एलपीएल : टिकापुरसँग शारदा ९४ रनले पराजित

बिहीबार मङ्सिर २१, २०८०/ Thursday 12-07-23
Paschim Today

कैलाली । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ शंकरण अन्तरर्गतको आजको पहिलो खेलमा यूथ अफ टिकापुरले विजयी सुरुवात गरेको छ । आजको पहिलो खेलमा टिकापुरसँग शारदा सेकेण्डरी स्कुल ९४ रनले पराजित भयो ।

यूथ अफ टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो। 

शारदाको ब्याटिङमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुवास सिंहले १६ रन योगदान दिए। यूथ अफ टिकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १÷१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको यूथ अफ टिकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । 

यूथ अफ टिकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए। प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे। यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदीप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए।   

शारदाको बलिङमा विश्वास पन्त एक्लैले ६ विकेट लिए जुन क्रममा उनले ३.५ ओभरमा ३१ रन खर्चिए।  अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए।

प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।