Close This

जाडो छल्न घोडाघोडी आइपुगे आगन्तुक चरा

मंगलबार मङ्सिर ५, २०८०/ Tuesday 11-21-23
Paschim Today
घोडाघोडी तालमा देखिएका जलपन्छी । तस्बिर ः अविनाश चौधरी

नेपालको पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल भएको छ । 
जाडो छल्नका लागि हजारौ किलोमिटर यात्रा गरेर विभिन्न प्रजातिका आगन्तुक चरा घोडाघोडीमा आइपुगेका छन् । साइबेरिया लगायत उत्तरी क्षेत्रमा चिसो बढेपछि त्यहाँबाट विभिन्न प्रजातिका हाँस सहित अन्य जलपन्छी विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा आइपुगेका हुन । 
आगन्तुक चराहरु सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, बेल्चाठूँडे हाँस, खडखडे हाँस घोडाघोडीमा रमाइ रहेका छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुईरो पुच्छ«े हाँस, विजुलागैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठुलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइँसराइँ गरेर घोडाघोडी आइपुगेका छन् । 
जाडो छल्नका लागि कैलाली आइपुगेका यी चराहरु घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा छ महिनासम्म अस्थायी रुपमा बसोबास गर्ने चराविद हिरुलाल डङ्गौराले बताउनुभयो । “साइबेरियासहित उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि हिउँदे आगन्तुक चरा जाडो छल्न घोडाघोडीसहित कैलालीको विभिन्न सिमसारमा आइपुग्ने गर्छन । ति चराहरुको बसोबास हिउँद अवधिभरि यतै हुने गर्दछ”, उहाँले भन्नुभयो । 
हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन । यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गरेका जनाइएको छ । यसैगरी, चीन, तिब्बततिर प्रजनन् गर्ने ठूलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् । 
घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगातिका हिउँदे आगन्तुक चरा देखिने गरेको जनाइएको छ । अक्टोबरदेखि आएका आगन्तुक जलपन्छी मार्चतिर पुनः पुरानै ठाउँतिर फर्कने गरेको बताइन्छ । 
पछिल्लो समय कैलालीमा चरा प्रजातिको सङ्ख्या थपिदैं गएको छ । तर, बसोबास स्थानको विनाश, सिमसार क्षेत्र मासिदै जानु, चराको शिकार, कृषिमा बढ्दो विषादीको प्रयोग लगायतका कारणले संरक्षणमा चुनौती बढिरहेको छ । प्राकृतिक तालतलैयासहित सिमसार क्षेत्रको प्राकृतिक अवस्था बिग्रिने गरी भइरहेको दोहनले चराचुरुङ्गीलाई असर गरिरहेको संरक्षणकर्मीहरु बताउँछन् । प्राकृतिक तालतलैयाको प्राकृतिक स्वरुप र पारस्थितिकीय प्रणाली नबिग्रिने गरी सदुपयोग र व्यवस्थापन गर्न आवश्यक रहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । 
कैलालीको घोडाघोडीमा ७० र भजनी नगरपालिकास्थित पुरैना तालमा ७४ प्रजातिको जलपन्छी पाइएको अभिलेख छ ।