वर्तमान सरकारले राष्ट्रपतिलाई खोपीको राजा बनाएको छ : ओली

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

काठमाडौं, १६ असोज । पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा बनाएको आरोप लागेको छ । प्रतिनिधिसभाका जारी बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो आरोप लगाएका हुन ।

अघिल्लो संसदले पठाएको नागरिकता विधेयकमा उल्लेख भएका राष्ट्रपति विद्यादेवी भण्डारीको नाम काटेर हालका राष्ट्रपतिलाई विधेयक प्रमाणित गर्न लगाएको उनको आरोप छ । ‘पहिलाको सांसदले, पहिलाको राष्ट्रपतिलाई पठाएको विधेयकमा नाम काटेर विधेयक प्रमाणीकरण गर्न लगाएका छन्, ज्यानमाराहरूलाई जेलबाट निकालेको छ, ज्यानमाराहरु शानसहित लावालस्कर लगाएर हिँडेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपतिलाई यो सरकारले खोपीको राजा बनाएको छ, क्याबिनेटको आदेशमा राष्ट्रपतिलाई चलाएको छ ।’

सरकारको नेतृत्वको दल र सत्ता गठबन्धनमा आबद्ध दलले कोशी सरकार निर्माणमा तमासा देखाएको पनि उनको आरोप छ ।