बेहोस बनाएर भारतीय व्यवसायीको घरबाट नेपालीहरुद्धारा तीन करोड बराबरको चोरी
धनगढी, २५ कात्तिक ।
डडेल्धुरा र कैलालीका चार जना युवायुवती भारतको हरियाणा राज्यको गुडगाँउ डीएलएफ–१ स्थित व्यापारी अचर्ल गर्गको घरबाट एक करोड ८६ लाख भारतीय रुपैया (दुई करोड ९७ लाख रुपैया) बराबरको धनमाल चोरेर फरार भएका छन् ।
एक करोड ५० भारतीय रुपैया बराबरको सुन चाँदी, ३५ लाख भारतीय रुपैया नगद र १० लाख पर्ने ईनोभा गाडी चोरी भएको अचल गर्गको जाहेरीमा उल्लेख छ ।
२६ अक्टोबर (कात्तिक ९ गते) राति भारतीय व्यापारी गर्गको घरबाट उनका ६० वर्षीय बुवा पुरुषोत्तम गर्ग र आमा अनिता गर्गलाई खानामा वीष हालेर बेहोस बनाई चार जना नेपाली तीन करोड रुपैया बराबरको धनमाल चोरेर फरार भएका हुन् । नेपाल प्रहरीले चारैजनाको खोजी गरिरहेको जनाएको छ । उनीहरुलाई भारतीय सीमकार्ड उपलब्ध गराउने एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले गोदावरी नगरपालिका–८ स्याँउलेका ३० वर्षीय बाजी भुललाई कात्तिक १६ गते पक्राउ गरेको जनाएको छ ।
उनले आफ्नो नामबाट चोरीमा संलग्न हुनेहरुलाई सिम कार्ड उपलब्ध गराएको पाईएको छ । सोही आधारमा प्रहरीले बाजीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसारमा चोरीमा संलग्न भएको आरोपमा भारतमा दर्ता भएको जाहेरीका आधारमा डोटीको केआइ सिंह गाँउपालिका –२ तिखातर घर भई हाल उपमहानगरपालिका–२ सन्तोषीटोलका शंकर भुल, कैलालीको गोदावरी नगरपालिका - ८ स्याउलेका अमर भुल, डडेल्धुरा आलितालका बिरेन्द्र सार्की र कैलालीको सुगरखालकी यशोदा विश्वकर्माको खोजी भईरहेको छ ।
गर्गमा घरमा बिरेन्द्र सार्की ११ अक्टोबर र यशोदा विश्वकर्मा १९ अक्टोबरदेखि काम गर्दै आएका थिए । बिरेन्द्रले आफूले काम गर्न थालेको एक हप्तापछि आफ्नो गाँउले बहिनीका रुपमा चिनाउदै गर्गकै घरमा काममा राख्न लगाएका थिए ।
दुबै जना शंकर भुलको योजनामा गर्गको घरमा काम गर्न थालेको र घरमा बृद्ध बुवा आमा मात्र भएको मौका छोपी उनीहरु चारै जना मिलेर चोरी गरेको देखिएको छ ।
व्यवसायी अचल बाहिर गएको मौका छोपी यशोदा र विरेन्द्रले बृद्ध गर्ग दम्पत्तीलाई खानामा वीष हालेर खुवाएर बेहोस बनाए । त्यसपछि उनीहरुले शंकर भुल र अमर भुललाई बोलाए । र, घरभित्रका सबै महंगा सामानहरु लिएर राति ११ बजे त्यहाँबाट चारै जना निस्किए ।
चोरी भएको दिन (२६ अक्टोबर) बिहान अचल पत्नी सगुन र छोरी कृधा सहित जयपुर गएका थिए । सोही राति ११ बजे बहिनी निकिताले घरमा बुवाआमा बेहोस अवस्था भेटिएको र घरमा चोरी भएको जानकारी दिएपछि अचल रातारात जयपुरबाट घर फर्किए ।
त्यसको भोलिपल्ट उनले प्रहरी कहाँ जाहेरी दिए । गर्गको जाहेरीपछि नेपालस्थित भारतीय दूतावास र ईन्टरपोलले नेपाल प्रहरीलाई उक्त घट्नामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न पत्राचार गरेको छ ।
अचलको दिल्लीको शालिमारमा अचलको मेटल उद्योग छ । जहाँ अढाई सय भन्दा कर्मचारी कार्यरत छन् । गर्गले आफ्नो घर पुरै रित्याएर चोरी भएको पश्चिम टुडेलाई बताए । आमा, पत्नी र छोरीका सबै गहना, कर्मचारीलाई तलव दिन राखिएको रकम सबै चोरी गरेर लगे, पश्चिम टुडेसंगको कुराकानीमा गर्गले भने, विश्वास गरेर राखेका नेपालीहरुले नै बर्बाद गरे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले गर्गमा चोरी गर्ने समूहको खोजी कार्य तिब्र पारिएको र चोरी गर्ने समूहलाई सहयोग गर्ने बाजी भुललाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बताए ।
प्रहरी भन्छ– शंकर भुल दर्जनौ चोरीमा संलग्न
प्रहरीले चोरीमा संलग्न शंकर भुल यसअघि पनि दर्जनौ चोरीका घट्नामा संलग्न रहेको पाईएको छ । जसमध्ये आधा दर्जन भन्दा बढि घट्नामा उनीमाथि मुद्दा पनि चलेका छन् । उनी चोरीका घट्नामा पक्राउ परेर छुटिसकेका व्यक्ति हुन् ।
डोटीको केआइ सिंह गाँउपालिका –२ तिखातर स्थायी घर भएका ३३ वर्षीय शंकर भुल हाल कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोल बस्दै आएका छन् । उनीसंगै चोरीमा मुछिने अर्का व्यक्ति हुन्, डडेल्धुरा आलिताल गाँउपालिका–५ भित्रीसेनका २६ वर्षीय विरेन्द्र सार्की ।
शंकरको नेतृत्वमा घोल गाड्ने (भारतमा चोरी गर्नेहरु) हरुको समूह भारतका बिभिन्न शहरमा परिचालित रहेको बताईन्छ । शंकरले नै कुन व्यापारीको घरका कामदारको आवश्यकता छ,पहिले त्यो पत्ता लगाउछन । र, त्यही घरमा आफ्नो समूहका व्यक्तिहरुलाई काम गर्न खटाउछन् । शंकर आफू भने काम गर्दैनन । उनी धनगढीमा भन्दा बढि दिल्लीमा बस्छन । र, दिल्लीबाट शंकरले घोल गाड्ने समूहको नेतृत्व गर्ने एक प्रहरी अधिकृतले बताए ।
उनी कोही नभएको मौका छोपी लुटपाटको योजना बनाउछन । र, जति घरमा उनको समूहले लुटपाट र चोरी गरेको छ, ती सबै घरमा लुट्नु अघि घरका सबै सदस्यहरुलाई बेहोस गर्ने गरेको पाईएको छ । चोरी गर्ने क्रममा भने शंकर आफू पनि संलग्न हुने गरेका छन् ।
प्रहरीका अनुसार शंकरका बिरुद्ध ०७१ ७२ मा दिल्लीमा सुन र डायमण्ड चोरी गरेको आरोप छ । त्यस्तै शंकरको समूह २०७६ जेठ २६ गते भारत दिल्ली अशोक बिहारका विवेक अग्रवालको घरबाट दुई करोड भारतीय रुपैया बराबरको धनमाल चोरेर गरेको आरोपमा पक्राउ परेको थियो । उनीहरुका बिरुद्ध संगठित अपराधको मुद्दा चलाए पनि केही समयपछि उनीहरु छुटेका थिए । २०७९ फागुन ५ मा फरिदाबादमा चोरी गरेको आरोपमा शंकर पुनः पक्राउ परे । उक्त घट्नामा उनले ४० लाख फिर्ता गरे । सन २०२३ फेब्रुअरी १४ मा पञ्जावको अमृतसरमा उनीमाथि अर्को चोरीको मुद्दा लाग्यो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले भारतमा भएको चोरीमा नेपालमा मुद्दा चलाउने अधिकार नभएकोले चोरीमा संलग्न भएका व्यक्तिहरु बिगतमा सहजै छुट्ने गरेको बताए ।
के हो घोल गाड्नु ?
आफूले काम गर्ने घरका मालिक र परिवारका सदस्यहरुलाई बेहोस बनाएर वा उनीहरु घरमा कोही नभएको मौकामा घरको सबै धनमाल, सुन चाँदी, नगद लिएर भाग्नुलाई उनीहरुको कोड भाषामा घोल गाड्नु भनिन्छ । पुरै घर रित्ताएर भाग्ने काम नै घोल गाड्नु हो । भारतमा घोल गाड्ने धन्दामा नेपालीहरुको संगठित अपराधिक समूह सक्रिय छ । त्यो समूहका सदस्यहरुले काम गर्दैनन । बरु नेपालीहरु कहाँ, कुन धनी मान्छेका घरमा काम गर्छन, त्यसका बारेमा जानकारी लिन्छन । र त्यहाँ काम गर्ने नेपालीहरुसंग सम्पर्क बढाउँछन । र उसलाई प्रलोभनमा पारी सबै धनमाल लुटेर फरार हुन्छन ।
उनीहरुले लुटपाटका क्रममा मालिक र परिवारका सदस्यलाई बेहोस गराउने वा मालिक र परिवारको सदस्य घरमा कोही नभएको मौका छोपी घर पुरै रित्याएर लुट्ने गरेका छन् । कतिपय घरमा लुटपाटका क्रममा यस्तो समूहले मालिक र परिवारका सदस्यहरुको हत्या गर्ने गरेको पनि पाइएको छ ।
एक शहरमा यसरी लुटेर भागेपछि उनीहरु केही समय नेपाल बस्छन । यहाँ सबै धनमाल व्यवस्थापन र बाडचुड गरेपछि फेरि भारतको अर्को शहर पस्छन् । यो क्रम वर्षौदेखि चलिरहेको छ । नेपालीहरुले भारतमा चर्चित हिरोइन हेमा मालिनी, भाग्यश्री, गुजरातको राधे गु्रप अफ ईण्डष्ट्रिज लगायत सयौ घरमा यसरी चोरी गरिसकेका छन् ।
भारतीय प्रहरीको सहयोगमा नेपाल प्रवेश गर्दा र चोरीमा संलग्न नेपालीहरुलाई नेपाली भूमिबाट पक्राउ गरी आफै भारत लैजान खोज्दा भारतीय व्यक्तिहरु पटक पटक पक्राउ परिसकेका छन् । पछिल्लो केही समययता भने घोल गाड्ने नेपालीहरुबाट पीडित भारतीय व्यक्तिहरु नेपालस्थित भारतीय दुतावासको सहयोगमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आउन थालेका छन् ।
तपाईको प्रतिक्रिया