनी कार्यलाई निरुत्साहित गर्नु पनि हो ।

कोरियन पर्यटकहरु नेपाल भित्रिने सिजन कुन हो ?

कोरियाको ईञ्चन शहरबाट काठमाण्डौं साताको तीन दिन हवाई सेवा सञ्चालनमा रहेकोले नियमित रुपमा कोरियनहरु नेपाल आउने गरेका छन् । मार्च, अप्रेल, अक्टोबर र नोभेम्बर महिना नेपालमा ठूलो संख्यामा कोरियन पर्यटक भित्रिने सिजन हो । 

कोरियनहरु कत्तिको खर्चिला छन् ? अन्य देशका पर्यटकहरुभन्दा के कुरामा उनीहरु फरक छन् ?

कोरियनहरु औसत रुपमा १२ दिन नेपाल बस्छन् । एभरेष्ट बेसक्याम्प जानेहरुले त १५ दिन छुट्याएका हुन्छन । अन्य देशका पर्यटकभन्दा कोरियनहरुले धेरै खर्च गर्छन । कोरियनहरु समूहमा टे«किङमा जाने गरेका कारण ठूलो संख्यामा गाईड, भरिया, कुकले काम पाउने गरेका छन् । नेपालको अर्थतन्त्र र पर्यटनमा कोरियनहरुको विशेष योगदान छ ।

के कुराले कोरियनहरुलाई नेपालमा आकर्षण गर्छ ?

कोरियनहरु बिदाको समय परिवारसंग ट्रेकिङ, हाईकिङ र घुमफिर गर्न चाहन्छन । नेपालमा कोरियनहरुलाई आकर्षित गर्ने त्यस्ता क्षेत्रहरु पर्याप्त छन् ।
दोस्रो कुरा, कोरियनहरुको नेपालसंग भावनात्मक सम्बन्ध छ । एक पटक नेपाल आएको कोरियन पटक पटक नेपाल आउन चाहन्छ ।
नेपालमा ट्रेकिङका क्रममा कतिपय पर्वतारोहीहरुले ज्यान गुमाएका छन् । उनीहरुको सम्झनामा परिवारजनले नेपालमा बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । कोरियाको विश्व विख्यात आरोही पार्क २०११ अक्टोबर १८ मा अन्नपूर्ण ट्रेकिङको मृत्यु भयो ।

संसारका ८ वटा अग्ला हिमाल आरोहण गरिसकेका विश्व विख्यात आरोही अम हङ गील विश्वका गीलले अम हङ गील फाउण्डेसन मार्फत नेपालका बिभिन्न जिल्लामा १६ वटा विद्यालय स्थापना गरेका छन् । चार वटा निर्माणाधीन छन् । फाउण्डेसनले काठमाण्डौंमा २० करोड रुपैयाको लगानीमा विद्यालय निर्माण गरिरहेको छ । फाउण्डेसनको सहयोगमा ७७०० नेपाली विद्यार्थी लाभान्वित भएका छन् ।

तेस्रो कुरा, कोरियनहरु व्यवसायका लागि पनि नेपाल आउने गरेका छन् । नेपालमा उनीहरुले सेवा क्षेत्र, जलविद्युत, प्राबिधिक शिक्षा लगायतमा लगानी गरेका छन् । कोरियन सरकारले पनि नेपालका बिभिन्न क्षेत्रमा लगानी तथा सहयोग गर्दै आएको छ ।

कोरियन पर्यटकहरुको संख्या बृद्धिका लागि सरकारका तर्फबाट के कस्तो पहलकदमी हुनुपर्छ ? के भयो भने नेपालमा कोरियन पर्यटकहरुको संख्या बृद्धि हुनेछ ?

अहिलेसम्म जे जति संख्यामा कोरियन पर्यटकहरु भित्रिए, त्यसमा निजी क्षेत्रको पहल र  योगदान छ । सरकारले कोरियन पर्यटकहरुको संख्या बृद्धिका लागि पहिलो कुरा कोरियामा रहेको नेपाली दूतावासमा ट्राभल डेक्स स्थापना गर्नुपर्छ । जहाँबाट नेपाल आउन चाहने कोरियनहरुले नेपालको पर्यटकीय क्षेत्रका बारेमा सहजै सम्पूर्ण जानकारी पाउन सकुन ।

दोस्रो कुरा, पर्यटन प्रबद्र्धनका लागि कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण छ । कोरियामा नेपाल एयरलाईन्सको सोझो उडान हुन सके एकातिर सिटको उपलब्धता बढि हुनेछ । अर्कोतिर । टिकट सस्तो भयो भने ठूलो संख्यामा कोरियन पर्यटकहरु नेपाल भित्रिने छन् ।

तेस्रो कुरा, पर्यटन बोर्डले कोरियामा पर्यटन प्रबद्र्धनका लागि प्रचारात्मक कार्यक्रम गर्न आवश्यक छ । पर्यटन प्रबद्र्धनका लागि भाषागत कुरा छ । संस्कृति र उनीहरुको रुचिको कुरा छ । दुई दर्जनभन्दा बढि संस्थाले नेपालमा कोरियन पर्यटक भित्र्याउन सहजीकरण र कोरियन टुर्स एजेन्सीसंग सहकार्य गरिरहेको छ । जोसंग भाषागत बीज्ञहरु छन् । जसले कोरियनहरुको संस्कृति, खानिपन र रुचि बुझेका छन् । कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपाल ती संस्थाहरुको छाता संगठन हो । कोरियन पर्यटनको संख्या बृद्धिका लागि हामी सरकारसंग सहकार्य र समन्वय गर्न सधै तत्पर छौ ।

हामीसंग नेपाललाई माया गर्ने बिशिष्ट कोरियनहरुको लामो सम्बन्ध, सहकार्य र व्यापारिक सम्बन्ध छ । जसले नेपाललाई माया गर्छन । जसले वर्षेनी हजारौको संख्यामा पर्यटकहरु पठाउने गरेका छन् । जसलाई नेपालको पर्यटनका बारेमा राम्रो जानकारी र दख्खल छ । उनीहरुसंगको सहकार्य र समन्वयमा हामी नेपालमा बढिभन्दा बढि पर्यटक भित्र्याउन सक्छौ । पर्यटन प्रबद्र्धनका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन सरकारले कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपालसंग सहकार्य र समन्वय गर्नुपर्छ ।