Close This

ब्रेकफाष्ट वीथ बाह्रसिंगा

शनिबार कार्तिक ४, २०८०/ Saturday 10-21-23
दीर्घराज उपाध्याय


कञ्चनपुर, ४ कार्तिक । 

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा साहित्यकार जीवा लामिछानेले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सफारीपछि सटिक यात्रा अनुभव व्यक्त गरे । शिर्षक दिए, ब्रेकफाष्ट वीथ बाह्रसिंगा ।

धनगढीको ब्रेकफाष्ट छोडेर बाह्रसिंगाको झुण्ड हेर्न उत्साही भएर गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त सहितको टीमसंगै बिहानै कञ्चनपुर पुगेका लामिछानेले चार घण्टा लामो शुक्लाफाँटाको सफारीलाई ७० शब्दमै सटिक र मिठो तरिकाले व्यक्त गरे । उनी लेख्छन्, नेपालको पर्यटन व्यवसायका पायोनियर रुसी नागरिक बरिस लिसानेभिचको जीवनगाथा समेटिएको एक पुस्तक छ, ‘टाइगर फर ब्रेकफास्ट’ । टाइगरसंग नभए पनि हामीलाई आज बाह्रसिंगाका बथानसगैं शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ब्रेकफास्ट गर्ने अवसर मिल्यो । 

संसार भ्रमणको अनुभव र भोगाईलाई मिहीन र मिठो ढंगले देश देशावर मार्फत व्यक्त गरिसकेका लामिछानेले शुक्लाफाँटाको भ्रमण र अनुभवका बारेमा बिस्तृतमा त लेख्ने नै छन्, सटिक प्रतिक्रियामा शुक्लाफाँटाको महत्व र भ्रमणलाई अफ्रिकी जंगलको सफारीसंग तुलना गर्न भ्याए । उनी अगाडि लेख्छन्, अफ्रिकी जगंल सफारीको झल्को मेटाउने (बिशाल घाँसे मैदान र ठूलो झुण्डमा देखिने जंगली जनावरका कारण) कन्चनपुर जील्लाको यो राष्ट्रिय निकुन्ज बाह्रसिंगाका अतिरिक्त जंगली हात्ती, गैंडा, पाटेबाघ, चितुवा, जरायो, चित्तल, लगुना लगायत अन्य वन्यजन्तुका लागि पनि प्रसिद्ध छ ।

३०५ बर्ग किमीमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र ५५ बर्ग किमीमा फैलिएको छ, घासे मैदान । आँखाले देखुञ्जेल फाँट मात्र देखिन्छ । त्यसैले जो कोहीको जिज्ञासा हुन्छ, फाँटभन्दा पर के होला ? त्यो फाँट जसलाई एसियाको दोस्रो ठूलो घासे मैदान मानिन्छ । त्यही घासे मैदानका बिभिन्न भागमा बनाईएका छन्, बाह्रसिंगा र अन्य जनावर हेर्न मिल्ने गरी अग्ला मचानहरु । चार तले काठे मचानको चौथो तलामा व्यवस्था गरिएको थियो, ब्रेकफाष्ट । जहाँबाट बाह्रसिंगाको झुण्ड अवलोकन गर्दै ब्रेकफाष्टको स्वाद लिईरहेका थिए, लामिछानेसंगै नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेल, एनआरएनएका अध्यक्ष पन्त, सल्लाहकार कुल आचार्य । साथमा थिए, संघका पदाधिकारी र सदस्यहरु पनि ।

ओहो ! यो त झोलुंगे पुल जस्तै हल्लिदो रहेछ, मचानमाथि चढ्दै गर्दा गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले डर मिश्रित स्वरमा भने, शुक्लाफाँटा त गजवको रहेछ । 

ब्रेकफाष्ट र सफारीको व्यवस्थापन गर्ने पर्यटन व्यवसायी परमानन्द भण्डारी सुनाउदै थिए, अन्य निकुञ्ज तथा जंगलमा ‘टाइगर फर ब्रेकफास्ट’ मात्र हुन सक्छ । शुक्लाफँटामा त समय र मौसम अनुसार सबै जंगली जनावर हेर्दै ब्रेकफाष्टको मजा लिन मिल्छ, यही नै हो, शुक्लाफाँटाको विशेषता ।

हो पनि, यता मचानमा ब्रेकफाष्ट लिदै गर्दा मुन्तिर मयुर उन्मुक्त भएर नाँचिरहेको थियो । भण्डारी सुनाउदै थिए, यहाँ प्राय जसो बाघ पनि सजिलै हेर्न मिल्छ । सयौको संख्यामा बाह्रसिंगाको झुण्ड आँखा अघिल्तिर देखिनु त सामान्य कुरा हो ।