कंगोमा मृत्यु भएका डोटीका सिल्लाको शव ल्याउन समस्या

धनगढी, ४ कार्तिक ।
अफ्रिकाको कंगोमा मृत्यु भएका डोटीका युवाको शव ल्याउन कठिनाई भएको छ ।
कङ्गोमा कार्यरत डोटी जिल्ला आदर्श गाउँ पालिका ६ अगेडाका सुरेश सिल्लाको उपचारका क्रममा पाँच दिन अघि मृत्यु भएको थियो । तर अहिलेसम्म पनि उनको शव ल्याउने टुंगो छैन ।
मलेरिया र जण्डीसबाट सिकिस्त बिरामी भएपछि कंगोको लुवुम्बासी स्थित अस्पतालमा भर्ना गरिएका २७ बर्षिय सिल्लाका आइसियुमा उपचारका क्रममा मृत्यु भएको थियो ।
उनी नेपाली राहदानीमा ६ महिनाअघि भारतको चेन्नईबाट कंगो पुगेको बताईन्छ । चेन्नईमा उनी काम गर्ने भारतीय व्यापारीले नै कंगो लगेका थिए । ती व्यापारीको कंगोमा रहेको घरमा उनी छ महिना यता काम गर्दै आएका थिए ।
सिल्लाको मृत्युपछि उनको परिवारलाई क्षतिपूर्ति दिन ती व्यापारीले आनाकानी गरेका थिए । तर अहिले भने ८ लाख भारतीय रुपैया मृतकका परिवारजनलाई दिन सहमत भएको एनआएनए कंगोका अध्यक्ष बिष्णु गिरीले बताए ।
सिल्ला श्रमस्वीकृति नलिई भारतबाट विदेश गएकोले नेपाल सरकारले उपलब्ध गराउने बिमा र अन्य सेवा सुबिधाबाट उनको परिवार बञ्चित भएको छ । गिरीले उनको शव नेपाल ल्याउन सरकारसंग आग्रह गरिरहेको बताएका छन् । सिल्लाका पत्नी र डेढ वर्षका छोरा छन् ।
तपाईको प्रतिक्रिया