प्रदेशमा विशेष प्याकेज घोषणा गर्न प्रधानमन्त्रीलाई सुदूरपश्चिमका भौतिक मन्त्रीको आग्रह

कैलाली, २२ मंसिर । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री प्रकाश देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष प्याकेज घोषणा गर्न माग गरेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई मन्त्री देउवाले प्रदेशको विकासको लागि विशेष प्याकेजको माग गरेका हुन् ।
प्रदेशको विकासको लागि धेरै चर्चा गर्यौ अब सपना सकार गर्नु पर्छ मन्त्री देउवाले भने त्यसको लागि प्रधानमन्त्री ज्युले विशेष प्याकेज घोषणा गर्नु पर्छ । उनले सुदूरपश्चिममा लगानी गर्ने खोज्ने लगानीकर्ताको लागी सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताए ।
पन्चेश्वर, पश्चिम सेती र अपर कर्णाली निमार्णमा जोड दिन पनि मन्त्री देउवाले प्रधानमन्त्री प्रचण्डलाई अपिल गरे । उनले सुदूरपश्चिम प्रदेशमा क्रिकेटको ठूलो सम्भावना रहेको भन्दै फाप्ला क्रिकेट मैदानलाई रास्ट्रिय गौरवको आयोजनामा पारी विकास गर्न आग्रह गरे ।
उनले औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाह निर्माणको गर्ने, उत्तर दक्षिण सडक निर्माण गर्न, गेटा मेडिकल कलेज संचालन गर्न र लगानी तथा बिकास सम्मेलनको लागि साथ दिन आग्रह गरे ।
सुदूर पश्चिम महोत्सवको उद्घाटन समारोहमा भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश बहादुर देउवाद्धारा प्रस्तुत वक्तव्य ।
सुदूर पश्चिम महोत्वस उद्घाटन समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ज्यू,
सभाअध्यक्ष ज्यू
पूर्व मुख्यमन्त्री ज्यूहरु
सुदूर पश्चिम प्रदेश सरकारका मन्त्रीज्यू,
प्रदेश सभा सदस्य ज्यूहरु
बिशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ज्यू
सर्वप्रथम सम्माननीय प्रधानमन्त्री ज्यूलाई सुदूर पश्चिम प्रदेश सरकारका तर्फबाट स्वागत गर्दछु । र, सुदूर पश्चिम प्रदेश महोत्सवको पूर्ण सफलताको कामना गर्दछु ।
सुदूर पश्चिमको कृषि, उद्योग, व्यापार, कृषि र पर्यटन लगायतका अथाह संभावनालाई उजागर गर्दै यस प्रदेशको विकास र समृद्धिका लागि राज्यलाई दवाव दिने उद्देश्यले शुरु गरिएको सुदूर पश्चिम महोत्सवको यो १७ औं संस्करणमा सुदूर पश्चिम प्रदेश सरकारका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्ने अवसर प्रदान गरेकोमा आयोजक कैलाली उद्योग वाणिज्य संघलाई धन्यवाद दिन चाहन्छु ।
यो संभावनाको समारोह हो । उत्साह र सपनाको समारोह हो । त्यसर्थ म यहाँ संभावनाको कुरा गर्न चाहन्छु । सपनाको कुरा गर्न चाहन्छु । र विकास र समृद्धिका लागि आफूलाई लागेका केही कुरा राख्ने अनुमती चाहन्छु ।
सुदूर पश्चिम अथाह संभावनाको भण्डार हो । कृषि, उद्योग,जडिबुटी, जलस्रोत, धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर संभावना बोकेको क्षेत्र हो । हामीले यसका संभावनाका बारेमा धेरै चर्चा गर्यौ । अव यी संभावनालाई साकार पार्नुछ । त्यसका लागि सम्माननीय प्रधानमन्त्री ज्यूसंग यसको क्षेत्रको समग्र विकास र समृद्धिका लागि बिशेष प्याकेजका लागि हार्दिक अनुरोध गर्दछु ।
यस क्षेत्रमा लगानी गर्न ईच्छुक, व्यक्ति र व्यवसायीलाई सहुलियित दरमा ऋण उपलब्ध गराउन र अनुरोध गर्दछु ।
सुदूर पश्चिम जलस्रोतको अथाह संभावना बोकेको प्रदेश हो । जसबाट देशकै आर्थिक कायापलट हुनेमा कुनै दुबिधा छैन । पञ्चेश्वर, पश्चिम सेती, अपर कर्णाली जस्ता महत्वपूर्ण जलविद्युत आयोजनाको निर्माणमा जोड दिन आग्रह गर्दछु ।
कोभिड - १९ ले थला परेको अर्थतन्त्र उकालो लाग्ने आसमा रहेका व्यवसायी र आम जनता पछिल्लो समयमा बैंकको चर्को व्याज र आर्थिक मन्दीको मारमा परेका छन् । जसबाट सुदूरपश्चिम पनि अछुतो छैन । प्रदेश सरकारका तर्फबाट सम्माननीय प्रधानमन्त्री ज्यूसंग आम नागरिक र व्यवसायीका समस्या समाधानका लागि अनुरोध गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्यू सुदूर पश्चिमका हरेक समस्यासंग जति जानकार हुनुहुन्छ । त्यति नै यस प्रदेशका संभावनाका बारेमा जानकार हुनुहुन्छ । दार्चुलाको बिकट तिंकर होस वा बाजुराको अति बिकट बिच्छ्या, रुगिन र साप्पटाका जनताका दैनिक समस्यासंग पनि सम्माननीय प्रधानमन्त्री अवगत हुनुहुन्छ ।
सुदूर पश्चिम क्रिकेटको उर्वरा भूमि हो । जसले राष्ट्रिय स्तरमा दर्जनौ खेलाडीहरु जन्माएको छ । क्रिकेटको विकास र क्रिकेट मार्फत खेल पर्यटन प्रबद्र्धनका लागि फाप्लालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउन सरकारसंग जोडदार माग गर्दछु ।
विकास र समृद्धिका लागि औद्योगिकरण, औद्योगिकरणका लागि लगानी मैत्री वातावरण र लगानीको सुरक्षा त्यति नै महत्वपूर्ण हुन्छ ।
भारतीय नाकासंग जोडिएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा रहेको प्लान्ट क्वारेण्टीन साउन २८ गतेदेखि बन्द हुदा यस क्षेत्रका उद्योगी व्यवसायी मारमा परेको स्मरण गराउदै यथाशिघ्र प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि पहल गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री ज्यू संग आग्रह गर्दछु ।
रोजगारीको अवसर सृजना अहिले सुदूर पश्चिम प्रदेशका लागि अति आवश्यक छ । त्यसका लागि कञ्चनपुरको दैजीमा शिलन्यास गरिएको औद्योगिक क्षेत्र र दोधरा र चाँदनीमा निर्माण गर्ने भनिएको सुख्खा बन्दरगाहको निर्माण यथाशिघ्र गर्न सम्माननीय प्रधानमन्त्री ज्यूसंग आग्रह गर्दछु । जसको स्थापनाले यो प्रदेशमा रोजगारीका अवसरहरु मात्र सृजना हुने छैन, आर्थिक रुपमा कायापलट समेत हुने हाम्रो विश्वास छ ।
धार्मिक र प्राकृतिक रुपमा अति महत्वपूर्ण सुदूर पश्चिम जैविक बिबिधता, भौगिलिक बिबिधता, जातीय बिबिधता र सांस्कृतिक हिसावले पनि अति महत्वपूर्ण प्रदेश हो । यसको बैभव र गौरवपूर्ण ईतिहास छ । सम्माननीय प्रधानमन्त्री यसको ईतिहास र महत्वका बारेमा जानकार हुनुहुन्छ ।
दार्चुलाको तिंकर र बझाङको उरै नाकालाई चीनको ताक्लाकोटसंग सडक सञ्जालमा जोड्न सके सुदूर पश्चिमको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ । त्यसका लागि दुबै जिल्लामा निर्माणाधीन ताक्लाकोट जोड्ने सडकका लागि पर्याप्त बजेट बिनियोजनका लागि सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।
गेटा मेडिकल कलेजलाई यथाशिघ्र सञ्चालनमा ल्याउन र सुदूर पश्चिम विश्व विद्यालयलाई पूर्णता दिई विश्वसनीय बनाउन यसै मञ्च मार्फत सम्माननीय प्रधानमन्त्रीसंग आग्रह गर्दछु ।
त्यस्तै धनगढी बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा स्तरोन्नतीका लागि आवश्यक बजेट बिनियोजन गरी जग्गा अधिग्रहण र निर्माण अविलम्ब थालनी गर्न आग्रह गर्दछु ।
सुदूर पश्चिम प्रदेश सरकारले फागुन २३ र २४ गते सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेको सम्माननीय प्रधानमन्त्रीलाई अवगत गराउदछौ । साथै लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन संघीय सरकारबाट पूर्ण सहयोग, साथ, सुझाव र आवश्यक निर्देशनको अपेक्षा गर्दछौ ।
संघीय सरकारका नीतिलाई अक्षरशः पालना गर्नु प्रदेश सरकारको दायित्व हो । सुदूर पश्चिम प्रदेश सरकार सदैव आफ्नो त्यो दायित्वमा अडिग छ । रहनेछ ।
र, यसै मञ्च मार्फत म सुदूर पश्चिम प्रदेश सरकारका तर्फबाट देश विदेशमा रहेको सुदूरपश्चिमेली तथा सम्पूर्ण नेपाली, व्यवसायी, बुद्धिजीवि र लगानीकर्ताहरुलाई आफ्नो अनुभव, बिज्ञता, पूँजी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदूर पश्चिम बृहत्तर हीत र विकासमा प्रयोग गर्न अनुरोध गर्दछु । र, लगानी तथा विकास सम्मेलन सफल बनाउन अनुरोध गर्दछु ।
अन्त्यमा, सम्माननीय प्रधानमन्त्री ज्यूको सुदूर पश्चिम भ्रमण फलदायी, सुखद र शुभ रहोस भन्ने कामना सहित आयोजक प्रति कृतज्ञता व्यक्त गर्दै विदा हुन्छु ।
धन्यवाद ।
तपाईको प्रतिक्रिया