Close This

भादा महोत्सव सुरु, भौतिक मन्त्री देउवाले गरे उद्घाटन

मंगलबार पौष १७, २०८०/ Tuesday 01-02-24
Paschim Today

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादामा मङ्गलवारदेखि भादा महोत्सव २०८० सुरु भएको छ ।

एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै मन्त्री देउवाले थारु जातीको परम्परा संस्कृति खानपान, भेसभुसा, सिप कला, प्रकृति सम्पदाको संरक्षण गर्न महोत्सवले भूमिका खेल्ने बताए ।  स्वरोजगारमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने उनले बताए ।

उनले थारु होमस्टे भादा आन्तरिक र बाह्य पर्यटकलाई ल्याउन जोड दिनु पर्ने बताए ।मन्त्री देउवाले उनीहरूलाई भादामा बसाउने गरी व्यवस्था गर्न सके यस क्षेत्रको विकास, रोजगारी र आय आर्जनमा निकै महत्त्वपूर्ण फाइदा पुग्ने बताए । 

त्यसको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न समेत मन्त्री देउवाले आश्वासन दिए ।

कार्यक्रममा  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले  महोत्सवले थारु समुदायको मौलिक सांस्कृतिक पक्षलाई उजार गर्न ठुलो भूमिका खेल्ने बताए । उनले प्रसिद्ध मन्दिर बेहडाबाबामा दर्शन गर्न आउने र तालमा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै भादाको विकासका लागि हातेमालो गरेर अघि बढ्ने समेत बताए । 

लक्ष्मीनारायण चौधरी अध्यक्षतामा भएको कार्यक्रममा भौतिक मन्त्री देउवा, कृषि मन्त्री चौधरी सहित , उप सभामुख कोइलीदेवी चौधरी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना लगायतले महोत्सवले थारु  संस्कृति र सम्पदाको संरक्षण गर्न भूमिका खेल्ने बताएका थिए । 

२०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको थारु होमस्टे गाउँ भादा महोत्सवको यो ११ औ संस्करणको हो ।