Close This

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री साउद न्युयोर्क प्रस्थान

मंगलबार भदौ २६, २०८०/ Tuesday 09-12-23
Paschim Today

काठमाण्डौं,२६ साउन ।
परराष्ट्रमन्त्री एनपी साउँद संयुक्त राष्ट्रसंघ (यूएन) ७८ औं महासभामा भाग लिन आज न्युयोर्क प्रस्थान गरेका छन् ।

न्युयोर्कस्थित यूएनको मुख्य कार्यालयमा बुधबार शुरु हुने महासभाको पूर्व तयारीका लागि एक साता अघि अमेरिका प्रस्थान गरेका हुन् । मन्त्रीको साथमा उनका स्वकीय दीपक जोशी रहेका छन् । मन्त्री साँउद कतार एयरवेजको नियमित उडानबाट आज बिहान सवा नौ बजे न्यूयोर्क प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भने ३० गते न्युयोर्क जाने कार्यक्रम छ । दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा ११ जना सदस्य रहने छन् ।

प्रधानमन्त्री दाहाल स्वयंले भ्रमण दल ठूलो भयो भनेपछि यसअघि २६ जनाको टोली न्युयोर्क आउने तय गरिएकोमा अब ११ जनामा झारिएको हो । महासभामा  अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली दूतावासका राजदूत श्रीधर खत्री, न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा  सहित थप १४ जना सदस्य सहभागी हुनेछन् ।

प्रधानमन्त्री दाहालको टोलीमा निजी चिकित्सक, स्वकीय सचिव रमेश मल्ल, परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीदेखि परराष्ट्र मन्त्रीका सचिवालयका उपसचिव हरि ओडारी सहभागी रहने बताईको छ ।

नेपालबाट दुई वर्षपछि महासभामा प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो भने सन् २०१८ मा ७३ औं महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए । सन् २०१९ मा ७४ औं महासभामा ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए भने सन् २०२० मा कोभिड–१९ को कारण भर्चुअल रूपमा भएको ७५ औं महासभामा तत्कालीन प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गरेका थिए । सन् २०२१ मा भएको ७६ औं महासभामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का र सन् २०२२ को ७७ औं महासभामा परराष्ट्र सचिव भरतराज पौड्याललाई जिम्मेवारी दिएर सम्बोधन गर्न पठाएको थियो ।