Close This

बजार बढ्ने प्रयासमा, ४.२६ अंकले बढ्यो नेप्से

सोमबार असोज १, २०८०/ Monday 09-18-23
Paschim Today

काठमाडौं, १ असोज । बैंकहरूले असोजको लागि पनि ब्याजदर बढाएपछि आइतबार उच्च अंकले घटेको बजार सोमबार बढ्ने प्रयासमा देखिएको छ। सोमबार ४.२६ अंकले बढेर नेप्से परिसूचक १९६९.१८ विन्दुमा आएपछि बजार बन्द भएको छ। आइतबार नेप्से एकै दिन ४२.१४ अंकले घटेको थियो।

बजार घट्न अन्य कारणहरू नरहेपनि बैंकले ब्याजदर बढाएका कारण कर्जा लगानी सुस्त हुने र यसले अर्थतन्त्रले अपेक्षित गति नलिने आशंका लगानीकर्तामा देखिएको छ। राष्ट्र बैंकको तथ्यांकले मासिक रूपमा बैंकहरूको कर्जाको ब्याजदर घटिरहेको देखिन्छ। कर्जाको ब्याजदर साउनमा १० महिना यताकै न्यून बिन्दुमा आएको छ। गत कात्तिक यता ब्याजदर पहिलो पटक यो तहमा आएको हो। साउनमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२.२४ प्रतिशत छ। गत असोजमा ब्याजदर १२. १९ प्रतिशत थियो। 

निक्षेपको ब्याजदर भने गत असारको तुलनामा साउनमा ७.८६ प्रतिशतबाट बढेर ८ प्रतिशत पुगेको छ। निक्षेपको ब्याजदर बढेमा सेयर बजार घट्ने मानिन्छ। असोजको लागि समेत केही बैंकहरूले निक्षेपमा ब्याजदर बढाएपनि यस्तो ब्याजदर घटाएका बैंकले कात्तिकमा केही कम ब्याजदरमा कर्जा दिन सक्ने अवस्था बन्छ। आइतबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार दुई अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँको कारोबार भएकोमा सोमबार ८७ करोड रूपैयाँको कारोबार भएको हो। सोमबार तिज परेकाले पनि कारोबार रकममा प्रभाव परेको हो। यस दिन २७१ वटा धितोपत्रको २८ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ। एक सय ६९ कम्पनीको मूल्य बढ्दा ७८ वटाको मूल्य घटेको छ। कारोबारमा आएकामध्ये जलविद्युत समूहमा सबैभन्दा धेरै एक प्रतिशत वृद्धि भएको छ। यो समूहको थ्री स्टार हाइड्रो, भुगोल इनर्जी लगायतको मूल्य उच्च दरमा बढेको छ। यी कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो।