Close This

आमाको चीरहरण गर्ने छोरा

शनिबार कार्तिक १८, २०८०/ Saturday 11-04-23
कलावती जोशी

केही बर्ष अघि कैलालीमा जेन्डर अडिटको सिलसिलामा मैले आमालाई बलात्कार गरेको छोराको केसको बारेमा थाहा पाएको थिए । जीवनमा पहिलो पटक यस्तो अमानवीय घटनाको बारेमा थाहा पाउँदा धेरै दिन सम्म मन सारै विक्षिप्त भएको थियो । अझै पनि ती पीडित आमाको अनुहार झलझल्ती सम्झी रहन्छु । किन र कसरी  घट्न गयो त्यस्तो कुकृत्य ? को हो यस्को जिम्मेवार ? के छोरा मात्रै दोषी  हो त ? कतै हाम्रो पितृसत्तात्मक समाज, महिला लाई भोग्याको रुपमा लिने सोच, रिति रिवाज, वातावरण, मानसिक अवस्था, मदिरा र लागु पदार्थ सेवन, कानुन, संस्कार, आधुनिकता, पश्चिमा संस्कृति प्रतिको आकर्षण, अश्लील सिनेमा, धर्मको अपव्याख्या, परिवार टुक्रिनु, पूंजीवादी सोच यी आदि आदि कुराहरु दोषी छैनन र ? हामी सभ्य समाज को परिकल्पना गर्दै छौं । तर आदिमकालको मानसिकतामा बाँचेका छौ  कि ?

केही दिन यता त्यस्तै एउटा घटना सामाजिक सञ्जालमा भाइरल भएको छ । सोझै हेर्दा आमा छोराको बीचमा केही कुरामा वाद– बिवाद भएको जस्तो लाग्छ । आमा बुवाको कुरा न मिलेर दुबैको  छोड्पत्र भएको ५ बर्ष भइ सकेको रहेछ ।  उनीहरुका आ– आफ्ना कमी कमजोरी अवश्य होलान । र, छन् । दुईजनाबीच विश्वासको संकट भयो । दुई जना संगै बस्न सक्ने अवस्था भएनन, उनीहरु त्यस्तो अवस्थामा अलग हुनु स्वाभाविक कुरो हो । नेपालको प्रचलित कानुनी व्यवस्थाका आधारमा उनीहरुका बीचमा सम्बन्ध बिच्छेद भयो । उनीहरु त्यसपछि अलग अलग बस्न थाले ।  यसैबीच बुवाले अर्को बिहे गरे । बालिग भईसकेका छोराछोरीलाई बिबेक प्रयोग पाउने छुट छ । उनीहरु पनि आफूले ईच्छ्याएको व्यक्ति(बुवा)संग बस्न थाले । यतिसम्म पनि स्वाभिवक नै मान्न सकिन्छ ।

यसैबीच छोराले आमालाई नै लक्षित गरी जव ¥याप गाए । र, ¥यापमा आफ्नै जन्मदिने आमामाथि नानाथरीका आरोप लगाए । र, त्यसको प्रतिवादमा आमा जसरी प्रस्तुत भईन । त्यसले मलाई फेरि बिक्षिप्त बनायो । संसारमा सबैभन्दा पवित्र सम्बन्ध मानिन्छ, आमा र छोराको । यहाँ त न त्यो विश्वास बाँकी रह्यो । र, त्यो सम्बन्ध ।

छोराले आमाको चरित्र माथि धावा बोले । यो यो एक प्रकारको आमामाथि गरिएको बलत्कार नै हो । केही वर्षअघि मैले नजिकबाट देखेको बलत्कारको घट्ना, जहाँ छोराले आमालाई बलत्कार गरेका थिए, यो घट्ना पनि त्यो पुरानो घट्नासंग मेल खान्छ । फरक यति छ कि, त्यहाँ शारीरीक रुपमै छोराले बलत्कार गरेका थिए । यहाँ, मानसिक रुपमा आमामाथि बलत्कार भएको छ ।

बलात्कारीले रंग, वर्ण, जात, राम्रो, नराम्रो, नाता सम्बन्ध, हैसियत, चरित्रवान र चरित्रहीनमा फरक छुट्टाएर कुकृत्य गर्दैन । त्यस्ले मात्र आफ्नो हवसको शिकार बनाउछ, महिलालाई । जस्तै, यी छोराले आमा चरित्रहीन भएको तर्क दिदै सामाजिक सञ्जालमा गीत मार्फत गरेको बेइज्जती आमाको दूधको अपमान हो । वात्सल्यताको लिलामी हो । आमाको स्नेह, समर्पण, बलिदानको लिलामी हो । आमा संसारसंग कठोर हुन सक्छिन । तर छोराका लागि आमाको भन्दा न्यानो काख अर्को हुदैन ।  एउटा छोराबाट यी सबै भावनामाथि बलत्कार भएको छ ।

यो कस्तो समाज हो, जहाँ छोरा र आमालाई दुई कित्तामा राखेर तर्क बितर्क भईरहेको छ । र, धेरै ठूलो जमातले आमालाई नै लाञ्छना लगाईरहेको छ । आमालाई नै गलत चित्रण गरिरहेको छ । छोराले ठिक ग¥यो भन्नेको कमि छैन । चिन्ता यो होईन, एउटा महिलालाई गलत चित्रण गरियो । चिन्ता त यो हो कि, एउटा छोराले आमाको हुर्मत लिनुलाई जायज ठह¥याउन थालियो भने भोलि सबै आमाहरुले यसैगरी अपमानको बीष पिएर बाँच्न पर्नेछ । छोराको कृत्यलाई अनुमोदन गरेर सभ्य र सुसंस्कृत समाजको परिकल्पना कदापि गर्न सकिदैन ।

आमा, जसले नौ महिना आफ्नो सन्तानलाई नौ महिना गर्भमा राखेर हुर्काउछिन । जो आफू सुकेर छोरालाई हुर्काउछिन । जसलाई मृत्युको भय हुदैन, जो आफ्नो सन्तानलाई जीवन दिएर हाँसीहाँसी प्राण त्याग्न तयार हुन्छिन । जो आफ्नो दुध चुसाएर छोरालाई जीवन दिन्छिन् । जसले आफू भोकै बसेर सन्तानको पेट भर्छिन । जो, आफू अन्धकारमा हुन्छिन्, तर सन्तानलाई उज्यालो संसार देखाउछिन् ।

हो, आमा, त्यो दियो हुन्, जो आफू जलेर संसारलाई उज्यालो दिन्छ । आफ्ना रहर, आकांक्षा र सपनाहरुलाई दवाएर, लुकाएर, जो सन्तानको सपनालाई आफ्नो सपना ठान्छिन्, त्यही अद्भूत शक्तिको नाम, आमा हो ।
त्यही शक्तिलाई कमजोर बनाउने काम यतिबेला भईरहेको छ ।

महिला भोग्य वस्तु होईन । उसको चरित्र, उसका प्रजनन अंगहरु, उसको कामुकता, उसले कोसंग शारीरीक सम्बन्ध राख्छे, उसको शरीर, उसको शरीरको बनावटले निर्धारण गर्ने चिज होईन । तर समाज भने महिलाको यही पाटोलाई चरित्रसंग जोडेर अपव्याख्या गर्छ । एउटा महिला कोसंग हिड्यो ? कोसंग बोल्यो ? कोसंग साँझपख बजारमा निस्कियो, के यही कुराहरुले महिलाको चरित्रको चित्रण गर्नु न्यायसंगत हुन्छ । पक्कै हुदैन ।

एउटा महिला सफल भई भने उसको सफलताको पछाडि उसको प्रजनन अंगको योगदान भएको भन्न रत्तिभर संकोच नमान्ने सोच पाल्ने आम पुरुषको सोच, त्यो छोरामा पनि छताछुल्ल भएको छ ।

महिला पनि सक्षम छन् । यो समाजको नेतृत्व महिलाले पनि गर्न सक्छन् । महिला केवल मजाक वा हाँसोका पात्र मात्र होईनन । कम्तिमा महिलाको कोखबाट जन्मिएका पुरुषले आफैलाई जन्माउने आमाको ईज्जत लिलाम गरेर दिन खोजेको सन्देश के हो ? यसको गहिराई र यसले समाजमा पार्ने दीर्घकालीन असरका प्रति आँखा चिम्लिदा, एउटा आमाले आफ्नै छोराबाट भोगेको बलत्कारको शिकारको मूल्य आगामि दिनमा कैयौं आमाहरुले चुकाउनु पर्नेछ । सबैलाई यसको हेक्का हुन जरुरी छ ।