हिलाम्य मूल सडक, विस्थापित हुदै व्यवसायी, रमिते सरकार

धनगढी, १६ असोज ।
कोभिडपछि थला परेको व्यवसाय त्यसमाथि बजार विस्तारका क्रममा मूल सडकका संरचनाहरु भत्काईएपछि व्यवसायी विस्तापित हुने क्रम पछिल्लो सडक निर्माणका क्रममा व्यापार शुन्य भएपछि तिब्र भएको छ ।
सटर अगाडि गिट्टीको थुप्रो छ । बाटो हिलाम्य छ । कतिपय सटरहरु सडकसम्म जाने बाटोसमेत बन्द भएको छ । यतिबेला धनगढी उपमहानगरपालिका र कालिका कन्स्ट्रक्सन व्यवसायीका समस्या प्रति बेखबर झै छन् । नगरपालिकाले व्यवसायी र आम नागरिकमाथि कर थोपरिहेको छ । व्यवसायी प्रति कोही पनि जवाफदेही र जिम्मेवार देखिएका छैनन ।
बजार क्षेत्रका अधिकांश सटरहरु बन्द छन् । भर्खरै सञ्चालनमा आएका पसलहरु समेत बन्द भएका छन् । बजार क्षेत्रका व्यवसायीहरुले एक वर्षयता व्यापार नै गर्न पाएका छैनन ।
धनगढीमा चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्नुका साथै निर्माणको भइरहेको ढिलाइका कारण व्यवसायी हैरान भएका हुन् । सो सडक खण्डमा सवारी चलाउनसमेत मुस्किल भइरहेको यात्रुको गुनासो छ ।
धनगढीको मुख्य सडक निर्माणमा ढिलासुस्ती गरिरहेको कालिकाले धनगढीको साल्ट ट्रेडिङ अगाडिका एक दर्जन पसल अगाडि माटो थुपार्दा पैदलयात्री, चालक, व्यवसायीले हैरानी खेप्नुपरेको छ । मेन रोड एभरेस्ट बैंकअगाडिको सडक हिलाम्मे भएपछि नगरवासीले झनै दुःख पाइरहेका हुन् ।
निर्माण कम्पनीलाई पटकपटक माटो हटाउन र निर्माण कार्य तत्काल अगाडि बढाउन व्यवसायीले आग्रह गर्दै आएका छन् । मुख्य सडक निर्माण गर्दा कुनैकुनै ठाउँमा नाली अधुरो छोड्ने गरेको समेत पाइएको छ ।
तपाईको प्रतिक्रिया