ह्युमानिटी फाउण्डेसनद्धारा गोकुलश्वर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउदै

बुधबार मङ्सिर २०, २०८०/ Wednesday 12-06-23
Paschim Today

काठमाण्डौं, २० मंसिर ।
ह्युमानिटी फाउण्डेसनको अगुवाईमा दार्चुलाको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको छ ।

गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट ८ महिनाअघि नै पु¥याईसक्दा पनि भवन, वत्ती लगायत अत्यावश्यकीय पूर्बाधारको निर्माणमा भएको ढिलाईका कारण सञ्चालनमा आउन नसकेको फाउण्डेसनले जनाएको छ । यद्दपि काठमाण्डौंबाट प्राबिधिकको टोली दुबै अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनका लागि यसै साता आउन लागेको र प्राबिधिक टोलीले ढिलोमा एक महिनाभित्र दुबै अस्पतालका अक्सिजन प्लान्ट सञ्चालनमा ल्याईसक्ने प्रतिबद्धता गरेको छ ।

एक करोड ३५ लाख ५७ हजार १४ रुपैया कुल लागत रहेको अक्सिजन प्लान्ट स्थापनाका लागि हालसम्म सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ५० लाख रुपैया र शैल्य शिखर नगरपालिकाले १३ लाख रुपैया सहयोग गरेको छ । ५० प्रतिशत रकम (६३ लाख रुपैया) भने ह्युमानिटी फाउण्डेसनले व्यहोरेको छ ।

अक्सिजन प्लान्टको कुल लागत एक करोड ३५ लाख ५७ हजार १४ रुपैया रहेकोमा ह्युमानिटी फाउण्डेसनले २०७८ साल जेठ ७ गतेदेखि २०७८ असार २१ गतेसम्म गरी पाँच पटकमा एक करोड २६ लाख लाख रुपैया अक्सिजन आपूर्तीकर्ता मेडीअक्सी प्रालिलाई भुक्तानी गरिसकेको र थप नौ लाख ५७ हजार रुपैया भुक्तानी गर्न बाँकी छ । मेडीअक्सी प्रालिले ढिलोमा एक महिनाभित्र दार्चुलाको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउने जनाएको छ ।

हामीले आपूर्तिकर्तालाई दुई वर्ष अघि नै सम्पूर्ण रकम अक्सिजन प्लान्ट खरीदका लागि भुक्तानी गरेका थियौ । संघीय सरकारले नै फ्रान्सबाट अक्सिजन प्लान्ट ढुवानीमा सहयोग गर्ने प्रतिबद्धता गरेकोमा हामीसंग अरु बिकल्प नहुदा सरकारकै भर परेका थियौ, फाउण्डेसनका अध्यक्ष श्याम तायलले भने, तर संघीय सरकारले नै समयमा प्लान्ट ल्याउन सकेन । र, अक्सिजन प्लान्ट जडानमा ढिलाई भयो ।

ह्युमानिटी फाउण्डेसनको अगुवाईमा कोभिडको पहिलो चरणमा भारतबाट आएका ३० हजार भन्दा बढि नेपालीलाई सीमा क्षेत्रमा निशुल्क खाना र पानी उपलब्ध गरिएको थियो । त्यस्तै फाउण्डेसनको अगुवाईमा डडेल्धुरा अस्पतालमा पीसीआर ल्याव स्थापना गरिएको थियो ।

कोभिडको दोस्रो लहरमा ह्युमानिटी फाउण्डेसनले सुदूर पश्चिमका सरकारी अस्पतालहरुसंगै कोरोना संक्रमितहरुलाई अक्सिजन बैंक स्थापना गरी निशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।

अक्सिजनको अभावमा सुदूर पश्चिममा सो अबधिमा दुई सय ४८ जनाको मृत्यु भएको थियो । आगामि दिनमा कुनै पनि महामारीमा अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाउनु नपरोस भनेर अक्सिजन प्लान्ट स्थापनाका लागि पहल गरेको थियो । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का क्रममा सुदूर पश्चिमका नागरिकको जीवन रक्षाका लागि ह्युमानिटी फाउण्डेसनले कोभिडको पहिलो लहरको शुरुवातदेखि निर्बाह गरेको भूमिकाबाट प्रभावित भई सामाजिक विकास मन्त्रालयले कोभिडको दोस्रो लहरमा फाउण्डेसनलाई एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अनुसार सामाजिक विकास मन्त्रालयले फाउण्डेसनलाई शुरुमा ५० लाख रुपैया सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छौ, अध्यक्ष तायलले भने, सामाजिक विकास मन्त्रालय र यस फाउण्डेसनबीच भएको सहमती अनुसार ईन्फिनिटी होल्डिङको पूर्ण लगानीमा सेती प्रादेशिक अस्पतालमा एउटा अक्सिजन प्लान्ट र दार्चुलाको गोकुलेश्वर अस्पतालमा प्रादेशिक सरकार, ह्युमानिटी फाउण्डेसन र शैल्य शिखर नगरपालिकाको सहकार्यमा एउटा अक्सिजन प्लान्ट जडानको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराउदछौ । एक महिनाभित्रै दुबै अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने आपूर्तिक कर्ताले प्रतिबद्धता गरेको जानकारी गराउन चाहन्छौ ।