Close This

होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनको गृहकार्य

सोमबार असोज १, २०८०/ Monday 09-18-23
अविनाश चौधरी
धनगढीको बड्हरामा रहेको होल्डिङ सेन्टर । तस्बिर : अविनाश चौधरी

धनगढी, १ असोज । कैलालीको धनगढी उपमहानगरपालिका–३ बड्हरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

धनगढी उपमहानगरपालिकाको कार्यालयले स्त्री र बालरोग उपचार सम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो । त्यसको लागि रक्षा मन्त्रालयबाट होल्डिङ सेन्टर प्रयोगको अनुमति माग गरिएको छ । धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको होल्डिङ सेन्टर रक्षा मन्त्रालय अन्तर्गत रहेको छ । कोरोना महामारीको बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा दुई वर्ष अगाडि होल्डिङ सेन्टर बनाइएको थियो ।

एक हजार शøयाको होल्डिङ सेन्टर प्रयोगविहीन रहेकाले धनगढी उपमहानगरपालिकाले त्यसमा अस्पताल सञ्चालनको गृहकार्य थालेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो । “त्यसमा स्त्री रोग र बाल रोगको उपचार हुने अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो,“मन्त्रालयबाट जवाफ आइ पुगेको छैन ।” धनगढी उपमहानगरपालिकाले रक्षा मन्त्रालयसंग १०० शøया माग गरेको छ । त्यसमा धनगढी उपमहानगरपालिकाको जनशक्ति र व्यवस्थाकीय पक्षले भ्याए अनुसारको शøयामा अस्पताल चलाउने अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो,“हामी छलफलकै क्रममा छौं, त्यसैले कति शøयाको अस्पताल चलाउने भन्ने निश्चित गरेका छैनौं । यदि, होल्डिङ सेन्टरको प्रयोग गर्ने अनुमति मिल्छ भने उपमहानगरपालिकाको जनशक्ति र व्यवस्थापकीय पक्षले भ्याएसम्मको शøया चलाउनेछौं ।”

भविष्यमा कथम कदाचित कुनै महामारी आएमा होल्डिङ सेन्टर पनि रहने गरी १०० शøयामात्रै माग गरेको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । सो कार्यालयले अस्पताल चलाउने प्रक्रिया अगाडि बढाएपछि केही दिन अगाडि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहितको टोलीले होल्डिङ सेन्टरको अनुगमनसमेत गरेको थियो ।  होल्डिङ सेन्टरमा अस्पताल चलाउनका लागि छलफलको क्रममा रहेको जनाइएको छ । “अहिलेसम्म यो ड्राफ्ट हो, निश्चित भइसकेको छैन”, अवस्थीले भन्नुभयो ।
२०७८ असार ३ मा निर्माणको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर बनाएको थियो । बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा  कोठा रहेका छन् । 
भारतबाट फर्किने व्यक्ति र कोरोना सङ्क्रमितहरुलाई राख्नका लागि होल्डिङ सेन्टर बनाइएको थियो । तर, कोरोना महामारी हटेपछि त्यो प्रयोगमा आउन सकेन । प्रयोगविहीन होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले गर्दै आएको छ । त्यसमा अस्पताल चलाउने उपमहानगरपालिकाको कदमको नगरवासीले प्रशंसा गरेका छन् ।