फ्रेन्च क्रान्ति, वामपन्थ र दक्षिणपन्थ

बुधबार असोज २४, २०८०/ Wednesday 10-11-23
कृष्ण धानुक

सन् १७७६ मा जर्ज वाशिङ्टन र थोमस जेफरसनको नेतृत्वमा अमेरिकाले स्वतन्त्रताको घोषणा गर्दा स्कटल्याण्डका एडम स्मिथले “वेल्थ अफ नेशन्स”नामक पुस्तक लेखेर शास्त्रीय अर्थशास्त्र तथा पूँजिवादको जग बसालेका थिए । अमेरिकी स्वतन्त्रताको प्रभाव बाँकी विश्वमा धेरै भएन किनभने अमेरिका ब्रिटिसको औपनिवेशक शासनबाट मुक्त भएको थियो । तर फ्रान्सको रक्तरञ्जित क्रान्तिले भने स्वतन्त्रता र समानताको लागि जनताले राजशाही बिरुद्ध गरेको विद्रोहले अरु राजशाही भएको देशका राजाहरु डराए भने जनताहरुलाई हक अधिकारको लागि लड्न प्रेरित ग¥यो ।

लगातारको युद्ध तथा असमान र अव्यवहारिक करनितिले जनताहरु पिडित थिए । त्यस माथि समय समय हुने अनिकालले जनताहरु हायलकायल भएका थिए । फ्रान्सको राज्य सत्ता पनि युद्धको कारण आन्तरिक तथा बाह्य ऋणमा डुबेको थियो । तर राजा लुई सोह्रौर रानी मेरी एन्टोनियट तथा भारदारहरुको जिवनस्तरमा भने कुनै कमि आएको थिएन । त्यसैबेला रानी मेरी एनटोनियटले भर्साय राजमहल, जो पेरिसबाट विस किलोमिटर पश्चिममा पर्दछ । त्यसको पुननिर्माणको लागि लाखौं लिर्वे (तात्कालिन फ्रेन्च रुपैंया) खर्च गरिरहेको थिइन । यसले आगोमा घ्यूको काम ग¥यो । जब सन् १७८९ मा राजा लुई सोह्रौले अतिरिक्त कर जनतामा लगाउने तयारी गर्न थाले । त्यसको विरुद्धमा जनताले स्वतन्त्रता, समानता र भातृत्वको लागि आन्दोलन सुरु गरे । जसलाई फ्रेन्च महिलाहरुले पनि पेरिसबाट भर्साय राजमहलसम्म पैदल मार्च गरेर साथ दिए ।

सन् १७९३ मा राजा लुई सोह्रौलाई मृत्युदण्डको सजाय दिएर फ्रान्स गणतान्त्रिक राष्ट्र भयो । तर क्रान्तिकारी नेताहरुले देशको आन्तरिक व्यवस्थापन तथा छिमेकी देशहरुसँग राम्रो सम्बन्ध स्थापित हुन नसक्दा फ्रान्सको संक्रमणकाल लम्बिदैं गयो र देश दिशाहिन हुँदै गयो । जसको फलस्वरुप सेनाको जनरल नेपोलियन बोनापार्टले सन् १७९९ मा आफुलाई फ्रान्सको सम्राट घोषणा गरे ।

कुनै पनि क्रान्ति एकै दिनमा हुदैंन । क्रान्ति भनेको जनताहरुले सामूहिक रुपमा गरेको विद्रोहको विस्फोटक स्वरुप हो । क्रान्ति हुनको लागि तत्कालिन समयको सामाजिक, आर्थिक र बौद्धिक चेतनाको स्तरबाट प्रभावित भएको हुन्छ । फ्रेन्च क्रान्ति पनि यी तिन कुराको त्रिवेणीको संगमबाट भएको थियो । यी तीन कुराहरु यस प्रकार छन् :

सामाजिक कारण : सन् १७८० को दशकमा फ्रान्सको जनसंख्या दुई करोड सत्तरी लाखको हाराहारी थियो । फ्रान्सको समाजलाई तिन वर्गमा विभाजन गरिएको थियो । पहिलो वर्गलाई क्लर्जी अर्थात फस्ट स्टेट भनिन्थ्यो । यसमा पादरीहरु पर्दथे । जुन त्यतिबेलाको जनसंख्याको एक प्रतिशत जति थिए । त्यतिबेला राज्य संचालनमा राजा र चर्चको पादरीहरुको प्रत्यक्ष भूमिका हुन्थ्यो । राजाको ईश्वरीय अधिकारको सिद्धान्त अनुसार राजालाई ईश्वरले राज्य संचालन गर्न तथा पादरीहरुलाई धर्मको सुरक्षार्थ पठाएको भन्ने मान्यता स्थापित थियो । पादरीहरुले धार्मिक करको रुपमा जनताहरुसँग दश प्रतिशत कर असुल गर्दथे । जसलाई टाइथ भनिन्थ्यो ।

अर्को वर्गमा नोबेलिटी अर्थात कुलिनहरु पर्दथे । उनीहरु राजपरिवारका नातेदार तथा जमिनदारहरु थिए । त्यतिबेला उनीहरुको संख्या दुई प्रतिशत जति हुन आउथ्यो । नोवेलिटीहरुले जनताहरु पच्चिस प्रतिशत कर असुल गर्दथे । किनभने देशभरीको जमिनहरुको मालिक यिनीहरु नै थिए । नोविलिटीहरुले लिने करलाई टाइल भनिन्थ्यो ।

तेस्रो वर्गमा सर्वसाधारण जनता जसमा किसान, साना व्यापारी तथा कर्मचारीहरु थिए जसलाई पिजन्ट भनिन्थ्यो । पिजन्टहरुले सरकारलाई पनि कर तिर्नु पथ्र्यो । तर पादरीहरु तथा नोवेलिटीहरुले राजालाई नगन्य मात्रामा कर तिर्दथ्यो । राजा, पादरी, नोवेलिटीहरुले जनताहरुको चरम शोषण गरिरहेका थिए । सन् १७८० को दशकमा फ्रान्स चरम ऋणमा डुबेको थियो । तर राजाले भने तेस्रो वर्गलाई करको भार बढाएर ऋणको बन्दोबस्त गर्ने विचार गरे । तर त्यतिबेलाका अर्थमन्त्री जेकस नेकरले पादरीहरु तथा नोवेलिटीहरुलाई पनि करको दायरामा ल्याउनु पर्ने प्रस्ताव राजालाई गरे । यो प्रस्तावलाई पहिलो दुई वर्गले मान्ने कुरै भएन । जसको फलस्वरुप राजा लुई सोह्रौंले एक सय पचहत्तर वर्षमा पहिलो पटक स्टेट जनरलको आव्हान गर्दछन् । स्टेट जनरलको पूर्ण संख्या बाह्र सय थियो । जसमा तिन सय पादरीहरु, तिन सय नोवेलिटीहरु तथा छ सय पिजन्टहरु थिए । तर एक वर्गको एउटा मात्र भोट हुन्थ्यो ।अर्थात पादरीहरु र नोवेलिटीहरुमिले भने तेस्रो वर्ग अर्थात् पिजन्टहरुले बढि कर तिर्नु पर्ने हुन्थ्यो । राजाले पनि स्टेट जनरललाई रबर स्टाम्पको रुपमा प्रयोग गर्न चाहेका थिए । यो कारणले जनताहरुलाई आन्दोलित हुन उद्देलित गरायो ।

आर्थिक कारण : सत्रौं, अठारौं शताब्दीतीर फ्रान्स र ब्रिटेन विश्वमा ठुला औपनिवेशक शक्तिको रुपमा रहेका थिए । आफ्नो देशको शक्ति विस्तार गर्नको लागि दुबै देशहरु अनेकौं पटक युद्धमा होमिसकेका थिए । युद्ध आफैमा महङ्गो खेल हो । एउटा ठुलो युद्ध सन् १७५६ देखि सन् १७६३ सम्म भएको थियो । यसलाई सेभेन इअर्स अफ वारको नामले पनि चिनिन्छ । धेरै ईतिहासकारहरुले यो युद्धलाई प्रथम विश्वयुद्धको रुपमा चित्रण गरेका पनि छन् । किनभने त्यतिबेलाका औपनिवेशिक राष्ट्रहरुले एक अर्कासँग पाँचवटा महादेशमा युद्ध लडेका थिए । यो युद्ध पछि गएर अमेरिकी स्वतन्त्र संग्राम र फ्रेन्च क्रान्ति हुनको कारण भयो । फ्रान्सले ब्रिटेनसँग पेरिस सन्धि ग¥यो । यो सन्धि अन्तरगत फ्रान्सले धेरै भू–भागहरु गुमाउनु प¥यो । यो एउटा शर्मनाक सन्धि थियो । नेपालको हकमा यसलाई सन् १८१६ मा सुगौली सन्धिसँग तुलना गर्न सकिन्छ । अंग्रेजसँग भएको सुगौली सन्धिमा पनि नेपालले धेरै भू–भाग गुमाउनु परेको थियो ।

त्यतिबेला फ्रान्सका राजा लुई पन्ध्रौं थिए जो राजनैतिक तथा आर्थिक मामिलामा साह्रै कमजोर थिए । युद्धमा भएको पराजयले आर्थिक रुपमा शिथिल र कमजोर भएको फ्रान्सका राजाले ब्रिटेनसँग बदला लिनको उत्तरी अमेरिकामा भईरहेको स्वतन्त्रता आन्दोलनलाई आर्थिक रुपमा मलजल गर्न थाले । सन् १७७४ मा लुई पन्ध्रौंको निधन भयो र नयाँ राजा अठार वर्षका लुई सोह्रौं भए । उनले पनि आफ्नो बुवाको नितिको पालना गरे ।सन् १७७६ मा अमेरिकाको तेह्र राज्यहरुले स्वतन्त्रताको घोषणा गरे । ब्रिटेनपराजित भएर अमेरिकाबाट बाहिरियो । फ्रान्सले ब्रिटेन पराजित भएकोमा आत्मरती लिनु बाहेक केही प्राप्त गरेन ।

राजा लुई सोह्रौंले सन् १७७४ मा रोबर्ट जेक टुर्गोलाई फ्रान्सको अर्थमन्त्री बनाए जो एडम स्मिथका प्रशंसक र साथी थिए । टुर्गो एडम स्मिथको श्रमको विभाजन, स्वतन्त्र बजार र लेसेज फेयरको सिद्धान्त फ्रान्समा अवलम्बन गरे । लेसेज फेयर सिद्धान्तको अर्थ सरकारले बजारलाई स्वतन्त्र छोड्नु पर्छ । बजार आफैले माग र पूर्तिमा सामञ्जयसता कायम गरेर ठिक मूल्य निर्धारण गर्दछ भन्ने थियो । तर स्वतन्त्र बजार नीति कार्यान्वयन भए पछि फ्रान्समा उत्पादन भएको खाद्यान्नहरुलाई ठुला व्यापारीहरुले संग्रह गरेर मूल्यबृद्धि गरि दिए । फ्रान्समा हाहाकारको अवस्था श्रृजना भयो । टुर्गोले यो नियम लगाउनु भन्दा पहिले सरकारको खाद्यान्नहरुको वितरणमा प्रत्यक्ष भूमिका हुन्थ्यो । एक ठाउँमा उत्पादन कम भए देशको अर्को स्थानबाट ल्याएर समस्याको समाधान गरिन्थ्यो ।

टुर्गोको स्वतन्त्र बजार नीति असफल भएपछि उनले राजालाई पादरीहरु र नोवेलिटीहरु माथि पनि करको दायरा ल्याउनु पर्छ भन्दा टुर्गोलाई अर्थमन्त्रीका पदबाट हटाइयो । किनभने राजा पनि पादरीहरु तथा कुलीन वर्गको पक्षमा नै हुन्थे । जनताको पिरमर्काको खासै चिन्ता लिएको देखिदैन्थ्यो ।

ब्रिटेनले सन् १७७८ मा फ्रान्स माथि फेरी आक्रमण ग¥यो । यो लडाई सन् १७८३ सम्म चल्यो । यो युद्धले फ्रान्सलाई लगभग कंगालीको अवस्थामा पु¥यायो । ऋणको भारले नराम्रोसँग थलियो । फ्रान्सले आफ्नो राष्ट्रिय आम्दानीको पचास प्रतिशतभन्दा बढि ऋण र व्याज तिर्नमा जान थाल्यो । किसानहरु मर्कामा परे पनि राजा, पादरीहरु र कुलीन वर्गहरुको जिवन विलासितामा यापन भईरहेको थियो । तर जनतामा भने विद्रोहको विउ अंकुरीथ हुँदै थियो ।

बौद्धिक कारण : सन् सत्रौं अठारौं शताब्दीलाई एज अफ इनलाइटमेन्ट पनि भनिन्छ । यो समयका बौद्धिक वर्ग तथा दार्शनिकहरुले पुस्तक तथा पत्रिकाहरुमा लेखेर सर्वसाधारणहरुलाई सोच्न, बुझ्न, प्रश्न गर्न, तर्क गर्न जागरुक गर्दै थिए । यो ज्ञानको ज्योति पश्चिम यु्रोपबाट शुरु भएर बाँकी विश्वभर फैलिन पुग्यो ।

सन् १६३२ मा ग्यालीलियो ग्यालिलीले आफ्नो टेलिस्कोपबाट पत्ता लगाएकी सूर्य हैन पृथ्वीले सूर्यको परिक्रमा गर्दछ । त्यतिबेलाका चर्चका पादरीहरुले यसको चर्को विरोध गरे । किनभने त्यतिबेला बाइबलमा लेखिएको थियो कि सूर्यले तथा अरु पाँचवटा ग्रहहरुले पृथ्वीको परिक्रमा गर्दछन् । सन् १७०० सम्म पृथ्वी तथा अरु पाँच वटा ग्रहहरु मात्र पत्ता लागेका थिए । त्यतिबेला बाइबलमा लेखिएको कुरालाई अकाट्य मानिन्थ्यो । जसको फलस्वरुप ग्यालिलियो आजिवन कारावास बस्नु प¥यो । समयान्तरालमा ग्यालिलियोको दावी सत्य सावित हुन गयो । त्यसपछि बाइबलमा लेखेको कुरामा पनि प्रश्न उठाउन सकिन्छ भन्ने कुरा शुरु हुन थाले ।

त्यसैगरि फ्रेन्च दार्शनिक रेने डेकार्टेसले भने “म सोच्न सक्छु, त्यसैले म यहाँ छु ।”भोल्टेयर नामक दार्शनिकले अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रताको कुरा उठाए भने मोन्टेस्क्यूले शक्तिको पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तरगत चर्च र राज्य अलग हुनुपर्छ भनेर समाजलाई जागरुक बनाउँदै लगे ।

जोन लकले राजाको ईश्वरी अधिकार सिद्धान्त माथि प्रश्न गरे । राजालाई कसले हामी माथि शासन गर्ने अधिकार दियो । यदि राजालाई शासन गर्ने चाहना छ भने जनताको जनमत लिनु पर्छ । जोन ज्याक रुसोले मान्छे स्वतन्त्र जन्मिन्छ तर जता पनि किन जंजिरमा बाँधिएको छ भनि प्रश्न गरे ।

जर्मन दार्शनिक इमानुएल कान्टले ईश्वरले संसार बनाएको होलान् तर अब ईश्वरले हस्तक्षेप गर्न छोडिसक्नु भयो । यदि ईश्वरलाई प्राप्त गर्नु छ भने आफ्नो तर्क र दिमागको प्रयोग गर्नुपर्छ भनेर उत्प्रेरित गर्नु भयो ।

यी सबै कुराहरु फ्रान्सका जनता माझ पनि पुगिरहेको थियो । गरिबी र अन्यायपूर्ण कर नितिबाट पिडित जनताहरुले असंवेदनशील राजाशाहीको विरुद्धमा क्रान्तिको विगुल बजाउन बाध्य भए । यी तिनै कारणहरुको समिश्रणले गर्दा जनताहरुलाई वारपारको लडाईको लागि तयार हुन जागरुक गरायो । स्टेट जनरलमा रुष्ट भएका तेस्रो वर्गका छ सय सदस्यहरु बैठक छोडेर नजिकैको टेनिस कोर्टमा गए र नयाँ नेशनल एसेम्बली बनाउने प्रण गरे । जो पछि टेनिस कोर्ट ओथको रुपमा प्रख्यात भयो । पिजन्टहरुको नेशनल एसेम्बली बनाउने मागलाई केही युवा पादरीहरु र नोवेलिटिहरुले पनि साथ दिए । शुरुमा राजा लुई सोह्रौंले यो प्रस्ताव स्वीकार गरेका थिएनन् पछि जनताहरुको आक्रोशको अगाडि झुक्न बाध्य भए । नेशनल एसेम्बलीमा एक सदस्यको एक भोट गणना हुने व्यवस्था लागू भयो ।

नयाँ नेशनल एसेम्बली बनेपछि राजाको दायाँतिर राजतन्त्रलाई समर्थन गर्ने पादरीहरु, नोवेलिटीका सदस्यहरु बसे भने बायाँतिर क्रान्ति गरेर आएका स्वतन्त्रता र समानताको लागि लडेका प्रगतीशील तेस्रो वर्ग अर्थात पिजन्टका सदस्यहरु बसे। त्यसपछि राजाको दायाँ बस्ने यथास्थितिवादी र बायाँ बस्ने परिवर्तनकारी शक्ति हुन भन्ने भाष्य निर्माण भयो । समयसँगै यो मान्यता बाँकी विश्वमा फैलिदैं गयो । राइट विङ र लेफ्ट विङको राजनीतिक अवधारणाहरु विकास हुँदै गयो । पछि भारतीय विश्लेषकहरुले राइट विङलाई दक्षिणपन्थ तथा लेफ्ट विङलाई वामपन्थको रुपमा व्याख्या गरे ।

फ्रान्स भन्दा बाहिर जब यी अवधारणाहरु प्रसारित भए त्यतिबेलाका देशहरुले आफ्नो देशको परिस्थिति अनुसार यसलाई ग्रहण गरे । उदाहरणको लागि त्यतिबेला अमेरिकामा रंगभेद व्याप्त थियो । जसको फलस्वरुप काला जातिहरु वामपन्थी भए भने गोरा जातिहरु दक्षिणपन्थी भए । यता नेपाल, भारतमा त्यतिबेला समाज जातजाति साथै धनी र गरीवमा विभाजित थियो । उच्च वर्गलाई दक्षिणपन्थीको रुपमा चित्रण गर्न सकिन्छ भने दलित तथा पिछ्डीएको वर्गलाई वामपन्थीको रुपमा हेन सकिन्छ । त्यतिबेलाको समाज दलित वर्ग धनी भएपनि समाजमा उसले उच्चको धनी बराबरको सम्मान पाउन गाह्रो थियो । वामपन्थ एउटा सिद्धान्त र विचारधारा थियो भने दक्षिणपन्थ त्यसको प्रतिक्रिया मात्र थियो । त्यसैले दक्षिणपन्थीहरुलाई प्रतिक्रियावादी पनि भनिन्छ । पछि विस्तारै दक्षिणपन्थलाई पनि सिद्धान्त र विचारधाराको रुपमा विकसित गर्न थालियो ।

दक्षिणपन्थी राजनीतिक विचारधाराले राष्ट्रियता, धर्म र संरक्षणवादलाई प्रमुख आधार मान्दछन् । देशको एउटा धर्म हुनुपर्दछ र चलिआएका रितीरिवाज, चलनको संरक्षण गर्नुपर्दछ भन्ने मान्यता राख्दछन् । समलिङ्गी विवाह, गर्भपतन, आप्रवासन नीतिमा कडा रुपमा प्रस्तुत हुन्छन् भने मृत्युदण्डलाई समर्थन गर्दछन् । महिलाहरुलाई अधिकार दिने मामिलामा अनुदार हुन्छन् । आर्थिक उदारवादको पक्षमा हुन्छन् । जसको अर्थ पूंजिपति व्यापारी तथा जनतालाई करको भार कम दिन्छन् । त्यसैले गर्दा दक्षिणपन्थी राज्य व्यवस्थामा स्टार्ट अफ व्यापारहरुलाई प्रोत्साहन गरिन्छ । किनभने यो विचारधाराले पूजिवादलाई समर्थन गर्दछ । राज्यले जनतासँग कम कर लिनु पर्दछ भन्ने मान्यता अन्तरगत काम गर्दछन् ।

अर्को तर्फ वामपन्थी राजनीतिक विचारधाराले स्वतन्त्रता, समानता, सामाजिक उदारवादलाई बढि प्राथमिकता दिन्छन् भने समलिङ्गी विवाह, गर्भपतन, आप्रवासनमा खुकुलो निति अवलम्बन गर्दछन् । महिलाहरुलाई अधिकार दिनुपर्छ भनेर प्रखररुपमा आवाज बुलन्द गर्दछन् । राज्य र धर्म अलग रहनु पर्दछ भन्ने मान्यता राख्दछन् भने देश धर्म निरपेक्ष हुनुपर्दछ, राज्यको कुनै धर्म हुदैंन भन्ने कुरामा विश्वास राख्दछन् । मृत्युदण्डको विरुद्धमा उभिन्छन् ।उत्पादनका साधनहरु जस्तै जमिन, कलकारखानाहरु सरकारको नियन्त्रणमा हुनु पर्दछ तथा शिक्षा र स्वास्थ्यलाई सरकारको प्रमुख जिम्मेवारी हो भन्ने रुपमा ग्रहण गर्दछन् । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधाहरु जनताहरुले निशुल्क पाउनुपर्छ भन्ने विचारधाराले प्रेरित हुन्छन् । त्यही हुनाले हुनेखाने जनता तथा पूँजिपतिहरुलाई बढि कर लगाएर विपन्न वर्ग तथा बृद्धबृद्धाहरुलाई सहायता गर्ने निती लिन्छन् । वामपन्थ र दक्षिणपन्थलाई आजकल यत्तिले मात्र व्याख्या गरेर पुग्दैन । कुन राजनीतिक पार्टी कतिसम्म वामपन्थी छ अथवा दक्षिणपन्थी छ भनेर थाहा पाउन स्केलमा व्याख्या गर्नु पर्ने हुन्छ । यदि स्केलको बिचलाई सेन्टर मान्ने हो भने सेन्टर टु लेफ्ट (वामपन्थ अथवा समाजवाद), सेन्टर टु फार लेफ्ट (घोर वामपन्थ) तथा अन्तिम विन्दु चाँहि अधिनायकवाद हुन्छ ।
अर्कोतर्फ स्केलको सेन्टर टु राईटलाई दक्षिणपन्थ भनिन्छ भने सेन्टरको फार राईटलाई घोर दक्षिणपन्थ भनिन्छ । यता स्केलको राईटको अन्तिम विन्दुलाई फाँसीवाद भनिन्छ ।

दुबै विचारधाराको अन्तिम रुप चाँहि एकदलिय तानाशाही नै हो । अधिनायकवादी वामपन्थको उदाहरणको रुपमा उत्तरकोरियालाई लिन सकिन्छ भने फाँसीवादी दक्षिणपन्थको उदाहरणको रुपमा हिटलर मुसोलिनीलाई लिन सकिन्छ ।
वामपन्थ र दक्षिणपन्थको उदाहरणहरु हेर्दाखेरी सबैभन्दा प्रष्ट रुपमा अमेरिका पार्टीहरु हुन् । डेमोक्रेटिक पार्टी समाजवादी वामपन्थी हो भने रिपब्लिकन चाँहि दक्षिणपन्थी पार्टी हो । बेलायतको लेबर पार्टी सेन्टर टु लेफ्टहो भने कन्जरभेटिभ चाँहि दक्षिणपन्थी पार्टी हो । डेनमार्कमा शोसियल डेमाक्रेट सेन्टर टु लेफ्ट पार्टी हो भने भेन्सत्रे पार्टी दक्षिणपन्थी पार्टी हो । त्यसैगरी डेनिस पिपुल्स पार्टी चाँहि घोर दक्षिणपन्थी हो ।

हाम्रो पडोसी देश भारतमा चाँही भारतीय जनता पार्टी दक्षिणपन्थी पार्टी हो भने कँग्रेस आई चाँही सेन्टर टु लेफ्ट समाजवादी पार्टी हो ।

नेपालको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी दक्षिणपन्थी हो भने नेपाली काँग्रेस सेन्टर टु लेफ्ट यानी वामपन्थी पार्टीको रुपमा नै पहिचान गर्न सकिन्छ । किनभने काँग्रेसले विश्वास गर्ने समाजवाद वामपन्थी विचारधारा अन्तरगत नै आउँछ । एमाले र माओवादी केन्द्र घोर वामपन्थी पार्टीहरु हुन् । यी दुबै पार्टीको कल्पना भनेको समाजवाद हुँदै साम्यवाद हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म आफ्नो कित्ता प्रष्ट गरेको छैन । रास्वपाको मुख्य नारा शुशासन र ईमान्दारितालाई बनाएको छ र कल्याणकारी राज्यको नै परिकल्पना गरेको छ ।

अहिले विश्व परिवेशमासेन्ट्रिष्ट पार्टी अर्थात मध्यमार्गी पार्टीहरु पनि बनिरहेका छन् । उदाहरणको लागि दुई पटक डेनमार्कको प्रधानमन्त्री भईसकेका लार्स लोक्के रासमुशनले सन् २०२१ मा मोडरेट पार्टी स्थापना गरे । त्यसैगरी अरविन्द केजरीवालले आम आदमी पार्टीलाई चाँहि मध्यमार्गी पार्टीको रुपमा व्याख्या गर्दछन् । केजरीवालले भन्ने गरेका छन् कि आम आदमी पार्टीले कट्टर राष्ट्रवाद, कट्टर ईमान्दारिता र सर्वजनहितायः को सिद्धान्त मान्दछ । पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनले सन् १९९२ मा डेमोक्रेटिक पार्टीलाई सेन्ट्रिष्ट पार्टीको रुपमा उभ्याउन चाहेका थिए ।

दक्षिणपन्थको आर्थिक उदारवादको नितीले देश विकास गर्न तथा देशमा कलकारखाना, रोजगारीको वातावरण बनाउनमासहयोग गर्छ भने वामपन्थको सामाजिक वितरण, न्याय, सेवा सुविधामा सबैको पहुँच जस्ता विचारधारा मनन योग्य छन् ।

पहिले पहिले संसारमा राजाहरुको शासन थियो यानी दक्षिणपन्थी शासन व्यवस्था थियो । आफ्नो राज्यसत्ता टिकाउनको लागि जनताहरुको कल्याण, हकहितको लागि काम गर्नुपर्ने बाध्यता थियो । अहिले पनि अरब देशहरुमा राजा, सुल्तानहरु छन् जहाँ जनताहरुले राम्रो सेवासुविधाहरु प्राप्त गरेका छन् । कर तिर्नु पर्दैन तर नागरिकको रुपमा पाउनु पर्ने अभिव्यक्तिको स्वतन्त्रता, महिला अधिकारबाट बञ्चित भएर बस्नु परेको छ ।

दक्षिणपन्थ पूँजिवादबाट प्रभावित छ भने वामपन्थ चाँही समाजवाद र कम्यूनिष्ट विचारधाराबाट प्रभावित छ ।

पूँजिवादमा व्यक्तिले आफ्नो योग्यता र क्षमता अनुसार काम गर्छ भने प्रतिफलमा आफ्नो पूँजिको आधारमा प्राप्त गर्दछ । त्यो पूँजि पैसा, जमिनवा श्रम हुन सक्छ । त्यसैले पूँजिवादी शासनमा धनीहरुको प्रगति हुँदै जान्छ भने आफ्नो श्रम बेच्ने मजदूर वर्गले आफ्नो जिवन मात्र निर्वाह गर्ने वातावरण हुन्छ ।

१९ औं शताब्दीमा पूँजिपतिहरुले मजदूरहरुको शोाषण गरेको देखेर कार्ल माक्र्सले सन् १८४८ मा “कम्यूनिष्ट मेनिफेस्टो” तथा सन् १८६८ मा “दास क्यापिटल” लेखेर संसारका मजदूरहरुलाई एक हुन अभिप्रेरित गरे । कार्ल माक्र्स एउटा दार्शनिक थिए । उनले कम्यूनिष्ट विचारधाराको वकालत गरे जसमा वर्ग विहिन समाजको परिकल्पना गरिएको छ । जहाँ सबैलाई आवश्यकता अनुसार वस्तु प्राप्त हुन्छ । कमन पिपुलको शासन भन्ने अवधारणाबाट कम्यूनिष्ट विचारधारा आएको हो ।

कम्यूनिष्ट विचारधारामा व्यक्तिले आफ्नो क्षमता र योग्यता अनुसार काम गर्छ र आफ्नो आवश्यकता अनुसार वस्तु र सेवा प्राप्त गर्दछ । यहि विचारधारा अन्तरगत लेलिनले रुसमा र माओले चीनमा शासन गरे । तर कार्ल माक्र्सले भने जस्तो समाजवाद हुँदै साम्यवाद प्राप्त भएन । दुबै देशले आर्थिक विकासको लागि कुनै न कुनै रुपमा पूँजिवादलाई स्वीकार गर्नु नै प¥यो । कम्यूनिष्ट विचारधारामा बढि योगदान गर्नेलाई पुरस्कृत गर्ने ठाउँ थिएन ।त्यसपछि समाजवादको अवधारणा आयो । समाजवादमा समाज प्रमुख हुन्छ । समाजवादमा व्यक्तिले आफ्नो योग्यता र क्षमता अनुसार काम गर्छ र प्रतिफलमा भने आफ्नो योगदानको आधारमा प्राप्त गर्दछ । यो विचारधारा बढि व्यवहारिक भएको हुनाले धेरै देशहरु अंगीकार गरे ।

सन् १९३० को दशकमा संसारमा द ग्रेट डिप्रेशन आयो । जसले विकसित देशहरुको अर्थतन्त्र तहसनहस भयो । यसको प्रमुख कारण त्यतिबेलाको बेलगाम पूँजिवाद थियो । अर्थशास्त्री जोन मेनार्ड किन्जले राज्यको अर्थतन्त्रलाई खुला रुपमा वा स्वतन्त्र छोड्नु हुँदैन । मौद्रिक निती र वित्तिय नीति प्रयोग गरेर सरकारले हस्तक्षेप गर्नुपर्छ भनेर सल्लाह दिए । र यसले राम्रो काम पनि ग¥यो ।

१९६० को दशकबाट स्क्यान्डिनेभियन देशहरु जस्तैनर्वे, डेनमार्क, स्विडेनले कल्याणकारी राज्यको अवधारणा अपनाए । कल्याणकारी राज्यमा पनि यी देशहरुले पूँजिवादलाई ठाउँ दिएको छन् भने जनताहरुको आधारभूत आवश्यकताको निशुल्क पूर्ति गरेका छन् ।

पूँजिपति, व्यापारी, रोजगारमा भएकाले उच्च कर तिर्नु पर्छ भने त्यही रकमले गुणस्तरीय निशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्दछन् ।पैतृक सम्पत्तिको हस्तान्तरण हुँदा राज्यले उच्च कर लिन्छ । कल्याणकारी राज्यको परिकल्पना यहाँ सफल भएको देखिन्छ । पूँजिवाद र समाजवादको मिश्रणबाट बनेको कल्याणकारी राज्यको सिद्धान्त एकदमै व्यवहारिक छ ।

अहिलेको सन्दर्भमा संसारमा धेरै देशहरुले समाजवाद, कल्याणकारी राज्यको पाईला पछ्याउने कोशिस गरेको देखिन्छ भने सँगसँगै धेरै देशहरुमा आफ्नो पहिचान, धर्म, आप्रवासन नीतिमा संकिर्ण हुँदै गएको देखिन्छ । यसको कारण विश्वको अहिलेको जनसंख्या आठ अरब छ भने स्रोत साधनहरु सिमित छन् । त्यसैले विश्वका धेरै राजनीतिक दलहरुलाई सिद्धान्तमा समाजवादी र वामपन्थी भए पनि व्यवहारमा दक्षिणपन्थी देखिनु पर्ने बाध्यता छ ।

दक्षिणपन्थीहरु आर्थिक विकासको लागि पर्यावरण र वातावरणको दोहन गर्न पनि पछि पर्दैनन् भने वामपन्थीहरु आर्थिक लाभको लागि पर्यावरण दुरुपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्दछन् । चरम औद्योगिकरणले गर्दा गएको सय वर्षमा पृथ्वीको डेढ प्रतिशत तापक्रम बढिसकेको छ । ग्लोबल वार्मिङ्गलाई नियन्त्रण गर्न सन् २०१६ मा प्रसिद्ध पेरिस एग्रिमेन्ट भएको थियो । धेरै देशहरुले आफ्नो सहमती जनाउँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जो दक्षिणपन्थी रिपब्लिकन पार्टीका थिए, उनले पेरिस एग्रीमेन्टले लागू गरेको शर्तहरु मान्न इन्कार गरेका थिए । अमेरिकालाई पेरिस एग्रिमेन्टबाट अलग गरेका थिए । पछिसन् २०२० मा जो वाइडन राष्ट्रपति हुँदा फेरी यो एग्रिमेन्टको पक्षमा अमेरिका उभिएको थियो । किनभने डेमोक्रेटिक पार्टीले सेन्टर टु लेफ्टको सिद्धान्तलाई मान्दछ । त्यसैले देशले अवलम्बन गरेकोराजनैतिक सिद्धान्त तथा नेतृत्वको क्षमता र दूरदर्शिताले त्यो देशको आगामी भविष्यको मार्गप्रशस्त गर्दछ ।