Close This

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

सोमबार असोज १, २०८०/ Monday 09-18-23
Paschim Today

काठमाडौं, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरु बीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।