चन्द्रमा र सूर्यको सफल मिसनपछि अब समुन्द्रयान तयारीमा भारत
काठमाडौं, २७ भदौ । चन्द्रमाको अध्ययनका लागि पठाइएको चन्द्रयान-३ र सूर्यका लागि पठाइएको आदित्य-एल १ को सफल प्रक्षेपणपछि भारतले समुन्द्रको अध्ययनका लागि समुन्द्रयान परियोजना सुरु गर्ने भएको छ ।
भारतका अर्थ साइन्स मन्त्री किरेन रिजिजुले भारतले समुन्द्रको अध्ययनका लागि तीन जना यात्री सहित 'समुन्द्रयान' नाम दिइएको पनडुब्बी परियोजना अगाडि बढाउन लागेको घोषणा गरेका हुन् । उक्त पनडुब्बी समुन्द्र सहतभन्दा छ किलोमिटर गहिराइमा जानेछ । मन्त्रीले एक्समार्फत ‘मत्स्य ६०००’ नामको पनडुब्बीको तस्वीर सार्वजनिक गर्दै सो पनडुब्बीले सामुन्द्रिक अन्वेषणको भाग हुने र त्यसले गहिराईमा पुगेर अन्वेषण गर्ने उल्लेख गरेका छन् ।
मन्त्री रिजिजुका अनुसार सो पनडुब्बी चेन्नाईमा रहेको नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजीले विकास गरिरहेको छ । “अबको नयाँ परियोजना समुन्द्रयान हो,” रिजिजुले एक्समा लेखेका छन्, “‘मत्स्य ६०००’ पनडुब्बी चेन्नाईमा रहेको नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजीमा निर्माणाधीन अवस्थामा छ ।”
मन्त्री रिजिजुका अनुसार यो पनडुब्बीले समुन्द्रभित्रको पारिस्थितिक प्रणालीलाई कुनै असर गर्ने छैन । पनडुब्बीमा सवार हुने तीन जना यात्रुले समुन्द्रको पिँधमा रहेको जैविक विविधता र पानीको स्रोतको अध्ययन गर्ने बताइएको छ । यो परियोजनाले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ब्लु इकोनोमी’ भिजनलाई सपोर्ट गर्ने मन्त्रीको भनाइ छ । यद्यपि पनडुब्बीको निर्माण कार्य कहिले सकिन्छ र अन्वेषणका लागि समुन्द्र यात्री कहिले निस्किन्छ भन्ने स्पष्ट छैन ।
भारतले अगस्ट २३ मा चन्द्रमाको दक्षिणी धुव्रमा सफलतापूर्वक यान अवतरण गरेको थियो । यससँगै चन्द्रमाको सो क्षेत्रमा यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको भारतले सेप्टेम्बर २ मा सूर्यको अध्ययनका लागि आदित्य एलवन प्रक्षेपण गरेको थियो ।
तपाईको प्रतिक्रिया